किशोरीहरुलाई आइरन खुवाउन किन आवश्यक छ ?

टेक बहादुर बिष्ट

बाल्यावस्थापछि मानव शरीरमा हुने वृद्धि र विकासको दृष्टिकोणले किशोर अवस्थालाई दोस्रो महत्वपूर्ण अवधिको रुपमा लिइन्छ । किशोर अवस्था भन्नाले बाल्यवस्था र वयस्क अवस्थाबीचको मानव विकासको चरणलाई जनाउँछ शारिरिक तथा मानसिक परिवर्तनका लागि यो उमेर अवधि महत्वपुर्ण हुने भएकोले यस उमेर समुहमा उचित बृद्धि विकासका लागि सहि पोषणको आवश्यक हुन्छ ।

विश्व स्वास्थ्य संगठनले १० देखि १९ वर्षको उमेर समूहलाई किशोरावस्था भनी परिभाषित गरेको छ, यो अवस्थामा जैविक तथा हर्मोनजन्य परिवर्तन, मनोसामाजिक तथा व्यवहारमा परिवर्तन, यौन परिपक्कता, रजस्वला तथा प्रजनन् कार्य सरु हुने र यो अवस्थामा वयस्क अवस्थाको ४० देखि ६५ प्रतिशत तौल र १५ देखि २० प्रतिशतसम्म उचाइ हासिल हुन्छ ।

शिशु अवस्था पछि किशोरावस्थामा एक पटक फेरि तिब्र दरमा शारीरिक बृद्धि विकास हुने भएकोले यस आवस्थामा पोषणको आवश्यकता अधिक हुन्छ । पोषणतत्व अधिक आवश्यकता हुने भएतापनि विभिन्न कारणहरु (सामाजिक, सांस्कृतिक, आर्थिक, व्यवहारिक, जीवनस्तरमा परिवर्तन, मनोवैज्ञानिक आदि) ले गर्दा किशोरवस्थामा विशेषगरी पोषणयुक्त खानपानमा कमी भई  न्यून पोषणको जोखिम उच्च हुन्छ, जसमध्ये रक्तअल्पता पनि एक प्रमुख कारण रहेको छ र धनि बर्ग भन्दा गरिब बर्गहरुमा, शहर भन्दा ग्रामिण भेगहरुमा जहाँ पोषण को बारेमा जानकार कम हुन्छन र आइरन को महत्व बुझेका हुदैनन विशेष गरेर त्यहाँका किशोरिहरुले यस्तो समस्या को सामना गरिरहनु परेको छ ।

त्यसैगरी सुदुरका दुर दराज का बस्तिहरुमा त रक्तअल्पता भनेको केहो भन्ने कुरा पनि थाहा नभएको अवस्था छ । रक्तअल्पता भनेको शरीरमा रगतको कमी भएको अवस्था हो । रक्तअल्पताका कारणहरुमध्ये आइरनको कमी हुनु एक प्रमुख कारण हो ।

नेपालमा जनसांखिक तथा स्वास्थ्य सर्वेक्षण २०१६ का अनुसार मुलुकका करिब ४१ प्रतिशत प्रजनन उमेरका महिलाहरु रक्तअल्पताबाट पीडित छन् भने नेपाल जनसांखिक तथा स्वास्थ्य सर्वेक्षण २०११ अनुसार करिब ३९ प्रतिशत किशोरीहरुमा रक्तअल्पताको समस्या देखिएको छ ।

