नेपालगन्ज: नेपाल आदिवासी युवा महासंघ बाँकेले ३० औं विश्व आदिवासी दिवस भव्य रूपमा मनाउने भएको छ ।
आदिवासीले हरेक वर्ष मनाउँदै आएको दिवस यस वर्ष पनि आफ्नो “पहिचान, अधिकार, रोजगारी र एकताको लागि हाम्रो सक्रियता, आदिवासी जनजाति युवाहरुको साझा प्रतिबद्धता” भन्ने मूल नारासहित मनाउन लागिएको छ ।
श्रावण २५ गते विश्व आदिवासी दिवस मनाउने सन्दर्भमा नेपाल आदिवासी महासंघ बाँकेले बाँकेमा आबद्ध रहेका जातीय संघसंस्थाहरूसँग छलफल गरेर यसपालिको कार्यक्रम नेपाल आदिवासी युवा महासंघलाई कार्यक्रम गर्न हस्तान्तरण गरेको नेपाल आदिवासी महासंघ बाँकेका अध्यक्ष डम्बर बहादुर थापा मगरले बताउनुभयो ।
सन् १९९४ देखि अगस्ट ९ को दिनलाई विश्व आदिवासी दिवसको रूपमा मनाउने गरिँदै आएको छ । सोही दिन मूल समारोहको आयोजना गरी भव्य रूपमा आदिवासी दिवस मनाउने तयारी गरिएको नेपाल आदिवासी युवा महासंघ बाँकेका अध्यक्ष जनक पहराई मगरले बताए । नेपालका आदिवासी जनजातिहरूका मातृभाषा र लोक भाकामा बनेका गीतहरू, सांस्कृतिक झाँकीहरू, स्थानीय र रैथाने प्रकृतिका आदिवासी जनजातीय कलाकृति सहितका प्रदर्शनी, विभिन्न जातीय भेषभूषा, सांस्कृतिक झाँकीसहितको -ऱ्यालिको आयोजना गरी कार्यक्रम गर्ने आयोजक आदिवासी युवा महासंघले जनाएको छ ।