बाँके काँग्रेसमा गुटको राजनीति मौलाएको सहसचिव बिनोद थारुको भनाई ।

नेपाली काँग्रेस बाँकेको जिल्ला सहसचिव बिनोद थारुले पार्टीले आफुलाई पूर्वाग्राही तरिकाले स्पष्टिकरण सोधेको प्रति घोर आपत्ती जनाएका छन् । आज नेपालगन्जमा पत्रकार सम्मेलन गरेर पार्टीका जिल्ला सभापति नरायाणप्रसाद गौडेलले आफुलाई पुर्वाग्राही तरिकाले स्पष्टिकरण सोधेको आरोप थारुले लगाएका छन् । काँग्रेसको संस्थापन इतर पक्षका पार्टी सभापति गौडेल हुन, भने सहसचिव थारु संस्थापन पक्षका हुन् । पार्टी सभापतीले आफुखुसी मनोमानी तरिकालेे जिल्ला कोषाध्यक्ष, जिल्ला सदस्य, कार्यसम्पादन समिति, अनुशासन समिति, जिल्ला संसदिय समिति, प्रेस सल्लाहकार मनोमानी नियुक्ती तथा गठन गर्दा आफुले विरोध जनाएकै कारण आफु गुटको सिकार भएको थारुको अरोप छ । यद्दपी सभापती गौडेलले गरेको पदाधिकारी नियुक्ती तथा समिति गठन अहिले छानबिनकै क्रममा रहेको छ । हचुवाको भरमा टुंगो नै नलागेको अनुशासन समितिको नाममा स्पष्टिकरण सोध्ने निणर्य नै वैधानिक नरहेको थारुको ठहर छ । आफु सहसचिवमा निर्वाचित भैसकेपछि अब पार्टीमा गुट उपगुटको राजनीति गर्नु हुदैन भनेर विरोध पार्टीको हरबैठकमा गर्दै आएको थारुले बताएका छन् ।


आसन्न बैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा सहसचिव थारुलाई पार्टीले क्षेत्र नम्बर ३ को प्रचारप्रसार समिति र अनुगमन समितिको संयोजकको जिम्मेवारी दिएको थियो । उक्त जिम्मेवारी बहान गर्दै आफुले रातदिन नभनी पनि निर्वाह गरी आप्mनो क्षेत्रबाट काँग्रेस जिताउन सफल भएको थारुले बताए । सहसचिव थारु भन्छन्, ‘क्षेत्र नम्बर ३ को तीनवटै पालिका जिताउँदा पनि के को स्पष्टिकरण । क्षेत्र नम्बर ३ मा बैजानाथ, खजुरा र जानकी गाउँपालिका पर्छन् । जसमध्ये बैजानाथ र जानकी दुबैमा प्रमुख उपप्रमुख काँग्रेसले जितेको छ, भने खजुरामा माओबादी केन्द्रसँग गठबन्धन गर्दा उपप्रमुख काँग्रेसले पाएको थियो । खजुराको उपप्रमुख पनि काँगेसले नै जितेको थियो । सहसचिव थारु माथि आप्mनो वडालाई हराएको अरोप लागेको छ । तर उनले वडा ठुलो कि गाउँपालिका ठुलो हो भनी प्रतिप्रश्न गरेका छन् ।
सहसचिव थारुको वडा बैजानाथ वडा नम्बर ७ पेडारी हो । बैजानाथ गाउँपालिका जित्दा वडा नम्बर ७ मा काँग्रेस हारेको छ । उसो त जिल्ला सभापति नरायण गौडेलको वडामा पनि काँग्रेस हारेको छ । गौडेलको वडा कोहलपुर नगरपालिका वडा नम्बर ३ हो । उक्त वडामा काँग्रेस ६ सय बढी मतान्तरले हारेको छ । जिल्ला सहसचिव थारु भन्छन्, ‘ स्पष्टिकरण सोध्ने हो भने सबैभन्दा पहिला पार्टी सभापती गौडेललाई स्पष्टिकरण सोध्नुपर्छ उनको वडामा काँग्रेस किन हार्यो भनेर ?’ ।

पत्रकार सम्मेलनमा स्पष्टिकरण सोधिएका जिल्लाका अधिकांश नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । उनीहरु सबैले जिल्ला सभापतीले चालेको कदमको विरोध गरेका छन् ।

प्रतिक्रिया