सुमन घिमिरे : युवाहरुको राजनीतिप्रतिको चरम निराशा काठमाडौंको सडकमा पोखिएको थियो ।लामो समयपछि काठमाडौं सडकमा यस्तो नारा लागिरहेको थियो । कोरोनाका कहरकाबीचमा पनि उल्लेखनीय मात्रामा युवाहरु सडकमा निस्किएका थिए ।
नेपाली राजनितीबाट सबैभन्दा असन्तुष्ट कोही छ भने त्यो युवा वर्ग नै हो । मुलुकमा रोजगारीको पर्याप्त अवसर छैनन्। कलेजको डिग्री हातमा छ तर त्यस्लाई सिरानिमा च्यापेर सुत्नुपर्ने अवस्था छ । विश्वविद्यालयहरु पनि आफ्नै तालमा छन् । सैद्धान्तिक शिक्षामा मात्र धुल्मिलएका विश्वविद्यालयबाट निस्केका जनशक्तिले बजारमा रोजगार पाउने अवस्था छैन ।
शिक्षा ,स्वास्थमा पनि अवस्था त्यस्तै छ । सबै क्षेत्रबाट युवापुस्ता निराश देखिन्छ । त्यहीँ निराशाको एउटा स्वरुप काठमाडौंको सडकमा देखिएको हो । यो मात्र केपी ओली वा कम्युनिस्ट सरकारको विरुद्द होइन , सिङ्गो राज्य र सिस्टम विरुद्द हो । जस्ले युवापुस्तालाई निरन्तर अपमान र अपहेलित गरिरह्यो ।
नेपालको राजनीति नातावाद , कृपावाद , परिवारवादबाट ग्रसित छ । योबाट माथी उठ्न सकिरहेको छैन । एउटा युवा कार्यकर्ता नेताको झोला बोकेर प्रचार गरेर उस्को पछि पछि हिड्न योग्य हुन्छ तर कहिल्यै नेतृत्व गर्न योग्य हुदैन । चाहे काङ्ग्रेस होस या कम्युनिस्ट युवाहरुलाई मात्र प्रयोग गरिरहेका छन । उस्लाई न अवसर छ न कुनै स्थान ।
भोलि पासपोर्ट बनाउन , नागरिकता बनाउन , केटि जिस्काएर पुलिस चौकी पुगेको छोरा छुटाउन , हेलमेट नलगाएर बाइक कुदाउँदा ट्राफिकले हेलमेट लगेपछि छुट्टाउन , भाइले गाँजा या लागू औषधमा पक्राउ परेपछि छुटाउन , कलेजमा भर्ना गर्न , घर पालेको बाख्रा फर्मको लागि अनुदान पार्न नेतालाई जबसम्म हामी भनिरहन्छौँ नि तबसम्म सडकमा “enough is enough” भनेर मात्र केही हुदैन । सुध्रिनु हामीलाई पनि छ । हामी सुध्रे नेता सुध्रिन्छन । नेता सुध्रिए देश बन्छ।










