बाँके ३ नेकपाका उम्मेदवार जिएमले सार्वजनिक गरे सङ्कल्प पत्र

नेपालगन्ज : बाँके निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार दीपक जिएमले समृद्धि, सुशासन र सामाजिक न्यायलाई केन्द्रमा राख्दै आफ्नो विस्तृत सङ्कल्प पत्र सार्वजनिक गरेका छन् । 

निर्वाचन परिचालन समितिका संयोजक राजकुमार विकको अध्यक्षतामा खजुरा गाउँपालिका–१ स्थित पुरानो गोदावरी कटेजमा आइतबार आयोजित कार्यक्रममा उक्त सङ्कल्प पत्र सार्वजनिक गरिएको हो ।

पत्रकारहरूमाझ सार्वजनिक गरिएको सङ्कल्प पत्रमा क्षेत्र नं. ३ को समग्र विकासका लागि स्पष्ट कार्यदिशा प्रस्तुत गरिएको छ । सङ्कल्प पत्रमा पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै सडक, खानेपानी, सिँचाइ, विद्युत्, शिक्षा र स्वास्थ्य सेवामा गुणात्मक सुधार गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । ग्रामीण र सहरी क्षेत्रबिच सन्तुलित विकास सुनिश्चित गर्दै दीर्घकालीन योजनामार्फत क्षेत्रको मुहार फेर्ने लक्ष्य राखिएको उल्लेख छ ।
शिक्षा र स्वास्थ्य क्षेत्र सुधारलाई विशेष प्राथमिकता दिँदै सामुदायिक विद्यालयहरूको स्तर अभिवृद्धि, प्राविधिक शिक्षाको विस्तार तथा सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने योजना समेटिएको छ । आर्थिक विकासअन्तर्गत कृषि क्षेत्रको आधुनिकीकरण, उन्नत बिउ र प्रविधिको प्रयोग, पशुपालन तथा कृषि आधारित उद्योगको स्थापना गरी रोजगारी सिर्जना गर्ने लक्ष्य लिइएको जनाइएको छ । युवालाई सीपमूलक तालिम र स्वरोजगारका अवसर प्रदान गरिने प्रतिबद्धता गरिएको छ ।

त्यस्तै बाँके क्षेत्र नम्बर ३ मा एमालेका तर्फबाट सुमन मल्ल, नेपाली कांग्रेसबाट अमर सिंह पुन र रास्वपाबाट खगेन्द्र सुनार प्रतिस्पर्धामा छन् ।
प्रमिख दलका चार उम्मेदवार बीच रोचक प्रतिस्पर्धामा देखिने आकलन गरिन थालेको छ भने कांग्रेसका पुन र रास्वपाका सुनार आगन्तुक उम्मेदवार हुन । चार प्रमुख दलको चुनावी अभियान तिब्र पारिरहेका छन् भने प्रमुख चार दलका उम्मेदवार बीच नै प्रतिस्पर्धा हुने देखिएको छ ।

प्रतिक्रिया