उफ् नेपाल बन्द !

सृजना पोख्रेल : मैले मेरो पहिलो कक्षा सुरू गरेकै वर्ष, मेरै ठाउँमा माओवादीले सेनामाथि पहिलो आक्रमण गर्‍यो। सेनामाथि माओवादी आक्रमणको पहिलो कक्षा। माओवादी र म एउटै ब्याचका हौं। 

मैले ‘एप्पल’, ‘बल’, ‘क्याट’ पढिरहँदा माओवादीहरू एम्बुस, बम, सर्किट पढिरहेथे सायद। 

एक कक्षामा पुग्दासम्म त बमको आवाज तिहारमा पटका पड्केजसरी सुन्न थालियो। तर ज्यान लग्ने आवाज जति सुने पनि कानलाई बानी नलाग्ने रहेछ। 

यता म पेन्सिल तिखारेर गृहकार्य गर्न तयार हुन्थेँ, उता ड्याम्म बमको आवाज आउँथ्यो। आमा झट्टपट्ट खाटमुनि गलैंचा बिछ्याएर हामीलाई भित्र लुकाउनु हुन्थ्यो।

आमालाई बमले मरिन्छ भनेर डर थियो। म चाहिँ ‘अब होमवर्क भ्याउँदिनँ, म्यामले मार्नु हुन्छ’ भनेर डराउँथे।

म्यामको डरलाई सधैं बमको डरले जित्यो। म चुपचाप कुक्रुक्क पर्दै खाटमुनि लुकिरहेँ। 

पढाइ जहाँ सुकै जाओस्, पहिला ज्यान बचाउनु पर्‍यो। राजनीति पहिलोपटक मेरो र पढाइको बीचमा आयो। बम बनेर। 

कक्षा दुईमा पढ्दा एकदिन डर मिश्रित हल्ला आयो।

दादाले सुनाउनुभयो, ‘स्कुलमा खै कसको हमला भयो रे। अब आज टाइ-बेल्ट लाउन पाइँदैन। सर्ट प्यान्ट मात्रै लगाएर बोर्डिङको विद्यार्थी भन्ने थाहा नदिइ जाने।’ 

चार दिनअघि, खाटमुनि लुकेको टाइ नभेटेर बिना टाइ स्कुल जाँदा, पाले दाइले खाउँला जसरी हेरेका थिए। अहिले फेरि त्यही टाइ लाउन नहुने नियम रे। म ट्वाँ परेँ। 

स्कुल गइयो। तर मेरो दिमाग दिनभर त्यो बाँध्न नपाएको टाइ-बेल्टले मात्रै बाँधिरह्यो। पढाइ त के भयो के, अत्तो पत्तो छैन। 

राजनीति दोस्रोपटक मेरो र पढाइका बीचमा आयो। यसपालि हल्ला बनेर। 

तीन कक्षा पुगेँ। माघमा स्वस्थानी कथा सुन्न पाइने। जहिल्यै अन्तिममा ‘उपनयतु मंगलम्…’ सकिएर, ‘जय!’ भन्दै किताब ढोगेपछि म एकछिन आशिष माग्दै निदाउँथेँ। अनि दिमागमा प्राथमिकता अनुसार वरदान आउँथे। 

पहिलो-  हे भगवान, मेरो देशमा शान्ति आओस्।

अनि बल्ल- हे भगवान, मलाई क्लास फर्स्ट बनाइदेऊ। 

थाहै नपाइ म र पढाइ बीच राजनीति फेरि आएछ। ‘शान्तिको रहर’ बनेर। तेस्रोपल्ट। 

चार कक्षाको अन्तिम जाँच ठ्याक्क सकियो। अब काम भनेकै टिभी हेर्ने। टिभीमा देखाउँथ्यो- मान्छेहरू बाटोबाटोमा ढुंगा हान्दै छन्। हुलका हुल नारा लगाइरहेका छन्, ‘ज्ञाने चोर, देश छोड’। कोही रगताम्मे छन्। कतै भागमभाग छ। 

