मुगुमा मंगलबार भएको बस दुर्घटनाको छानबिन गर्न समिति गठन

सुर्खेत । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले मुगुमा मंगलबार भएको बस दुर्घटनाको छानबिन गर्न समिति गठन गरेको छ । बस दुर्घटनाको सत्यतथ्य पत्ता लगाई १० दिनभित्र प्रतिवेदन पेस गर्न प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्वीर विश्वकर्माको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको हो । समितिमा प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक जीवन लामिछाने र प्रदेश ट्राफिक प्रहरी कार्यालयका हवल्दार हरि लामिछाने सदस्य रहनु भएको छ । समितिले घटनाको अनुसन्धान प्रतिवेदन तयार गरी प्रदेश प्रहरी प्रमुख एवं प्रहरी नायब महानिरीक्षक गणेशबहादुर ऐरसमक्ष पेस गर्नेछ । चालकको सिटमुनिको टायर पङ्चर भई दुर्घटना भएको प्रारम्भिक अनुमान गरिए पनि छानबिन समितिको स्थलगत अनुसन्धान प्रतिवेदनका आधारमा वास्तविक कारण पत्ता लाग्ने प्रहरी नायब महानिरीक्षक ऐरले बताउनु भयो । नेपालगन्जबाट मुगुको सदरमुकाम गमगढी जाँदै गरेको छायाँनाथ रारा यातायात प्रालिद्वारा सञ्चालित भे १ ख ३१६७ नम्बरको उक्त बस मंगलबार जुम्लामुगु सडक खण्डमा पर्ने पिनातपने खोलामा दुर्घटना हुँदा ३२ जनाको मृत्यु हुनुका साथै १३ जना घाइते भएका थिए ।

प्रतिक्रिया