सुर्खेतमा ज्ञानेन्द्र शाहीको समूहमाथि आक्रमण

नेपालगन्ज : सुर्खेतमा ज्ञानेन्द्र शाहीको समूहमाथि आक्रमण भएको छ । जिल्लाको वीरेन्द्रनगर नगरपालिका–१३ करेखोला भन्ने स्थानमा गएराति ११ बजे आक्रमण भएको हो ।

आक्रमणमा संलग्न पाँच जनालाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले नियन्त्रणमा लिएको जनाएको छ । शाहीको समूह र स्थानीयबीच झडप भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख राजेन्द्र भट्टको भनाई छ ।

एसपी भट्टले भने, ‘यो आक्रमण भन्दा पनि दुई समूहबीच झडप भएको हो । प्रहरी टोली घटनास्थलमा पुगेर उद्धार गरेको छ ।’ उनले आक्रमणबाट घाइते भएकाहरुको अवस्था सामान्य रहेको उनले बताए ।

सामाजिक सन्जालमा पोष्ट भएको एक भिडियोमा शाही रुँदै घाइते एक युवकलाई अँगालो हालेको देखिन्छ । टाउकोको पछाडिको भागबाट रगत बगिरहेको देखिने ती युवकको प्राथमिक उपचार पनि गरेको भिडियोमा देखिन्छ ।

शाहीले सामाजिक सन्जालमा आफूसहित राजेश महत, कृष्ण पान्डे, तिलक बस्नेत, नितु खड्का, लोक बहादुर रोकाय, शान्त शर्मा, सीता आचार्य, महेश बीसी र खगेन्द्र बजगाईंमाथि आक्रमण भएको उल्लेख गरेका छन् ।

प्रतिक्रिया