
नेपालगन्ज : ३७औं लागूऔषध दुरुपयोग तथा अवैध ओसार पसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ७७ जनाले रक्तदान गरेका छन् ।
मंगलबार नेपाल रेडक्रस सोसाइटी, क्षेत्रीय रक्तसंचार केन्द्रमा आयोजना गरिएको रक्तदान कार्यक्रममा लागूऔषधविरुद्ध काम गर्ने संघ संस्थाका प्रतिनिधिहरुले रक्तदान गरेका हुन् ।
रिकभरिङ्ग नेपाल लुम्बिनी प्रदेशको सहकार्यमा जिल्ला प्रशासन कार्यालय बाँकेले आयोजना गरेको रक्तदान कार्यक्रमको उद्घाटन जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख खगेन्द्र प्रसाद रिजालले गरेका थिए ।
रिकभरिङ्ग नेपाल लुम्बिनी प्रदेश अध्यक्ष इन्द्रा कुमारी जिसीले नेपाल रेडक्रसमा देखिएको रगतको अभावलाई केही हदसम्म सम्बोधन गर्न रक्तदान कार्यक्रमको आयोजना गरिएको बताइन् ।
रिकभरिङ्ग नेपाल लुम्बिनी प्रदेश महासचिव यशोदा ज्ञवालीले दिवसको अवसरमा भोली (बुधबार) समापन कार्यक्रम पनि अयोजना गरिने बताइन् ।
समापनको अवसरमा जिल्ला प्रशासन कार्यालय, बाँके, रिकभरिङ्ग नेपाल लुम्बिनी प्रदेशलगायतको सहभागितामा जिल्ला प्रशासन बाँकेदेखि र्याली सुरु गरी वीपी चोकमा समापन गर्ने कार्यक्रम रहेको ज्ञवालीले बताइन् । उनले दिवसको अवसरमा बुधबार बेलुकी दीप प्रज्वलनसमेत गरिने बताए ।
रिकभरिङ्ग नेपाल लुम्बिनी प्रदेश फोकल पर्सन प्रवीण विसीले हरेक वर्ष लागूऔषधविरुद्धको दिवसका अवसरमा विभिन्न कार्यक्रम गर्दै आएको बताउँदै यस वर्ष पनि सप्ताहब्यापी कार्यक्रमको अयोजना गरिएको बताए ।