खजुराका जनप्रतिनिधि पुगे सडक डिभिजन, बाटो नबनाए जनता उतार्न बाध्य हुन्छौं

नेपालगन्ज : गाउँपालिकाका जनप्रतिनिधिहरु सडक डिभिजन कार्यालय नेपालगन्ज पुगेर खजुराको फोरलेन सडक निर्माणमा चरम लापरबाही भएको भन्दै तत्काल निर्माण गर्ने प्रक्रिया अघि बढाउन दबाब दिएका छन् ।

बिहीवार खजुरा गाउँलालिकाका अध्यक्ष डम्बरबहादुर विक (तुफान)को नेतृत्वमा सडक डिभिजन पुगेको जनप्रतिनिधिको टोलिले परसपुर – गौघाट, खजुराको फोरलेन र पुल निर्माण छिटो हुनपर्ने माग गरेका हुन् ।

सो अवसरमा अध्यक्ष विकले जनताको प्रत्यक्ष सम्पर्कमा रहेको स्थानीय तहमा जनताले बारम्बार उक्त कामका बारेमा आफूहरुलाई प्रश्न गरिरहँदा त्यसको उत्तर आफूहरुले दिन नसकेको भन्दै निर्माण कम्पनीलाई कारबाही गर्नुपर्ने माग गरेको छन् ।

‘हामीहरु जनताको आवाज लिएर सरोकारवाला निकाय सडक डिभिजनमा हामी आएका हौं,’ विकले भने, ‘यसअघि निर्माणका लागि थोरै सुरुवात भयो । तर १ नम्बरको हुने वित्तिकै अर्को तिर रोकियो ।’ उनले संघीय सरकारको निकाय सडक डिभिजन भएकाले सडक निर्माण छिटो सम्पन्न गर्ने माग राख्न आफूहरु आएको बताए ।

विकले गणेशमान चोकदेखि गौघाटसम्मको सडक निर्माण भइरहेता पनि उक्त स्थानमा पर्ने दुईवटा पुलको काम सम्पन्न नहुँदा जनताले धेरै समस्या भोगिरहेको बताए । उनले खजुराको १ हजार ८ सय मिटरको सडक र खजुरा बजारको पुल आगमी वर्ष मै ठेक्कापट्टा हुनगरी मन्त्रालयमा पठाउन अनुरोधसमेत गरे ।

उनले भने, ‘यदि चाही त्यो काम अगाडि बढेन भने । जनतालाई आह्वान गर्नुपर्ने अवस्था आइपुग्ने जस्तो भयो । किनकी जनताको दबाबलाई हामीले थेग्न नसक्ने अवस्थामा छौं । त्यसैले जनतालाई नै लिएर सरोकार वालाको ढोका ढोकामा धर्ना दिने स्थिति सृजना नहोस्् ।’

जनप्रतिनिधिसँग कुरा गर्दै डिभिजन प्रमुख ईन्जिनियर निरज शाक्यले खजुराको १ हजार ८ सय मिटर सडकको म्याद पुस मसान्तमा सकिएको बताउँदै प्रतिदिन ०.०५ प्रतिशतका दरले जरिवाना लागेको बताए । उनले उक्त सडक निर्माणका लागि धेरैपटक ताकेता गरे पनि केही समय काम गरेजस्तो गर्ने र छोड्ने गरेको बताए । यस विषयमा आफूले विभागमाा पनि छलफल गरेको उनको भनाइ छ ।

प्रतिक्रिया