नेपालगन्ज : बाँके निर्वाचन क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार मोहम्मद इश्तियाक राईले देश बनाउने र देश खरानी बनाउनेबीचको भेद बुझ्न मतदाताहरूसमक्ष आग्रह गर्नुभएको छ। आज वडा नं २० मा आयोजित निर्वाचन केन्द्रित कार्यक्रममा उम्मेदवार राईले भदौ २४ गते देशका धरोहर र सरकारी संरचनाहरू जलाउनेलाई कहिल्यै माफी हुन नसक्ने भनाई राख्नुभयो।
‘म मैले यो-यो बनाएँ भनेर आउँदैछु। कोही देश खरानी बनाएँ भनेर आउँदैछन्। तपाइँ मतदाताहरू सचेत हुनुस्। दल र नेताहरूप्रति आक्रोश थियो भने आफैं फेरि किन दल खोलेर नेता बन्न आएको? सोध्नुस्’, एमालेका उम्मेदवार राईले भन्नुभयो, ‘नेताहरूसँगको आक्रोशको बदलामा सरकारी संरचना र धरोहर जलाउनेहरूलाई माफ गर्न सकिन्न।’
बाँकेमा मालपोत, राजश्व, भन्सार लगायतका सरकारी संरचना ध्वस्त पारिँदा गरिबले सबैभन्दा धेरै दुख पाइरहेको पनि राईले बताउनुभयो। ‘नगरपालिका, भन्सार, राजश्व कार्यालय अनि मालपोत लगायतका संरचना जलाइँदा अहिले सबैभन्दा धेरै गरिबहरूले दुख पाइरहेका छन्। लालपुर्जाको श्रेष्ता कायम गराउन ५ हजार रूपैयाँ तिर्नुपरिरहेको छ।’, राईले भन्नुभयो, ‘राजश्व उठाउने संरचनाहरू ध्वस्त पारेर देश चलाउन चाहिने पैसा कहाँबाट आउँछ?’
राईले वडा नं २० मा रहेका सुकुम्बासीहरूलाई लालपुर्जा दिने प्रक्रिया अघि बढेको र निर्वाचन लगत्तै त्यो पूरा हुने आश्वासन पनि दिनुभयो। नेपालगन्जको सबैभन्दा ठूलो वडा नं २० लाई राम्रो र सुविधायुक्त बनाउने प्रतिबद्धता जनाउनुभएका राईले नयाँ निर्माण गरिने भौतिक संरचनाहरूले स्थानीय स्तरमै रोजगारीको सृजना गर्नसक्ने गरी योजनाहरू अघि सार्न आफू तत्पर रहेको बताउनुभयो।
राईले आजै वडा नं २० का मतदाताहरूसँग घरघरै पुगेर भेटघाट पनि गर्नुभएको थियो।










