काठमाडौं । सरोकारवालाहरुले कोरोनाभाइरसका कारण तत्काल विद्यालय खोल्न नसकिने सम्बन्धित् निकायलाई जानकारी गराएका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेश नेपाल (प्याब्सन), राष्ट्रिय निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (एनप्याब्सन), उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) र नेपाल शिक्षक महासंघसँगका प्रतिनिधिले बिहीबार कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति, शिक्षामन्त्री गिरिराजमणि पोखरेल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई तत्काल विद्यालय खोल्न नसकिने जानकारी गराएका हुन् ।
उच्चस्तरीय समितिका संयोजक तथा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले राखेको छलफलमा सहभागी भएका उनीहरुले तत्काल विद्यालय खोल्न नसकिने भएकाले वैकल्पिक उपाय अपनाएर पठनपाठनलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।
विद्यालय भवनलाई नै क्वारेन्टान बनाएकाले तत्काल विद्यालय खोन नसकिने भन्दै उनीहरुले असारदेखि दूर शिक्षा नै लागू गर्नुपर्नेमा जोड दिए । शिक्षा मन्त्रालयले असारदेखि दूर शिक्षा सञ्चालन गर्न ‘वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाई सहजीकरण गर्नेसम्बन्धी निर्देशिका’ जारी गरिसकेको छ ।
विद्यालय ठप्प हुँदा शिक्षक, कर्मचारीको तलब व्यवस्थापन, भवन भाडा तिर्न समस्या परेको पनि उनीहरुले सरकारलाई जानकारी गराएका छन् ।