साँझ चुंगी खेल्न निक्लिँदा बुवाहरूको गफ सुनेर थाहा भयो- ‘अब आन्दोलन सकिएपछि राजा हट्छन्। राजा नहटे पनि कम्तिमा अब यो बम पड्किने, मान्छे मर्ने सकिन्छ। शान्ति आउँछ।’ 

स्वस्थानीको किताबले मेरो कुरा फ्याट्टै सुनेछ भनेर म मख्ख परेँ। 

वैशाखमा स्कुल खुल्ने बेला भयो। तर आन्दोलनले बिसाउन ढिला गर्‍यो। अनि स्कुलले पनि खुल्ने हिम्मत गरेन। पाँचमा पुगेपछि पेन्सिलले लेख्नु पर्दैन, अब मसीवाला कलमले लेखौंला भनेर कति हतार थियो। झन् त्यही पाँचमा पढ्दा, पढ्न पाउने दिन ढिला आए, थोरै भए। 

राजनीति चौथोपल्ट आयो म र मेरो पढाइ बीच। आन्दोलन बनेर। 

आन्दोलन सफल भयो। शान्ति आयो। शान्ति आउन त आयो, तर पुङ न पुच्छरको। मलाई लागेको थियो, अब शान्ति आएपछि म र पढाइ मिलेर एउटा अमरकथा लेख्न सक्छौं। अब राजनीति रूप फेर्दै-फेर्दै हाम्रो बीचमा खुसुक्क पस्न छोड्छ। 

तर ठ्याक्कै उल्टो भयो। यसपालि त झन् राजनीति गमक्क फुल्दै, ‘नेपाल बन्द’ लेखेको सोफा ल्याएर हाम्रो बीचैमा थपक्क बस्यो। 

यो ‘नेपाल बन्द सोफा’, झन् पछि झन् आरामदायी हुँदै गयो। जसलाई जोसँग रिस उठे पनि ‘अनिश्चितकालीन नेपाल बन्द’। 

पेट्रोलको भाउ बढ्यो- नेपाल बन्द, स्कुल बन्द। 

गाडीले कुखुरा मार्‍यो – नेपाल बन्द, स्कुल बन्द। 

आफूलाई धेरै अधिकार चाहियो- नेपाल बन्द, स्कुल बन्द। 

अरूको अधिकार धेरै भयो- नेपाल बन्द, स्कुल बन्द। 

त्यति धेरै नेपाल बन्दले होला, अब राजनीतिको सोफा म र पढाइ बीचको जमिनमा गाडिन नै थाल्यो। अब मैले राजनीति बीचमा आएको ‘पटक’ नै गन्न छाडिदिएँ। 

२०५२ सालमा सुरू भएको जनयुद्ध यदि मान्छे हुन्थ्यो भने अहिले मेरै दौंतरी हुन्थ्यो होला। हामी सँगसँगै जन्मिएका हौं। एक-दुई वर्षको अन्तरले के नै फरक पार्छ र! 

खैर, मान्छे नभए पनि मलाई जनयुद्धले माया भने दौंतरी जसरी नै गर्‍यो। त्यत्रो दस वर्षसम्म ज्युँदै राख्यो, कतैबाट मारेन। ज्यानमा कतै चोटसम्म लगाएन। देखिने केही दुःख दिएन।

तर दौंतरीको जात न हो। सँगै हुर्किनेले आफूलाई उछिन्दा, प्रगति गर्दा डाह गर्ने अनि खुट्टा तान्ने त दौंतरी विशेषता नै पर्‍यो। जनयुद्ध झनै राजनीति खलकको। पहिले आफू नै अनेक रूप लिँदै मेरो पढाइ बिथोल्न आयो। पछि चाहिँ आफ्नो अर्को साथी ‘उपलब्धि’ लाई काममा लगायो। 