नेपाल सरकारले रक्तअल्पताको समस्यालाई समाधान गर्न विभिन्न प्रयासहरु गरिरहेको छ । विगत केही शर्वेक्षण अनुसार हेर्दा यसको प्रतिशत घटे पनि विश्व स्वास्थ्य संगठनका अनुसार नेपालका किशोरीहरुमा हुने न्यून पोषणमध्ये आइरनको कमिले हुने रक्तअल्पता पनि प्रमुख जन स्वास्थ्य को समस्याको रुपमा देखिएको छ । यदि कुनै पनि समुदायमा रक्तअल्पताको प्रकोप २० प्रतिशत भन्दा बढी छ भने आइरन तथा फोलिक एसिड वितरण गर्नु पर्छ भनी विश्व स्वास्थ संगठनले सिफारिस गरेको छ । रक्त अल्पताको प्रकोप अनुसार ४.९ प्रतिशत वा सो भन्दा कम रहेको छ भने जनस्वास्थ्य समस्या नरेको भन्ने बुझिन्छ त्यस्तै ५.० प्रतिशत देखी १९.९ प्रतिशत लाइ सामान्य मानेको छ भने २०.० प्रतिशत देखी ३९.९ लाई लाई मध्यम तर जनस्वास्थ्य को समस्या र यदि यो समस्या ४० प्रतिशतभन्दा बढी किशोरीहरुमा देखिएमा गम्भीर समस्याको रुपमा रहने  मानिन्छ । आजका किशोरी नै भोलिका आमा हुन् । यदि किशोरी नै कुपोषित भइन् भने भोली जन्मने सन्तती पनी कम तौल र कुपोषित जन्मिन सक्छन जसले गर्दा परिवार, समाज र सिंगो राष्ट्रको विकासको लागी नराम्रो असर पर्न सक्छ ।

किशोरीहरुमा आइरनको कमीले हुने रक्तअल्पता भएमा शारीरिक तथा वौद्धिक विकासमा कमी आउँछ, सानो कदको कम तौलको र ख्याउटे हुन सक्छ, शारीरिक शक्ति, यौन तथा परजनन् स्वास्थ्यमा कमि आउँछ, कार्य प्रतिफलमा कमी हुने, कार्य क्षमतामा ह्रास आउने, महिनावारि अनियमित हुने, सौन्दर्यमा कमि आउँने, गर्भवस्थापूर्वको अवस्थामा न्यून आइरन भण्डारण हुने, सिक्ने क्षमतामा कमी हुने र दैनिक कार्यमा कम एकाग्रता जस्ता समस्याहरु देखिन्छन् । त्यसका साथै विभिन्न अनुसन्धानका अनुसार रक्तअल्पता भएका किशोरीहरु पछि गएर गर्भवती भएमा समयभन्दा अगाडि शिशु जन्माउने र कमतौलको शिशु जन्माउने जस्ता जोखिम व्यहोर्नुपर्ने हुन्छ ।

शरीरको करिब ६५ देखि ७५ प्रतिशत आइरन हेमोग्लोबिनको रुपमा रगतमा पाइन्छ । आइरनको आपूर्ति कम भएमा हेमोग्लोबिन निर्माण हुनमा प्रभावित हुन्छ । नेपालमा विद्यमान रक्तअल्पताका विभिन्न कारणमध्ये प्रमुख कारण दैनिक आहारमा आइरनयुक्त खानेकुराको कमी हुनु हो ।

पोषणयुक्त खाद्यपदार्थको रोजाइबारे कम चेतना, विभिन्न सांस्कृतिक तथा परम्परागत प्रचलन र मुल्य मान्यता, जुकाको सक्रमण र विशेष गरेर किशोरीमा रजस्वला चक्र सुरु हुने कारणले गर्दा यो उमेर समूहमा आइरनको आवश्यकता बढी हुने गर्दछ ।

कलिलो उमेरमा विवाह (बालविवाह), किशोरावस्थामा गर्भधारण, पटकपटक गर्भवती हुने, पटक पटक गर्भपतन गर्ने जस्ता कारणले गर्दा पनि किशोरीहरु आइरनको कमीबाट रक्तअल्पताको जोखिममा पर्ने गर्दछन ।

