बाँकेमा ७० जनाले मात्रै नियमित मेथाडोन प्रयोग गर्दै, के हो मेथाडोन ?

नेपालगन्ज : २ हजार बढी लागु औषध प्रयोगकर्ता रहेको बाँकेमा ७० जना प्रयोगकर्ताहरुले मात्रै नियमित रुपमा मेथाडोन प्रयोग गर्ने गरेको एक आकडाले देखाएको छ । जसमध्ये ६४ जना पुरुष र ६ जना महिला रहेका छन् ।

चेन्ज टिम बाँकेले शुक्रवार नेपालगन्जमा ओएसटी म्यानेजमेन्ट बैठकमा सो कुराको खुलासा गरेको हो ।

मेथाडोन के हो ?
हिरोइन तथा अफिम जन्य लागुपदार्थ सेवनकर्तालाई उपचारको लागी प्रयोग गरिने औषधि  हो मेथाडोन । हिरोइन तथा अफिम जन्य लागुपदार्थ प्रयोगकर्ताहरुलाई त्यसको लतबाट छुटाउन हरेक दिन एक निश्चित डोज दिएर बिस्तारै त्यसको लतबाट छुटाउने उपचार पद्धतिमा  मेथाडोनको प्रयोग गरिन्छ । नेपालगन्जको भेरी अस्पतालमा सो उपचारको लागि प्रयोग हुने मेथाडोन दिने गरिन्छ ।

मेथाडोनको प्रयोग गर्दै आफ्नो उपचारमा संगलग्न रहेका पुर्व लागु औषध प्रयोगकर्ताहरुले कार्यक्रममा बोल्दै मेथाडोनले आफ्नो जिबनमा धेरै राम्रो सुधार गरेको समेत बताएका थिए । प्रत्यक दिन भेरी अस्पतालमा पुगेर नै मेथाडोन लिने गरेको बताउने एक लागू औषध प्रयोगकर्ताले हाल आफुले दैनिक जिबनयापन सहजरूपमा गर्दै आएको र काम तथा ब्यवसाय समेत सहज रुपमा गर्दै आएको बताएका छन् ।

चुनौती
मेथाडोन हिरोइन तथा अफिम जन्य लागुपदार्थ सेवनकर्तालाई उपचारको लागी प्रयोग गरिने औषधि भए पनि यस प्रतिको बुझाईमा केही फरक आएको कारणले कतिपयले मेथाडोन प्रयोग छोड्ने र समाजमा नकारात्मक टिप्पणी हुने गरेकोले लागु औषध प्रयोगकर्ताहरु मेथाडोन सम्म पुग्न नसकेको कार्यक्रममा बताइएको थियो ।
मेथाडोन हिरोइन तथा अफिम जन्य लागुपदार्थ सेवनकर्तालाई त्यसको लतबाट छुटाएर सामाजिकरण र उपचारको लागि महत्त्वपूर्ण रहेको बिज्ञहरुले बताएका छन भने कतिपयलाई मेथाडोन स्विटेबल नभएको अध्ययनले देखाएको छ ।

अन्य चुनौतीहरुमा मेथाडोनको प्रयोग गर्न हरेक दिन अस्पताल नै पुग्नु पर्ने जस्ता कारणले कतिपय अवस्थामा ट्राभल गर्दा वा अन्य आकस्मिक कार्य पर्दा मेथाडोन प्रयोगमा समस्या आउने हुँदा कतिपयले मेथाडोनको प्रयोग बिचमै छोड्ने गरेको अनुभवले देखाएको कार्यक्रममा बताइएको थियो ।

कार्यक्रममा सहायक बाँकेका सहाय प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्याय, नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य शाखाका प्रमुख राम बहादुर चन्द, चेन्ज टिमका अध्यक्ष तथा रिकभरीङ नेपाल लुम्बिनी प्रदेशका फोकल पर्सन प्रबिण बिसि, स्वास्थ्य कार्यालय बाँकेका प्रतिनिधि मान बहादुर नेपाली, भेरी अस्पताल नेपालगन्जका डाक्टर सुमन अर्याल, लागू औषध ब्युरो बाँकेका प्रहरी निरीक्षक प्रकाश कुमार केसी, मेथाडिन प्रयोगकर्ता तथा अबिभावक  लगायतका ब्यक्तिहरुको उपस्थित रहेको कार्यक्रमको सहजीकरण चेन्ज टिमका कार्यक्रम संयोजक इन्द्रा कुमारी जिसिले गर्नुभएको थियो ।

बाँकेमा चेन्ज टिमको सकृयता र सहकार्यमा ३ सय ९९ जनाले मेथाडोन प्रयोग गर्न थालेको भए पनि हाल नियमित रुपमा मेथाडोनको प्रयोग गर्नेहरुको संख्या ७० जना मात्रै रहेको कार्यक्रममा बताइएको छ । मेथाडोन प्रयोग गर्ने ८ जना पुर्ण रुपमा निको भएको बताइएको छ । त्यस्तै अन्य केही एचआईभीको कारणले मृत्यु भएको, केही रोजगारीको शिलशिलामा तेस्रो मुलुकमा रहेको र केही भारतमा समेत रोजगारीको लागि गएको बताइएको छ । बाँकेमा करिब २ हजार बढी लागू औषध प्रयोगकर्ता रहेको कार्यक्रममा बताइएको छ ।

चेन्ज टिमले १४ बर्ष देखि लागू औषध र त्यस संग सम्बन्धित जनचेतनाको कार्यक्रम सन्चालन गर्दै आएको छ भने स्वास्थ्यसेवाको परामर्श दिने र अन्य संस्था संगको समन्वयमा लागू औसध प्रयोगकर्ताको लागि उपचारको लागि कार्य गर्ने र उनिहरुले उपचार पाउनुपर्छ भन्दै वकालतको काम गर्दै आएको छ । चेन्ज टिमले पुनःस्थापना केन्द्र समेत संचालन गरेको छ । (मेथाडोनको बारेमा बिस्तृत जानकारी सहितको भिडियो नागरिक समाजमा छिट्टै आउने छ )

 

प्रतिक्रिया