
नेपालगन्ज : बाँकेको खजुरा गाउँपालिका वडा नम्बर दुईले बालबालिकाको सिकाई बिकासको लागी नौलो प्रयोग गरेको छ ।
सिकाई बिकासको नौलो प्रयोग गर्दै बालबालिकालाई अतिरिक्त क्रियाकलापमा संलग्न गराउन र सीप तथा प्रतिभाको खोजिको लागी वडामै बहुप्रतिभाको खोजी कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा गायन, नृत्य, वक्तित्वकला, चित्र प्रदर्शनी मार्फत शिक्षाको बिकास तथा सरकारको प्रशासनिक काम कारवाहीमा आवश्यक निवेदन लेखन जस्ता प्रतियोगिता भएका थिए ।
कार्यक्रममा सहभागी जनकल्याण माबी कक्षा ८ मा अध्यनरत विद्यार्थी आकाश बिकले यस्ता कार्यक्रमले आफुहरुलाई खुसी बनाएको र आउने दिनमा समेत यस्ता कार्यक्रम आयोजना हुने आशा राखेको बताए ।
कार्यक्रममा विद्यार्थीलाई सहभागी गराउन उपस्थित शिक्षक भवानी प्रसाद चपाईले कार्यक्रमले प्राक्टिल जिवनमा आवश्यक निवेदन लेख्न सिकाउनु र सरकारी कामकाजको प्रक्रियाको बारेमा सिकाएको देख्दा अनौठो लागेको र यस्तो कार्यक्रम नौलो र सम्भवत पहिलो कार्यक्रम रहेको बताउनु भएको छ ।
खजुरा गाउँपालिका वडा नम्बर दुईका अध्यक्ष धनराम ओलीले कार्यक्रम सबैको लागी नौलो अभ्यास हो र यसले विद्यार्थीको समग्र बिकासमा टेवा पुग्ने आशा लिएको बताएका छन् ।
कार्यक्रम खजुरा गाउँपालिका वडा नम्बर दुईको सहयोग तथा बाल क्लब संजाल खजुरा गाउँपालिका वडा नम्बर २ को सहकार्य र नेपाल रेडक्रस सोसाइटी सितापुर उपशाखाको आयोजना सम्पन्न भएको थियो । कार्यक्रममा कलाकार सुन्दर गुरुङको समेत उपस्थिति रहेको थियो ।