
खजुरा : अनेक चिनारी बोकेको बाँकेको खजुरा गाउँपालिका इजरायली मोडेलमा बसेको बस्ती हो । इजरायल कृषिको लागि चर्चित छ । अनि खजुरा पनि कृषिकै लागी जिल्लामा प्रसिद्ध छ ।
त्यसैमा खजुरा गाउँपालिका वडा नम्बर दुईले वडा कार्यालय परिसरमै नमुना च्याउ खेती गरेपछि झनै खजुराको चर्चा चुलिएको थियो ।
यतिबेला भने खजुरा गाउँपालिका वडा नम्बर दुईको अर्कै कामले चर्चामा छ । जिल्लामै नमुना कार्यालयको रुपमा विकसित गर्दै वडालाई डिजिटलाइज र सुन्दर बनाउने काममा होमिएका छन् वडाअध्यक्ष धनराम ओली ।
रंग-रोगन गरिएको सफा अनि फराकिलो गेट । गेट भित्र छिर्ने बितिकै चारैतिर गार्डेन । गार्डेनमा विभिन्न फूल तथा बनस्पति । अनि छेउमै आई लभ सितापुर २ लेखिएको सेल्फी पोइन्ट । कार्यालय भवनमा डिजिटल बोर्ड । ब्यवस्थित कार्यालय । छेउको खाली जमिनमा वडा कार्यालयकै करेसावारि । टोकनप्रणाली । अपाङ्ग मैत्री ब्यवस्थित सौचालय । मान्छे नभै फाइल घुम्ने ब्यवस्था मिलाउदै गरेको डिजिटल पालिका सहित अवधारणामा बिकास हुँदै गरेको खजुरा गाउँपालिका वडा नम्बर दुईको देखिने दृश्य हुन् ।
अर्को रोचक दृश्य पनि खजुरा गाउँपालिका वडा नम्बर दुईमा देख्न सकिन्छ । वडा कार्यालय भवन प्रवेश संगै वडा अध्यक्षको कार्यकक्ष छ । जहाँ वडाअध्यक्षले फाइल, विभिन्न पुस्तक र केही कागजपत्र संगै हसिया, गैती, आरी र कोदालो भेट्नु हुन्छ । जस्तै वडामा सेवाग्राहीको चाप कम हुन्छ वडाअध्यक्ष वडाकार्यालयको करेसावारि र बागबानी पुग्ने गर्छन् । माटो संगै खेल्दै गरेका वडाअध्यक्ष धनराम ओली सेवाग्राहीका कयौं फाइल त्यही साइन गरेर पुनः वडाको बागबानीमा काममा तल्लीन भएको देखिने दृश्य आजभोलि सामान्य जस्तै लाग्छन् ।
वडाको सुन्दरता संगै वडाको खाली जमिनमा वडाको आम्दानीको लागी विभिन्न जातको बयर, आँप, बेलौतीको विरुवा रोपेको बताउछन, अध्यक्ष ओली ।
‘वडाको आन्तरिक आम्दानीको बारेमा सोचेर बर्सेनि ४-५ लाख रुपैयाँ मात्रै भएपनी आम्दानी गर्नको लागी र वडाको खाली रहेको जमिनको सदुपयोग गर्नको लागी बागबानी तयार गरेका छौं भने वडाको करेसाबारी चाहिँ वडामा आउने सेवाग्राहीलाई आफ्नो घरमा पनि थोरै भएपनी करेसाबासी निर्माण गरेर आफैले सागसब्वी उत्पादन गर्न प्रेरित गर्न हामिले तयार गरेका छौं । एक जना मात्रैले पनि यसको सिको गरे भने पनि हामी सफल हुन्छौं ।’ अध्यक्ष ओलीले बताए ।
जिल्लामै पहिलो पालिका खजुरा गाउँपालिका हो जसले पालिकालाई डिजिटलाइज्ड गर्ने तरखरमा लगिरहेको छ । डिजिटलाइज्डको काम भैरहेको पालिकाको रुपमा रहेको खजुरा गाउँपालिकाले गत आव र चालू आवमा बजेट बिनियोजन गरेर काम अघि बढाई सकेको छ । जस अन्तरगत खजुरा वडा नम्बर दुई पनि डिजिटलाइज्ड हुने क्रममा आफुलाई अग्रसर पारेको छ ।
चिटिक्क परेको वडा कार्यालयमा सेवाग्राही छिरेपछि फाइल मात्रै घुम्ने र काम सकेपछि फाइल सेवाग्राहीको हातमा पुग्ने गरि काम गरेको वडा अध्यक्ष धनराम ओलीको योजना रहेको छ । जसको लागी टोकन प्रणालिको बिकास गरिएको छ ।
