यति समूहले नियमविपरीत लुम्बिनी क्षेत्रमा होटल सञ्चालन

लुम्बिनीमा यतिलाई होटल र प्लट


लुम्बिनी:

यति समूहले नियमविपरीत लुम्बिनी क्षेत्रमा होटल सञ्चालन गरिरहेको छ ।

यहाँको सबैभन्दा पुरानो होटल होक्केको व्यवस्थापन चार वर्षयता यतिले गरिरहेको हो ।

लुम्बिनीकै विहार क्षेत्रमा समूहका दिवंगत अध्यक्ष आङछिरिङ शेर्पाको स्मृतिमा विहार बनाउन लागिएको छ ।

त्यसका लागि कोषले करिब चार बिघा जग्गा दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत जेठ ४ मा विहारको शिलान्याससमेत गरिसकेका छन् ।

कोषको विनियमावलीअनुसार जसले सञ्चालनका लागि सुरुमा सम्झौता गरेको छ, उसैले मात्र होटल चलाउन पाउँछ ।

कागजी रूपमा होटल सञ्चालनको जिम्मा होक्के क्लब अफ जापानसँग छ ।

व्यवस्थापन परिवर्तनबारे लुम्बिनी विकास कोषले अनभिज्ञता प्रकट गरेको छ । मध्य अवधिमा आएर सम्झौता हेरफेर नहुने कोषले जनाएको छ ।

व्यवस्थापन फेरिएको बारे कतै जानकारी नभए पनि होटलको वेबसाइटमा सम्पर्कका लागि यति कम्प्लेक्स काठमाडौं उल्लेख गरिएको छ ।

कर्मचारीका अनुसार प्रभावका आधारमा यति समूहले पुरानो र अत्याधुनिक जापानी परम्परागत शैलीका तीन र पश्चिमा शैलीका २४ कोठासहितको होक्के होटल सञ्चालन गरिरहेको हो ।

यतिले होटल सञ्चालन गर्दै आएको जानकारी लुम्बिनी विकास कोषलाई नरहेको निमित्त सदस्य सचिव सरोज भट्टराईले बताए ।

यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया