विष्णु पोखरेल, बिबिसी : पूर्वोत्तर भारतीय राज्य मणिपुरमा बसोबास गर्ने जातीय समूहबीचको द्वन्द्वका कारण आफूहरू पनि त्यसको ‘चेपुवामा पर्ने’ त्रास पैदा भएको उक्त राज्यमा बसोबास गर्ने नेपालीभाषी भारतीयहरूले बताएका छन्।
उनीहरूका भनाइमा हालसम्म उक्त राज्यमा ‘गोर्खा समुदाय’का रूपमा चिनिने नेपालीभाषीलाई नै लक्षित गरेर आक्रमणहरू गरिएको विवरण आएको छैन।
तर एक अर्काको विरोधी बनेका दुई पक्षको द्वन्द्वमा आफूहरू “पिसिने अवस्था आउन सक्ने डर पैदा भएको” नेपालीभाषीहरू बताउँछन्।
गत एप्रिल १९ मा उक्त राज्यको उच्च न्यायालयले त्यहाँको बहुसङ्ख्यक जनसङ्ख्या रहेको मैतेई समुदायलाई पनि अनुसूचित जाति (एसटी) मा सूचीकृत गर्नेबारे सोचविचार गर्न भनेसँगै त्यहाँ विवाद बढेको थियो। त्यसले मणिपुर उपत्यकाको मैदानी भाग र पहाडी क्षेत्रमा बसोबास गर्ने जातिबीच द्वन्द्व निम्तिँदा त्यहाँ हिंसा भड्किएको छ।
हिंसा अन्त्यका लागि भारत सरकारले केन्द्रीय सुरक्षा फौजलाई उक्त राज्यमा पठाएको छ भने त्यहाँ पाँच दिने कर्फ्यू जारी गरिएको तथा इन्टरनेट सेवा बन्द गराइएको छ। हिंसा बढेपछि त्यहाँ सरकारले सुरक्षा फौजलाई मानिसलाई देख्ने बित्तिकै गोली हान्ने आदेश दिएको छ।
अधिकारीहरूले स्थिति चाँडै नियन्त्रणमा आउने बताएका छन्। यद्यपि बीबीसीसँग कुराकानी गरेका उक्त राज्यका नेपालीभाषीहरूले स्थिति साम्य हुने अवस्था अझै नदेखिएको बताएका छन्।
के भन्छन् नेपालीभाषी?
मणिपुरको राजधानी इम्फालमा बसोबास गर्ने अवकाशप्राप्त शिक्षक एवम् एकजना नेपालीभाषी लेखक भवानी अधिकारीका अनुसार मणिपुरमा पहाडी क्षेत्रमा बसोबास गर्ने जातिलाई अनुसूचित जातिमा सूचीकृत गरिएको छ। तर मैदानी भागमा बसोबास गर्ने मैतेई समूहलाई त्यसमा समावेश गरिएको थिएन।
“एसटीमा परेका जातजातिलाई कानुनले कतिपय कुरामा सुविधा दिएको हुन्छ तर जनरल समूहमा परेकाले त्यो सुविधा पाउँदैनन्। गोर्खाहरू पनि यहाँ जनरल वर्गमै पर्छन्,” उनले भने।
“हालसम्म त यहाँ हिंसा भए पनि गोर्खा समुदायलाई खासै दुवै पक्षले केही गरेको सुन्नमा आएको छैन। तर हाम्रो बसोबास दुवै जातिको बीचमा छ- छ्यासमिस। त्यसैले कसैको बीचमा बोल्न पनि हामीलाई गाह्रो छ।”
“अहिले यहाँ इन्टरनेट बन्द छ त्यसैले खासै खबरहरू पाउन सकिएको छैन। बिहान पत्रिका भने पढ्न पाइएको थियो। हिजो चाहिँ दिनभरि हेलिकप्टरहरू उडिरहेका थिए।”
उनले विरोध गर्ने दुई पक्षमा गोर्खा समुदायले कुनैको पनि पक्ष नलिएको बताउँदै आफूले चाँडोभन्दा चाँडो हिंसा टुङ्गियोस् भन्ने चाहेको बताए।
इम्फालभन्दा २५ किलोमिटर पश्चिमस्थित काङ्ग्लाटाङ्बीमा बसोबास गर्ने नेपालीभाषी स्थानीय पत्रकार राहुल राईका अनुसार हिंसाका कारण कतिपय नेपालीभाषीका पसलहरूमा पनि क्षति पुगेको छ।
उनले भने, “गोर्खालाई कसैले लक्षित गरेरै आक्रमण गरेको त होइन तर दुवै पक्षको विवादमा हामी चेपुवामा पर्ने अवस्था बनेको छ।”
“अहिले यहाँ कर्फ्यू लागेको छ, इन्टरनेट छैन र सेनाले गस्ती गरिरहेको छ तर पनि भित्रभित्र झडपहरू भइरहेका छन्। त्यस्तोमा हामी गोर्खाली पनि चेपुवामा परेका छौँ।”
उनले उक्त राज्यका नेपालीभाषीले चाँडोभन्दा चाँडो हिंसा अन्त्य होस् भन्ने चाहेको तर दुई पक्षबीचको मनमुटाब बढिरहेको देखिएकाले त्यसको असर दीर्घकालीन हुनसक्ने बताए।
कति छन् नेपालीभाषी भारतीय?
पूर्वोत्तर भारतका प्राय: सबैजसो राज्यमा नेपालीभाषीहरूको बसोबास रहेको छ।
मणिपुरमा पनि नेपालीहरूको उल्लेख्य सङ्ख्या रहेको त्यहाँका नेपालीभाषीहरू बताउँछन्। लेखक अधिकारीका अनुसार सन् २०११ को जनगणनाले उक्त राज्यमा ६३ हजार नेपालीभाषीहरू रहेको देखाएको थियो।
“त्यसमध्ये केही मानिसहरू यहाँबाट अन्यत्र सरेर पनि गएका छन् तर पनि अझै त्यस्तै हाराहारीमा नेपालीहरू रहेको ठानिन्छ,” उनले भने। बीबीसी हिन्दीका अनुसार मणिपुरको जनसङ्ख्या लगभग २८ लाख छ।