नेपालगन्ज : लागु पदार्थ प्रयोगकर्ताको लागी क्षती न्यूनीकरणको कार्यक्रम मेथाडोन उपचार पद्धतिमा बाँकेमा ६८ जना आवद्ध भएका छन् ।
बाँकेको भेरी अस्पताल नेपालगन्जमा चेन्ज टिमले संचालन गरेको मेथाडोन उपचार पद्धतिमा ४ जना महिला र ६४ जना पुरुष गरेर जम्मा ६८ जना मेथाडोन उपचार पद्धतिमा यतिबेला उपचाररत रहेका हुन् ।
चेन्ज टिम बाँकेको समन्वयमा बाँकेमा रहेका लागुपदार्थ बिरुद्ध काम गर्दै आएका विभिन्न संघ संस्था बीच समन्वयात्मक बैठकमा चेन्ज टिमको कार्यक्रम संयोजक इन्द्रा कुमारी जिसीले सरोकारवाला निकायको पहलमा मेथाडोन उपचार पद्धतिमा धेरैभन्दा धेरै लागू पदार्थ सेवनकर्तालाई उपचारमा सरिक गराएर समाजमा पुनःस्थापन गर्नुपर्ने बताउनु भएको थियो ।
मेथाडोन उपचार पद्धति लागु औषध प्रयोग र त्यसले उत्पन्न गर्ने विभिन्न असरलाई कम गर्नको लागी स्वास्थ्य मन्त्रालय र गृहमन्त्रालय अन्तरगत रहेर संचालन कार्यक्रम रहेको भए पनि यसमा लागु पदार्थ सेवनकर्ता उपचारमा उल्लेख रुपमा वृद्धि नभएको प्रती सरोकारवाला निकायले चिन्ता समेत ब्यक्त गरेका थिए ।
समन्वयात्मक बैठकमा सम्बद्ध सबै निकाय र संघ संगठनले मेथाडोन उपचार पद्धतिमा लागू पदार्थ प्रयोगकर्तालाई उपचारमा संलग्न गराउनु पर्नेमा आफ्नो धारणा ब्यक्त गरेका थिए ।
समुहले मौखिक उपचार पद्धति, क्षती न्युनिकरण कार्यक्रम र पुनःस्थापन केन्द्रको माध्यमद्वारा लागू औषध प्रयोगकर्ताहरुलाई समाजमा पुनःस्थापना गर्दै आएको परिवर्तन समुहका अध्यक्ष प्रविण बिसिले जानकारी दिएका थिए । अध्यक्ष बिसीका अनुसार मेथाडोन उपचार पद्धति सुर्खेत र दाङमा समेत आवश्यक रहेको र सोको लागी पहल भैरहेको जानकारी दिएका छन् ।
कार्यक्रममा परिवर्तन समूह (चेन्ज टिम ) बाँकेले लगातार रुपमा एचआईभी एड्स , हेपाटाइटिस र लागू औषधको क्षेत्रमा काम गर्दै आएको र समुहले लागू औषध प्रयोगकर्ताहरुका लागि उपचारको वातावरण सृजना गर्दै आएको परिवर्तन समुहकी कार्यक्रम संयोजक इन्द्रा कुमारी जिसिले बताउनु भएको थियो ।
कार्यक्रममा जिल्लामा लागुपदार्थ बिरुद्ध काम गर्दै आएका विभिन्न संघ संस्थाका प्रतिनिधि, नागरिक समाजका अगुवा, प्रहरी तथा पत्रकार लगायतको सहभागीता रहेको थियो ।