हामी छिटोछरितो सेवा मात्रै प्रदान गर्दैनौं । सेवाग्राहीलाई केही सिकाउने प्रयास पनि हाम्रो रहेको छ । जसकारण हामिले वडामा करेसाबारी तयार गरेका छौं । वडा कार्यालयमै च्याउ खेती गरेका छौ । ताकी सेवाग्राहीले ती कुराहरु हेरेर देखेर सिको गरून् , अध्यक्ष ओलीले बताए ।
वडाले उत्पादन गरेको च्याउ करिब १ लाखको बिक्री
बाँकेको खजुरा गाउँपालिका- २, सीतापुरको वडा कार्यालयले च्याउ उत्पादन गरेर बिक्री गरेको छ। वडा कार्यालय परिसरमै टनेल बनाएर च्याउ खेती गरिएको हो। वडामा उत्पादन भएको च्याउ स्थानीयलाई सहुलियत मुल्यमा बिक्री गरिएको थियो । जसबाट वडाले करिब १ लख रुपैयाँ राजस्व संकलन समेत गरेको छ ।
तीन लाख ३० हजार रुपैयाँमा बनाइएको टनेल बाहिरबाट हेर्दा जति सुन्दर र आकर्षक देखिन्छ, भित्र अझै त्योभन्दा मनमोहक रुपमा उम्रिएका छन्,च्याउ। टनेलभित्र ५ सय ५० वटा प्लाष्टिकको पोकामा बाक्लिएर उम्रिएको कन्य च्याउ हेर्दा जो कोहीको मन लोभ्याउँछ।
‘गरे के हुँदैन र?’ भन्ने देखाउन वडा कार्यालय आफैले लगानी गरेर टनेलमा च्याउ खेती गरेको हो। वडा कार्यालयले नै राम्रो च्याउ खेती गरेर देखाएपछि स्थानीयवासी त्यसप्रति आकर्षित छन्। र वडाको मुख्य उदेश्य नै स्थानीय वडाबासीलाइओ च्याउ खेती तर्फ आकर्षित गर्नु रहेको वडा अध्यक्ष धनराम ओलीले बताउछन् ।
वडा कार्यालयले च्याउ उत्पादनसँगै बिक्री कार्यसमेत सुरु गरेको छ। बिक्री वडा कार्यालयबाटै गर्ने गरेको पाइन्छ। जसले गर्दा कार्यालयमा सेवा लिन आएकाहरूले पनि च्याउ किन्ने गर्दछन्। यसरी लिनेलाई कार्यालयले सस्तो मूल्यमा बिक्री गर्छ।
यहाँका स्थानीय बजारमा २ सय ८० रुपैयाँ किलो रहेको च्याउ वडा कार्यालयले एक सय २० रुपैयाँ किलोमा बेचिरहेको छ। वडाध्यक्ष धनबहादुर वलीले सस्तोमा दिएरका कारण फुटकरमै धमाधम च्याउ बिक्री भइरहेको बताएका । आफूहरूले उत्पादन गर्दा स्थानीयले सस्तोमा च्याउ खान पाएकोमा वडाध्यक्ष वली हर्षित छन्।
वडा कार्यालयले च्याउ उत्पादन गरेर आफूहरूलाई सस्तोमा खान पाउन व्यवस्था मिलाइदिएपछि स्थानीय हर्षित छन्। स्थानीय मानबहादुर वलीले गाउँमा जो कोहीले यसैलाई हेरेर च्याउ खेती गर्न सक्ने बताए। ‘यसले युवालाई उत्प्रेरित गरेको छ, उत्साहित बनाएको छ, वलीले भने, मेहनत गरे जे पनि हुन्छ। खाली लगनशील, दत्तचित्त भएर लाग्नुपर्छ। विदेशनै ताक्ने युवालाई घरमै बसेर केही गर्न सकिन्छ भन्ने यसले देखाएको छ।’
पुर्वाधार बिकासमा अब्बल वडा नम्बर दुई
खजुरा गाउँपालिका वडा नम्बर दुई पुर्वाधार बिकासको काममा समेत अब्बल रहदै आएको छ । वडामा हुनेहरेक बिकास निर्माणको काममा चासो र ताकेता गर्ने वडा अध्यक्ष ओलीकै कारण बिकास निर्माणको काममा समेत वडा नम्बर दुई अब्बल सबित भएको हो ।
सबैभन्दा ठूलो वडा भए सडक नाली र निकासको हिसाबले वडा नम्बर दुईको बिकासको काम प्रशंशा योग्यको रहेको खजुरा गाउँपालिका वडा नम्बर दुईका स्थानीय बताउने गर्छन ।
(नागरिक समाज म्यागजिनको २०८२ बैशाखको अंकमा प्रकाशित)