अक्सफोर्ड र अस्ट्राजेनेकाले खोप कोरोना प्रसारण रोक्न सफल

अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेनेकाले विकास गरेको कोरोना खोप भाइरस संक्रमण रोक्न मात्र नभई भाइरसको प्रसारण रोक्न पनि प्रभावकारी देखिएको बेलायतमा गरिएको एक अध्ययनले देखाएको छ । अक्सफोर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताले गरेको अध्ययनअनुसार खोपको दुवै डोज लिइसकेका व्यक्तिमा पिसिआर परीक्षण गर्दा पोजेटिभिटी दर आधाले घटेको देखिएको छ ।  

मेडिकल जर्नल ल्यानसेटमा मंगलबार प्रकाशित प्रतिवेदनअनुसार खोपका दुई डोजको समय अन्तराल बढाउँदा फाइदाजनक हुने र एक डोजसमेत प्रभावकारी रहेको देखिएको छ । त्यसो त अध्ययनमा संक्रमितको सम्पर्कमा आएकाको ट्रेसिङ गरेर भाइरस प्रसारणको प्रत्यक्ष मापन गरिएको थिएन तर अनुसन्धानकर्ताले नियमित रूपमा सहभागीको नाकबाट स्वाब संकलन गरेका थिए । यसो गर्दा खोपको दुवै डोज लिएकाको पिसिआर परीक्षण गर्दा पोजेटिभिटी दर आधाले घटेको देखिएको हो ।

‘समीक्षामा भाइरस प्रसारणसम्बन्धी अध्ययन समावेश गरिएको थिएन तर खोपको प्रभावकारिता हेर्न बेलायतमा गरिएको अध्ययनमा लक्षण देखिएका अथवा नदेखिएका दुवैथरी सहभागी स्वयंसेवकबाट हरेक साता स्वाब संकलन गरिएको थियो र भाइरस प्रसारणको सम्भावना आकलन गरिएको थियो,’ अनुसन्धानकर्ताले लेखेका छन् ।

‘खोपले संक्रमणलाई मध्यम खाले प्रभाव पारेको भए पिसिआर पोजेटिभिटीमा खास परिवर्तन देखिने थिएन, अनुसन्धानकर्ताले भनेका छन्, ‘समग्रमा पिसिआर पोजेटिभिटी मापन संक्रमणको भार घटे–नघटेको हेर्न उपयोगी देखिएको छ ।’ यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया