
नेपालगन्ज : परिवर्तन ल्याउन नेपालका राजनीति दलहरु सफल भएपनी उपलब्धिलाई संस्थागत गर्न असफल भएको जनता समाजवादी पार्टी (जसपा)नेपालका अध्यक्ष उपेन्द्र यादवले बताएका छन् ।
अवधि पत्रकार सङ्घ नेपालद्वारा बिहिबार नेपालगन्जमा आयोजित पत्रकार सम्मेलनमा उनले परिवर्तन ल्याउन नेपालका राजनीति दलहरु सफल, तर संस्थागत गर्न असफल बनेको बताएका हुन् ।
पूर्व उपप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष यादवले देशमा बढ्दै गएको राजनीतिक अस्थिरताले लामो सङ्घर्ष र बलिदानबाट प्राप्त उपलब्धि गुम्ने खतरा बढेको बताए ।
उनले भने, ‘गणतन्त्र र सङ्घीयताको रूपमा प्राप्त भएका उपलब्धिलाई संस्थागत गर्न सकिएन भने २००७ सालमा भएको परिवर्तन २०१७ सालमा गुमेजस्तै नहोला भन्न सकिँदैन । त्यसैले उपलब्धिलाई संस्थागत गर्न सबै एकजुट हुनु जरुरी छ ।’