मुलुकमा विभिन्न समुदाय र क्षेत्रमा किशोरीहरुमा रक्तअल्पताको प्रकोप फरकफरक रहेको छ । पर्यावरणीय क्षेत्र अनुसार हेर्दा तराई क्षेत्रमा रक्तअल्पता ४२ प्रतिशत छ भने पहाडी र हिमाली क्षेत्रमा करिब २७ प्रतिशत (नेपाल जनसांखिक तथा स्वास्थ्य सर्वेक्षण २०११) रहेको छ।

नेपालमा किशोरीहरुमा रक्त अल्पताको दर उच्च रहेको अवस्थालाई दृष्टिगत गरि किशोरीहरुलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम संचान गरिदै आएको छ । यस कार्यक्रम अन्तर्गत सेवा प्रदायकहरुले किशोरीहरुलाई आइरन फोलिक एसिड चक्कि खुवानुको साथै तोकिएको समयमा तोकिएको मात्रामा जुकाको औषधि (अल्बेन्डाजोल) पनि खुवाउनु पर्दछ । किशोरीहरुलाई आइरन फोलिक एसिड खुवाउने कार्यक्रम स्वास्थ्य मन्त्रालय र शिक्षा मन्त्रालय बिचको सहकार्यमा कार्यान्वयन भैरहेको ‘बिद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रम’ कै एक अभिन्न अंग हो जस अन्तर्गत रक्तअल्पताको न्यूनीकरणको लागि विश्वव्यापी धेरै पहल भएका छन् जसमध्ये १० देखी १९ बर्ष सम्मका किशोरीहरुलाई हप्ताको एक दिन आइरन चक्की खुवाउने कार्यक्रम पनि प्रमुख रहेको छ । भारत, भियतनाम, फिलिपिन्स लगायतका देशले किशोरीलाई आइरन चक्की प्रदान गरी रक्तअल्पता घटाउनमा सफल भएका छन् ।

विश्व स्वास्थ्य संगठनको सिफारिसलाई आधार मानी विभिन्न देशले आफ्नो देशको आवश्यकताअनुसार किशोरीहरुलाई आइरन फोलिक एसिडको मात्रा निर्धारण गरी वितरण गर्दै आएको छ । नेपालमा पनि १० देखि १९ वर्षका किशोरीलाई वर्षमा २६ हप्ता वा छ महिना (१३/१३ हप्ता) आइरन चक्की खुवाउने कार्यक्रम रहेको छ । प्रत्येक हप्ता एक चक्कीको दरले साउन, भदौ, असोज महिनामा आइरन चक्की खुवाउने, कात्तिक, मंसिर, पुसमा नखुवाउने माघ, फाल्गुन र चैत महिनामा आइरन चक्की खुवाउने तथा वैशाख, जेठ, असारमा नखुवाउने गरी विद्यालय जाने किशोरीहरुलाई विद्यालयमा एक जना फोकल शिक्षकको माध्यमबाट र विद्यालय नजाने किशोरीहरुलाई महिला स्वास्थ्य स्वयंसेविकामार्फत र स्वास्थ्य संस्था बाट खुवाउने गरिन्छ । धेरै जसो बिद्यालयहरुमा हप्ताको एउटै बार आइरन चक्की खुवाइन्छ । 

आइरन फोलिक एसिड खाएपछि कुनै किशोरीलाई सामान्य असरहरु जस्तैः वाकवाकी लाग्ने, छाती पोल्ने, कब्जियत हुने, कालो दिसा हुने आदि समस्या देखा पर्नसक्छ तर ती असरहरु सामान्य भएकाले आफैं ठिक भएर जाने हुन्छन् । यदि त्यस्तो भएमा नजिकैको स्वास्थ्य संस्थामा गएर सल्लाह लिन सकिन्छ । साथै त्यस किसिमका अवस्थाहरु हुन नदिका लागी आइरन फोलिक एसिड खालीपेटमा खाने गर्नु हुदैन ।