नेपाल बन्द त्यही ‘उपलब्धि’ थियो। मैले बाह्र पास नगरून्जेल जनयुद्धको यो उपलब्धिले मेरो र पढाइ बीच फाटो पार्न भरमग्दुर प्रयास गरेको हो। मेरा कति साथीको त फाटो पर्‍यो पनि। साथीहरूले नेपाल बन्दको नेपाल छाडे अनि पढाइ चाहिँ बन्द गरिदिए। बाँकीले जसोतसो पढाइको हात समाती रह्यौं। 

धैर्यको फल पाइयो। जनयुद्धले टाढा पुगेपछि मेरो माया मान्न थालेछ। नयाँ उपलब्धि पठायो। उपलब्धिको नाम- नेपालको संविधान। 

जनयुद्धले आफ्ना पुर्खाको पसिना, आशिष मिसाएर मेरो भलो चिताउँदै जन्माएको रहेछ यो उपलब्धि। एकाएक नेपाल बन्दको सोफामा धमिरा देखिन थाले। जनयुद्ध जस्तो दौंतरीसँग हुर्किएपछि मैले पढाइ र म यति नजिक हुने दिन आउला भनेर सोचेकै थिइनँ। तर उसले संविधान पठाएर मेरा सारा भ्रम तोड्यो।

विज्ञान पढिरहेकी केटीलाई आफ्नो खलक कानुन विषयतिर यही संविधान नाम गरेको उपलब्धिले तानेको हो सायद। संविधानले पाँच वर्ष आफ्नो सात पुस्ता पढ्न लगायो। मेरो र पढाइको दुरी घटाइदिएर गुन लगाएको थियो। मैले पनि गुन तिर्नै भए पनि खुब पढेँ। हात्तीजस्तो पाँच वर्षे पढाइको जिउ ससम्मान भित्र छिराएँ। 

एउटा अन्तिम पुच्छर जाँच मात्रै बाँकी थियो। अकस्मात् केही दिनअघि संविधान रुँदै आयो। खड्गप्रसाद ओली नाम गरेका एक जना बुढा मान्छे थिए। उनले संविधानसँग आफ्निएको जस्तो गरे।

‘अब हामी स्थायी हुन्छौं, तिमीलाई हामी पाल्छौं, हामी नै हुर्काउँछौं ल’ भन्दै संविधानै बोकेर कार्यकारी नै भए। अहिले उनै बुढा मान्छेले संविधानको हात खुट्टा काट्न पो थालेछन्।

म छाँगाबाट खसेजस्तै भएँ। सबैलाई बचाउने संविधानले पनि धोका पायो होला भनेर पत्याउनै सकिनँ। एकछिन पछि सम्हालिएर भनेँ, ‘अनि तिम्रै पुर्खा कानुन पढेर तिमीलाई बचाउने बाचा गरेका मान्छे छन् त ठाउँमा, उनले बचाइहाल्छन् नि!’ 

तर संविधान उनीहरूलाई पनि आँखा चिम्लेर भर गर्न सक्दैन रे। 

संविधानले मलाई भन्यो, ‘अब तिमी नै साथीहरू लिएर सडकमै जानुपर्छ होला। यसरी त यिनीहरूले मलाई मार्छन्।’

संविधान मेरो दुश्मन/दौंतरी जनयुद्धले पठाएको सबभन्दा प्रिय साथी हो। उसलाई त मैले जसरी पनि बचाउनु पर्ने। तर मैले हुन्छ, हुन्न, केही भन्न सकिनँ। मलाई जानू कि नजानू भयो।

एक मन सोच्छु- मेरो जाँचले त ‘संविधान मर्दै थियो’ भन्ने वाला छैन। अनि यो अड्केको पुच्छरलाई पनि हात्तीसँगै लैजान मैले अहिले पढ्नुपर्छ। यो समयमा सडकमा गएँ भने त पाँच वर्षको पढाइ, मिहिनेत सडकमै बगाए जस्तो हुन्छ।

अर्को मन सोच्छु- संविधान साँच्चै अप्ठ्यारो परेर त मेरो मद्दत माग्न आएको हो। अहिले संविधानलाई मर्न दिएँ भने मेरो पढाइले पनि मेरो हात छोड्छ होला। उसले हात पकडे पनि संविधानै मर्‍यो भने त म र पढाइ आफूले रोजेको बाटो नै हिँड्न पाउने छैनौं।

