खजुरामा बृहत वडास्तरीय खेलकुद प्रतियोगिता सुरु

पालिकाले आफ्नो खेलकुद निर्धारण गर्ने


नेपालगन्ज : बाँकेको खजुरा गाउँपालिकामा पहिलोपटक वडास्तरीय बृहत खेलकुद प्रतियोगिताहरु आयोजना हुने भएको छ । खजुरा खेलकुल विकास समितिले आज पत्रकार सम्मेलन आयोजना गरेर पालिकाका आठैवटा वडाहरुलाई समेटेर १० वटा विद्याका खेलकुद प्रतियोगिता संचालन गर्न लागेको जनाएको हो ।

खजुरा खेलकुद विकास समितिका संयोजक तथा खजुरा गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर विकले आज(बुधबार)देखि खेलकुदका कार्यक्रमहरु सुरु गर्न लागिएको बताए । विकका अनुसार खेलकुद विकास समितिले खजुरा गाउँपालिका वडा स्तरीय पुरुष फुटबल प्रतियोगिता, महिला फुटबल प्रतियोगिता, पुरुष कबड्डी प्रतियोगिता, पुरुष भलिबल प्रतियोगिता, भेट्रान फुटबल प्रतियोगिता, क्रिकेट प्रतियोगिता, खुल्ला चेस प्रतियोगिता र खुल्ला साइकिलिङ प्रतियोगिता आयोजना गरिँदै छ । साथंै खजुरा गाउँपालिका मिनि म्याराथन प्रतियोगिता पनि आयोजना हुने संयोजक विकले बताए ।

खजुराले आयोजना गरेको वडास्तरीय खेलकुदका विजेता खेलाडीहरुका लागि पनि प्रभावकारी पुरस्कारको व्यवस्थापन गरिएको खेलकुद विकास समिति सदस्य सचिव छबिलाल विष्ट जानकारी गराए । विष्टका अनुसार वडा स्तरीय पुरुष फुटबल प्रतियोगितामा प्रथम टिमलाई ६० हजार नगद पुरस्कार राशी राखिएको छ । त्यस्तै दोस्रो टिमलाई ३० हजार र तेस्रो टिमलाई १० हजार रुपैयाँ पुरस्कार राशी व्यवस्था गरिएको सदस्य सचिव विष्टले बताए ।
त्यस्तै महिला फुटबल प्रतियोगिताको प्रथम टिमलाई १५ हजार र दोस्रो टिमलाई १० हजार पुरस्कार व्यवस्था गरिएको छ भने पुरुष कबड्डी प्रतियोगिताको प्रथम टिमलाई २० हजार, दोस्रो टिमलाई १० हजार र तेस्रो हुने दुईवटा टिमलाई ५- ५ हजार रुपैयाँ नगद पुरस्कारको व्यवस्थान गरिएको छ ।

यसैगरी पुरुष भलिबल प्रतियोगिताको प्रथम टिमलाई २० हजार र दोस्रो हुने टिमलाई १५ हजार, भेट्रान फुटबल प्रतियोगिताको प्रथम टिमलाई १५ हजार र दोस्रो टिमलाई १० हजार रुपैयाँ र क्रिकेट प्रतियोगिताको प्रथम टिम टिमलाई ३५ हजार र दोस्रो हुने टिमलाई २० हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ । साथै खुल्ला चेस प्रतियोगिता, खुल्ला साइकिलिङ प्रतियोगिता र मिनि म्याराथन प्रतियोगिताका विजेताहरुका लागि पनि नगद पुरस्कारको व्यवस्था रहेको सदस्य सचिव विष्टले जनकारी गराए ।

२० गतेसम्म संचालन हुने वडास्तरीय खेलकुद प्रतियोगितामा २ सय बढी खेलाडीको सहभागीता रहने छ भने उक्त खेलकुदहरु सुक्र भलिबल स्टेडियम, न्यू डाँफे मिनि रंगशाला, वडा नम्बर ७, ने.रा.प्रा.वि ए गाउँलगायतका क्षेत्रहरुमा संचालन गरिने सदस्य सचिव विष्टले जानकारी दिए ।

खजुरा गाउँपालिका अध्यक्ष विकले खजुराले आफ्नो खेलकुद निर्धारण गर्ने बताए । विकले पत्रकार सम्मेलनमा पत्रकारहरुको प्रश्नको जवाफ दिँदै सर्वपक्षीय बैठक बसेर खजुराले कुन खेलकुदलाई निर्धारण गर्ने भन्ने विषयलाई अघि बढाउने बताए । साथै उनले आगमी वर्षहरुमा खजुराले संचालन गर्ने खेलकुदका गतिविधिको पनि समय निर्धारण गर्ने बताए ।

विकले खजुराले पहिलो पटक आयोजना गरेको वडास्तरीय खेलकुद प्रतियोगिताको माध्यमबाट युवा तथा बालबालिकालार्य खेलकुदप्रति आकर्षण गराउन र खेलाडी उत्पादन गर्न वडास्तरीय सहयोग पुग्ने बताउँदै आगमी वर्षहरुमा पनि वडास्तरीय खेलकुद प्रतियोगितालाई निरन्तरता दिइने बताए ।

प्रतिक्रिया