नेपालमा १२ प्रतिशत किशोरीहरु रहे तापनि २९ प्रतिशत किशोरी विद्यालय भर्ना भएका छैनन् भने भर्ना भएकाहरुमध्ये १० देखि १९ वर्षका किशोरीको कक्षामा हाजिरी विभिन्न कारणले निकै कम भएको पाइन्छ। सम्पूर्ण किशोरीहरुलाई समेटी कार्यक्रमलाई प्रभावकारी बनाउनु एकदमै चुनौतीको विषय रहेको छ।

किशोरीलाई आइरन चक्की वितरण गर्दा स्वास्थ्य र शिक्षा क्षेत्रको समन्वय, स्थानीय तहको दायित्व, जिम्मेवारी र नेतृत्व पनि महत्वपूर्ण देखिन्छ। स्वस्थ रही बाँच्न पाउनुपर्ने प्रत्येक किशोरीको अधिकार हो जो नेपालको संविधानले पनि सुनिश्चित गरेको छ । यस कार्यक्रममा सम्पूर्ण किशोरीहरु समेटिएमा मात्र अन्तरपुस्ता चक्रमा हुनसक्ने रक्तअल्पतालाई कम गर्न सकिने देखिन्छ ।

नेपालमा रक्तअल्पता न्यूनीकरणको लागि अन्य विभिन्न कार्यक्रम, नीति तथा रणनीति लिइएको छ जसमध्ये महिला तथा बालबालिकाको रक्तअल्पता नियन्त्रण गर्न राष्ट्रिय रणनीति २०६४, बहुक्षेत्रीय पोषण योजना, राष्ट्रिय पोषण नीति आदि रहेका छन् । जसले किशोरीको पोषणलाई सम्बोधन गरेको छ ।

साधारणतया आइरन प्राणीजन्य र वनस्पतिजन्य स्रोतहरुबाट पाइन्छ । प्राणीजन्य स्रोतबाट पाइने आइरनलाई हिम आइरन भनिन्छ भने वनस्पतिजन्य स्रोतबाट पाइने आइरनलाई नन् हिम आइरन भनिन्छ।

पोषणको दृष्टिकोणले प्राणीजन्य स्रोतबाट पाइने आइरनलाई राम्रो मानिन्छ, किन भने यसको शोषण शरीरमा बढी मात्रामा हुन्छ । नन् हिम आइरनको शोषण २ देखि २० प्रतिशत हुन्छ भने हिम आइरनको शोषण १५ देखि ३५ प्रतिशत हुन्छ।

वनस्पतिजन्य आइरन शरीरमा शोषण हुनको लागि भिटामिन सीयुक्त खानेकुराहरु जस्तैः कागती, सुन्तला खान जरुरी हुन्छ । अन्यथा शरीरमा यसको शोषण कम हुने गर्दछ ।

केही खाद्यपर्दाथहरु जस्तैः दूध, कफी आदिले शरीरमा आइरनको शोषण हुनमा अवरोध पुर्‍याउँछन् । तसर्थ आइरनयुक्त खानेकुरा खाँदा त्यस्ता खाद्यपदार्थको सेवन गर्नुहुँदैन र गर्नु नै परेमा एक घण्टा पछाडि वा एक घण्टा अगाडि सेवन गर्दा उपयुक्त हुन्छ ।

पोषणको अवस्थामा सुधार र रक्तअल्पताको समस्याबाट बच्नको लागि दिनहुँ खाने खानामा थोरै मात्रामा भए पनि स्थानीय रुपमा उपलब्ध हुने साग, तरकारी, गेडागुडी, फलफूल, माछा, मासु वा चार समुहमा बाडियका खानेकुराहरु नियमित रुपमा खाने गर्नुपर्छ । (लेखक बिष्ट हेल्थ असिस्टेन्टको रुपमा कार्यरत हुनुहुन्छ )

प्रतिक्रिया