सरकारले आठौं चरणको लकडाउन जेठ ३२ गतेसम्म थप गरेको छ । लकडाउनमा सबै गतिविधि ठप्प हुन्छ । तर, निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) ले जेठ २१ गतेदेखि विद्यार्थी भर्ना प्रक्रिया थाल्ने भएको छ ।
प्याब्सनका अध्यक्ष टीकाराम पुरीले बुधबारदेखि निजी विद्यालयको प्रशासन खुल्ने जानकारी दिएका छन् । जनता टेलिभिजनमा आइतबार बिहान अन्तर्वार्ता दिँदै उनले भर्चुअल कक्षा सञ्चालनका लागि पनि विद्यालय खुल्ने बताएका छन् ।
सरकारले लकडाउन थप गरे पनि अलि खुकुलो पार्नकै लागि मन्त्रिपरिषद्ले उच्चस्तरीय समन्वय समितिलाई जिम्मेवारी दिएको उनको भनाइ छ ।‘सरकारले बजेटमै भर्चुअल कक्षा लिनका लागि तयारी थाल्ने उल्लेख गरिएको छ । त्यसैले हामीले जेठ २१ गतेदेखि स्कुल प्रशासन खोल्न पाउनुपर्छ भनेर सरकारलाई आग्रह गरेका छौं,’ उनले भने ।
सरकारले नीति तथा कार्यक्रममै कोरोना १९ संक्रमण रोक्न आवश्यक सावधानी अपनाउदै विद्यालयको पठनपाठन क्रमशः शुरु गर्दै जाने उल्लेख गरे अनुसार निजी विद्यालयले भर्ना प्रक्रिया सुरु गर्न लागेको उनले बताए ।
देशभरका अधिकांश सामुदायिक विद्यालयलाई क्वारेन्टाइनका रुपमा प्रयोग गरिएको हुनाले सामुदायिक विद्यालय भने कहिले खुल्छन भन्ने टुंगो लागेको छैन । दैनिक कोरोना संक्रमितको संख्या बढिरहेकाले पनि अभिभावकहरू अझै चिन्तामा छन् । प्याब्सन र एनप्याब्सनले अनलाइनको माध्यमबाट नयाँ भर्ना लिने र अनलाइन कक्षा लिने तयारी भएको छ ।










