राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने रिहा हुने भएका छन् ।पूर्पक्षका लागि थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको आदेशलाई बिहीबार उच्च अदालत पाटनले उल्ट्याइदिएपछि सन्दीप रिहा हुने भएका हुन् ।
न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको इजलासले जिल्ला अदालतको आदेश उल्ट्याउँदै सन्दीपलाई रिहा गर्न आदेश दिएको हो ।
इजलाशले उनलाई २० लाख धरौटीमा छाड्न आदेश दिएको लामिछानेका वकिल सरोज घिमिरेले जानकारी दिए। तर लामिछानेले विदेश जान नपाउने आदेश भएको छ ।
जिल्ला अदालत काठमाडौंले उनलाई थुनामै राखेर बलात्कार सम्बन्धी मुद्दामा कारबाही अघि बढाउने भन्दै गरेको आदेश विरूद्ध सन्दीपले उच्च अदालत पाटनमा निवेदन दिएका थिए । सोही निवेदनमा न्यायाधीश नन्द र ढकालको संयुक्त इजलासले लामिछानेलाई धरौटीमा छाड्न आदेश दिएको हो।
लामिछानेलाई भदौ २३ मा नेपाल क्रिकेट सङ्घ (क्यान) ले कप्तानबाट निलम्बन गरेको थियो । सन्दीपविरुद्ध एक किशोरीले गत भदौ २१ मा जबर्जस्ती करणीको कसुरमा प्रहरी वृत्त गौशालामा किटानी जाहेरी दिएकी थिइन् । भदौ ५ मा सन्दीपले आफूलाई नगरकोटस्थित विभिन्न होटलमा घुमाएर फर्केपछि राति एयरपोर्टस्थित होटेल ‘काठमाडौं इन’मा लगेर पटक-पटक बलात्कार गरेको आरोप छ ।
असोज २० गते प्रहरीले त्रिभुवन विमानस्थलबाट लामिछानेलाई नियन्त्रणमा लिएको थियो ।