मेरो मन बाँडियो। मन बाँडिएको देखेर होला, वरपर सबथोक बाँडिए।

सडक आएर एउटा कानमा भन्छ, ‘तिमी सडकमा आउनु भनेको यसो हेर्दा संविधान बचाउन आएजस्तो देखिन्छ। तर त्यसो होइन। त्यो त अर्को सनकीलाई फेरि संविधान मिच्नका लागि बलियो बनाउनु मात्रै हो।’

फेरि सडक नै अर्को कानमा सुनाउँछ, ‘सरकारमा सनकीहरू भइरहनेछन्। सनकीसँगको वितृष्णाले प्याक्प्याक्ति परिरहेका बेला संविधानलाई एक थोपा पानी दिन तिमी गएनौ भने, तिमीलाई भोलि त्यही संविधानका मौलिक हकको पाप लाग्नेछ।’

म बसेको कोठा पनि बाँडियो।

कोठाको सर्टिफिकेटमा भएको फोटो भन्छ- ‘राजनीति गर। कम्तिमा त्यति राजनीति गर जति गरेपछि राजनीतिले तिमीमाथि राजनीति नगरोस्।’

उति नै बेला फेरि कोठाको ग्यास सिलिन्डर भन्छ- ‘राजनीति साजनीति मरिरहोस्। ‘सडक’ मा गएर राजनीतिको तयारी होइन, बरू लोकसेवाका लागि पढ। स्थायी पैसा आउने ‘बाटो’ को तयारी गर।’

मैले आजका गगन थापा हुन सफल युवाले हिजो आन्दोलनमा ढुंगा हान्दै गरेको फोटो पनि देखेकी छु। अनि क्रान्तिमा हिजो बन्दुकै चलाउँदा अपांग भएर थलिएकाको फोटो पनि देखेकी छु, जसलाई अहिले राज्यले चिन्दैन।

भोलि म गगन थापा हुन पनि सक्छु। तर सत्ताविरूद्ध सडकमा लड्दा सडकको ढुंगा मात्रै पनि हुन सक्छु जसलाई भोलि अर्को गगन थापाले टिपेर सत्ताविरूद्ध हुइँक्याउँछ।

उफ् ! आकाश समेत बाँडिएछ। 

उभिएको माटोमाथिको आकाश मलाई भन्छ- ‘जस्तो भए नि आफ्नो देश हो। देश बिग्रेको छ भन्दैमा देश छोडी अर्काको देश भाग्ने होइन। आमालाई बिसन्चो हुँदा आमालाई घरमा छाडेर कोही भाग्छ?’ 

फेरि एकैछिनमा अलि पर त्रिभुवन विमानस्थलमाथिको आकाश पनि मैलाई भन्छ- ‘देशको माटो आमा समान हो भन्ने कुरा तिमीलाई माटोमा बाँधेर जोत्नका लागि शासकले बनाएको पासो हो। माटो अर्कै हो, आमा अर्कै हो। आमालाई बिसन्चो हुँदा जसले बिसन्चो पारिरहेको छ, उसैसँग राखिरह्यो भने सारा जिन्दगी उपचार गर्नमै सकिन्छ। बरू आमालाई नै लिएर आफू त्यहाँ बस्ने जहाँ आमा कम बिरामी पर्छिन्। आमा पनि स्वस्थ, आफू पनि सुखी।’

बाँडिएको माटोमा उभिएर बाँडिएको आकाशतिर हेर्दै छु। म यो देशको माटो र आकाशभन्दा बढी बाँडिएँ। न यता न उतामा अड्किएँ। घाँटीमा हावासँग खाना अड्किएजस्तो। आफ्नै खाना आफ्नै हावा हुँदाहुँदै पनि यसपालि अड्किएरै मरिन्छ जस्तो छ! सेतो पाटिबाट साभार

प्रतिक्रिया