आन्तरिक र अन्तर्राष्ट्रिय उडान सबै खुला गर्ने मन्त्रिपरिषद्‌को निर्णय

सरकारले देशभर हुने आन्तरिक र अन्तर्राष्ट्रिय उडान सबै खुला गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उडान खुला गर्ने निर्णय गरेको पर्यटनमन्त्री लीलानाथ श्रेष्ठले जानकारी दिए । बैठकले दोस्रोपटक लगाइएको निषेधाज्ञा अघिकै अवस्थामा सबै आन्तरिक र अन्तर्राष्ट्रिय उडान खुला गर्ने निर्णय गरेको उनले बताए ।

कोरोनाको दोस्रो लहरको कारण वैशाख २० गतेदेखि उडानहरु बन्द थिए । ६९ दिनपछि आन्तरिक उडान बिहीबारदेखि ५० प्रतिशत अकुपेन्सीमा संचालनमा आएका थिए । मन्त्रिपरिषद्ले नेपाल र भारतबाहेकको अन्तर्राष्ट्रिय उडान पनि वैशाख २३ देखि बन्द गर्ने निर्णय गरेको थियो ।

अब नेपाललाई रोक नलगाइएका मुलुकमा नियमित उडान सुचारु हुनेछन् । मन्त्रिपरिषद्‌को निर्णय प्राप्त हुनेबित्तिकै नागरिक उड्डयन प्राधिकरणलाई यसबारे जानकारी दिइने छ ।

अहिले अमेरिका, अष्ट्रेलिया, बेलायत, बेल्जियम, पोर्चुगल, युएई, साउदी अरब लगायतका मुलुकले नेपाललाई यात्रा प्रतिबन्ध लगाएका छन् । सरकारले उडान खुला गरेपनि यात्रा प्रतिबन्ध लगाइएका देशमा तत्काल उडान हुने सम्भावना छैन । जर्मनीले नेपाललाई लगाएको प्रतिबन्ध बुधबारदेखि खुला गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया