खोप प्राप्त भएको ७ दिनभित्र खोप अभियान संचालन हुन्छ : मन्त्री त्रिपाठी

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोरोना खोपको नीतिगत र कानूनी अप्ठ्यारा समाधान भैसकेको र खोप प्राप्त भएको ७ दिनभित्रमा खोप अभियान संचालन गर्न सकिने गरी तयारी गरिएको बताएका छन् । सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री त्रिपाठीले जतिसक्दो चाँडो कोरोना खोप ल्याउने प्रयास गरिरहेको बताए ।

उनले खरिद प्रक्रिया पारदर्शी र वितरण न्यायपूर्ण हुने प्रतिवद्धता समेत व्यक्त गरेका छन् । मन्त्री त्रिपाठीले रुस, भारत र संयुक्त अरब इमिरेट्सका राजदूतसँग कुकाकानी गरेको र खोप निःशुल्क रुपमा नै प्रदान गर्ने पनि प्रतिबद्धता व्यक्त गरे । पहिलो प्राथमिकतामा जनसंख्याको तीन प्रतिशत अग्रपंक्तिमा काम गर्ने स्वास्थ्य सुरक्षाकर्मी, दोस्रो चरणमा १७ प्रतिशत ज्येष्ठ नागरिक र त्यसपछि कोभ्याक्समार्फत प्राप्त हुने २० प्रतिशत खोपका लागि प्राथमिकताका लागि तथ्यांक संकलन पनि भैरहेको उनले बताए ।

 मन्त्री त्रिपाठीले खोप वितरणका लागि १६ हजार खोप केन्द्रलाई परिचालित गरि ५ हजार कर्मचारी र ५२ हजार महिला स्वास्थ्य स्वयंसेविकालाई परिचालन गरिने र तत्कालका लागि भण्डारणको पनि व्यवस्था रहेको र सातै प्रदेशमा भण्डारण स्थल निर्माणको तयारी रहेको जानकारी दिए ।

उनले दक्षिण एशियामै महत्वाकांक्षी योजना रहेको हरेक पालिकामा अस्पताल निर्माण हुने पनि बताएका छन् । उनले ५ देखि १५ शैयाका अस्पताल निर्माण गर्ने कार्य जतिसक्दो चाँडो प्रत्येक पालिकामा सुरु गरिने बताए ।

प्रतिक्रिया