धादिङ्गमा महिलालाई जिउँदै खाल्डोमा पुरेर एक्स्काभेटर चालक फरार

धादिङ्ग उत्तरी भेगस्थित सल्यानटारमा सडकमा गुडिरहेको एक्स्काभेटरले घाँस बोकेर आएकी एउटी महिलालाई ठक्कर दिएपछि खाल्डोमा पर्ने बित्तिक्कै माटोले पुरिदिएको छ । घाइते महिलालाई उद्धारको सट्टा उल्टै वरिपरिबाट माटो बटुलेर पुरेपछि स्थानीय ४५ बर्षिया सरस्वती कुमालको ज्यान गएको हो ।

सडक निर्माण क्रममा मार्ग अवरुद्ध भएपछि एक्स्काभेटरको गतिबिधि हेरिरहेको यात्रुवाहक बसका यात्रुले महिलालाई जिउँदै पुरेको देखेका थिए । स्थानीय र बसका यात्रुले महिलालाई जिउँदै पुरेको भनेर हल्ला गरेपछि एक्स्काभेटर चालक तत्काल फरार भए । पछि स्थानीयले खोस्रेर महिलालाई निकाल्दा ज्यान गइसकेको थियो ।

प्रहरीका अनुसार खाल्डोमा पुरिएकी महिलाको टाउकोमा ठूलो घाउबाट बगेको रगतले शरिर पूरै लतपतिएको थियो । शवको पोष्टमार्टम हुन सकेको छैन भने स्थानीयले सडक मर्मतमा प्रयोग भएको एक्स्काभेटरमाथि आगजनी र तोडफोड गरिदिएका छन् । चालक बुढाथोकी दाङ्गका हुन् ।

प्रतिक्रिया