रामु ओली, नेपालगन्ज :

सिकलसेल जस्तै थालेसिमिया रोग थारु समुदायमा धेरै देखिन थालेको छ । अन्य समुदायमा भन्दा थारु समुदायमा ७० प्रतिशत थालेसिमियाका बिरामी भेटिएका छन ।
थालेसिमिया रोगका बिरामी नेपालमा हाल ६ सयको संख्यामा रहेको नेपाल थालेसिमिया सोसाइटीको आकडामा रहेको बताइएको छ । जसको एकिन तथ्यांक नभएपनी हाल सम्म सोसाइटीले ६ सय बढिको तथ्यांक संकलन गरेको वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर रोमा बोराले बताउनुभयो ।
त्यस्तै डाक्टर रोमा बोराले बाँके, बर्दिया, दाङ, सुर्खेत र कैलालीका आफुकहाँ सम्पर्कमा रहेका बिरामीको संख्या मात्रै ६० को हारहारीमा रहेको बताउनुभएको छ । जसमा बाँकेका तीन, सुर्खेत दुई, दाङ दुई, कैलाली दुई र अन्य बर्दियाका बिरामी रहेको बताउनुभयो ।
सिकलसेल एनिमिया रोगको जस्तै लक्षण र असर रहेको यो रोग अनुवांशिक रोग रहेको डाक्टर बोराले बताउनुयो । थारु समुदायमा अत्याधिक देखिएको सिकलसेल एनिमिया जस्तै थालेसिमिया पनि भेटिएका छन । थारु समुदाय बाहेक जनजाति, मधेसी तथा पहाडी समुदायका मानिसहरूमा समेत यो रोग देखिएको डाक्टर बोराको भनाई छ ।
शनिबार कान्ति आरोग्य क्लिनिक नेपालगन्जमा थालेसिमिया रोग सम्बन्धि निशुल्क चेकजाँच र स्वास्थ्य परिक्षण शिविरको आयोजना गर्दै डा.बोराले थालेसिमिया रोग एउटा जेनेटिक रोग भएको र यसको पुर्ण उपचार भन्दा रोकथाम गर्न जरुरी रहेको बताउनुभएको थियो । निशुल्क चेकजाँच र स्वास्थ्य परिक्षण शिविरमा ५० जतिले आफ्नो स्वास्थ जाँच गराएका थिए ।
डा. बोराले सिकलसेल जस्तै यो जन्मजात रोग भएकाले यसको लक्षणमा बच्चा एक बर्षको पुगेपछि सेतो देखिने, पेट सुन्निने, दूध नखाने जस्ता लक्षण देखिने बताउनुभयो । उहाँले यो रोग निर्मुल पार्ने उपचार भनेको बोनम्यारो ट्रान्सप्लान्ट नै रहेको बताउदै फेरि यसको सफलताको कुनै ग्यारेन्टी नहुने भएकाले साथमा उपचार खर्च पनि अत्याधिक महँगो रहेको उहाँको भनाई छ ।
यो रोग लागिसकेका बच्चाहरुलाई केही लामो अवधी सम्म जिवित राख्न हरेक महिना रगत चढाउनु पर्ने हुन्छ, भने जसको खर्च मासिक २० हजार देखि ५० हजार सम्म पर्न जाने देखिएको छ ।
सिकलसेल र थालसेमिया रोगका बारेमा चेतना मुलक कार्यक्रम गर्दे आएको सिकलसेल एनेमिया शोसाइटीले हाल बाँके, बर्दिया र दाङ्गका थारु समुदायको बाहुल्यता भएको गाउँमा पुगेर थारु समुदायमा रहेको सिकलसेललाई कसरी उन्मुलन गर्न सकिन्छ भनेर अभियान नै सन्चालन गरिरहेको सिकलसेल एनेमिया शोसाइटी, स्कास नेपालका अध्यक्ष प्रभुराम चौधरीले बताए ।
सिकलसेल रोगका बिरामिलाई राज्यले वार्षिक एक लाख रुपैयाँ उपचार खर्च ब्यहोर्दै आएको छ त्यसरी नै थालेसिमिया रोगका रोगिहरुलाई पनि सरकारले जिम्मा लिनुपर्ने सिकलसेल एनेमिया सोसाइटीका अध्यक्ष चौधरीले बताउनुभयो ।
उता प्रदेश सभासद कृष्णा केसि नमुनाले राप्तिसोनरी गाउँपालिका अन्तरगतका ४० बर्ष सम्मका गाउँपालिका बासिको सिकलसेल र थालेसिमिया रोगको परिक्षण यो आवमा गर्ने बताउनुभएको छ । प्रदेश पाँच सरकारले सिकलसेल रोग प्रभावीत जिल्लाहरुमा प्रत्येक बर्ष एक स्थानिय तहमा थारु समुदायको सिकलसेल चेकजाँच गर्ने योजना अनुरुप यो आवमा राप्तिसोनारी गाउँपालिकामा त्यसको चेकजाँच गरिने बताउनुभएको हो ।












