खजुराको बि गाउँ र धौलागिरी जोड्ने पुल निर्माण कार्य सुरु, स्थानीयको करिब ४५ बर्षको सपना साकार हुँदै

रामु ओली : पुल भत्किएको करिब ४ दशक पछि खजुराको बि गाउँ र धौलागिरी जोड्ने पुल निर्माणको काम सुरु भएको छ ।

२०२७ साल तिर बाँकेको खजुरा क्षेत्रमा पुनर्वास कम्पनीले निर्माण गरेको खजुराको ‘बि’ गाउँ र धौलागिरी जोड्ने पुल भत्किएको चार दशक पछि निर्माणको काम सुरु भएको हो ।

बाँके खजुरा गाउँपालिका वडा नम्बर तीनमा पर्ने उक्त पुल २०२७ साल तिर निर्माण गरिएको थियो । पुल निर्माणको करिब दश बर्ष पछि उक्त पुल बाढिले भत्काइदिएको थियो ।

भत्किएको करिब ४ दशक बढी समयसम्म कसैको आँखा नपरेको पुल तथा सडक निर्माण कार्य सुरु भए संगै स्थानीय हर्षित भएका छन् ।
६ करोड १० लाख ९० हजार दुई सय ८६ रुपैयाँको लागतमा निर्माण कार्य सम्पन्न गर्ने जिम्मा पाएको आकृति कुमार जेभिले पुल निर्माणको कार्य सुरु गरेको छ भने निर्माण कम्पनीले उक्त बि गाउँ र धौलागिरी जोड्ने पुल र सडक २०८२ बैशाखमा सम्पन्न गर्नुपर्ने छ ।

तत्कालीन पुनर्वास कम्पनीले निर्माण गरेको उक्त पुल तत्कालीन समयमा बि गाउँ ,ए गाउँ , एल गाउँ, गौघाट हुँदै बर्दियालाई खजुरा र नेपालगन्जसम्म जोड्ने एकमात्र पुलको रुपमा रहेको स्थानिय लक्ष्मण बुढामगर बताउछन् ।

नेपालगन्ज -खजुरा र खजुरा – गुलरिया सडकको बिकास नहुदै बर्दिया-गौघाट र गौघाट- बि गाउँ हुँदै धौलागिरी र नेपालगन्जलाई जोड्ने उक्त पुल मुख्य बाटोको रुपमा बिकसित थियो ।

कपास बिकास समितिको मुख्य कार्यालय खजुरामै रहेको हुँदा उत्पादित कपासको लागि कपासका ट्याक्टर तथा लडियाहरुको लागि एकमात्र मुख्यबाटोको रुपमा रहेको उक्त बाटो र पुल त्यो समयमै इट्टाले पिच गरिएको थियो ।

आव ६२-६३ साल सम्म पैदल यात्री तथा साइकल यात्री हिड्ने बाटो तथा भत्किएको अवस्थाको पुल त्यसपछि भने खण्डहर बनेको र उक्त सडक र पुल रहेको करिब १ किलोमीटर क्षेत्रमा लागुपदार्थ दुर्ब्यसनिको अखडा बनेको थियो ।

देश पन्चायती ब्यवस्था , प्रजातान्त्रिक ब्यवस्था हुँदै गणतान्त्रिक राज्यब्यवस्था सम्म आइपुग्दा पुल भत्किएको चार दशक बित्दा पनि पुल नबन्दा खजुरा वडा नम्बर ३ बि गाउँ र धौलागिरीका स्थानीयले पुल बन्ने आशा नै मारेका थिए । (करिब ४ बर्ष अगाडी देखी नागरिक समाजले समाचार र भिडियो रिपोर्ट मार्फत उक्त समस्याको उजागर गर्दै आएको थियो )

पुल बनेर भनेर करिब ४ बर्ष अगाडी नागरिक समाज समक्ष गुनासो गर्दै आएका स्थानिय लक्ष्मण बुढामगर यतिबेला निकै हर्षित देखिन्छन् ।
‘मेरो र हाम्रो गाउँको गुनासो सुनुवाइ भयो अब हामिले भन्दा पनि हाम्रा सन्ततिलाई सहज हुने भयो’ पुल निर्माण स्थलमै भटिएका बुढामगरले हर्षित हुँदै बताए ।

पाँच दशक पहिलेको इतिहास बोकेको सडक खण्ड र पुल खजुरा बि गाउँमा पालिकाको कार्यालय रहिसकेको अवस्थामा झनै महत्वपूर्ण भएको र यसको निर्माण अघि बढेकोले गाउँलेमा खुसीयाली छाएको स्थानिय भुवन रावत बताउछन्।

खजुरा एक नमबर तथा धौलागिरीका बासिन्दाका लागी गाउँपालिका कार्यालय सम्म पुग्न सबैभन्दा छोटो दुरिको यात्राका लागी यो पुल हुन्छ भने हामी बि गाउँबासिको लागी स्वास्थ्य चौकी तथा नेपालगन्ज जान सहज हुन्छ, रावतले बताए ।

त्यस्तै उक्त पुल निर्माण पछि जनता उच्च माबी , ज्ञानोदय पब्लिक क्याम्पस तथा आदर्श उच्च माबिका लागि बिद्यार्थी आवतजावतमा समेत सहजता हुनेछ ।

प्रतिक्रिया