
नेपालगन्ज : ‘मासु मीठो कालिजको भन्ने त गित नै छ, तर गित गाउँन आउदैन’ हसिलो मिजाज भएका तुला बुढाको यो पहिलो वाक्य हो । जो हामी संग बातचीत गर्दैगर्दा निस्किएका ।
बैजनाथ गाउँपालिका वडा नम्बर एकका बुढाले घरमै कालिज पालन गरेका छन् । त्यो पनि ब्यवसायीक ।
जुम्लामा जन्मे हुर्केका बुढा सानैदेखि पशुप्नछी भनेपछि हुरुक्कै हुने र जंगलमा चरन गएको बेला बनमा रहेका कालिज, डाँफे र चाखुरा छोपेर घर ल्याएर पाल्ने गरेको बिगत सुनाउछन् । तर त्यही बनमा पाइने कालिज भने बुढाले बाँकेको बैजनाथ गाउँपालिकामा पाल्न सुरु गरेको भने केही बर्ष मात्रै भयो ।
बनमा हुने कालिजको माग र मासु तराईबासीले मन पराए पनि कालिजलाई तराईमा पाल्न भने सजिलो नभएको सुनाउछन् तुला बुढा ।
घर संगै जोडिएको दुई तीन कठ्ठा जमिनमा तारजाली लगाएर ब्यवसायीक रुपमा कालिज पालन गरेपनी ब्यवसायिक सफलता भने प्राप्त नगरेको बुढाको दुखेसो छ ।
जे जति बिक्री हुन्छ यिनैलाई चारो खुवाउन नपुग्ने उनको अनुभव रहेको छ ।
करिब ३-४ लाख लगानी भैसके पनि आम्दानी हुन नसक्दा भने तराईमा कालिज पालन उति सहज नहुने बुढाको ठम्याई रहेको छ ।
तर सानै देखी पाल्दै र देख्दै आएको कालिज पालन गरेर आत्म सन्तुष्टि मिलेको बताउने गर्छन् बुढा ।
‘सानै देखी पशु पन्छी भनेपछी हुरुक्कै हुन्थे त्यही भएर केही न केही पाल्ने गर्दै आएको थिए ,छोराले कालिज नै पालन गरौ भन्यो त्यसैले कालिज पालन गरेको छु । राम्रो हुर्केको छ बिक्री पनि राम्रै हुन्छन् तर बिक्री गर्यो चारो खुवाउन ठिक्क हुन्छ । अब भने कालिजको बच्चा निकाल्ने गरि तयारी गरेको छु त्यसपछि केही फाइदा होला कि !’ बुढाले कालिज पालनको ब्यवसायीक भविष्य सुनाए ।
दुई किसमका कालिज पालेका बुढाले बाँकेमा कालिजको माग रहेको बताउने गर्छन् । बाँकेको विभिन्न ठाउँबाट कालिज लैजाने गरेको र गाउँ घर संगै होटेलहरुमा पनि कालिज लगेको सुनाए ।
हाम्रोबाट यहि गाउँमा पनि गएको छ, होटेलहरुमा पनि लैजान्छन ।यहि आएर किनेर लैजाने गर्छन् । बुढाले भने ।
एक बर्षको एउटा कालिजको मूल्य २५ सय देखि तीन हजारसम्ममा बिक्रि हुने र कालिज २ बर्षको भयो भने अझै महँगोमा बिक्री हुने बुढाको अनुभव रहेको छ ।
(नागरिक समाज म्यागजिनको २०८२ बैशाखको अंकमा प्रकाशित)