भक्तपुरमा दुईवटा मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु

भक्तपुरको मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरमा शनिबार साँझ मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भक्तपुरबाट काठमाडौंतर्फ जाँदै गरेको प्र ३–०२–०४ ७३२४ नम्बरको मोटरसाइकल र सोही दिशामा जाँदै गरेको बा ५३ प ९८६४ नम्बरको मोटरसाइकल एकापसमा ठोकिएर भएको दुर्घटनामा उदयपुर लिमचुङबुङ गाउँपालिका–१ घर भई हाल मध्यपुरथिमि –१ लोकन्थली बस्ने २२ वर्षीय मनराज राईको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी मोटरसाइकलमा सवार सोही ठाउँकी २४ वर्षीया मनिकला राईको केएमसी अस्पताल सिनामङ्गलमा उपचार भइरहेको परिसरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए । 

अर्का घाइते बा ५३ प ९८६४ नम्बरका मोटरसाइकल चालक रौतहट गौर नगरपालिका– ८ घर भई हाल ललितपुर मङ्गलबजार बस्ने ४१ वर्षीय युवराज विक सामान्य उपचारपछि आज घर फर्किएको प्रहरीको भनाइ छ । दुर्घटना भएका सवारी साधनसहित महानगरीय प्रहरी वृत्त थिमिले नियन्त्रणमा राखेर थप अनुसन्धान गरिरहेको गिरीले जानकारी दिए ।

प्रतिक्रिया