छिमेकीको छोरी ‘संगीता’

दिनभरिको अफिसको कामले थकित ज्यान, त्यसैमा नेपालगन्जको गर्मी, कोठामा आउने बित्तिकै पंखा अन गर्दै बेडमा पल्टिएँ, ड्रेस नै नबदलेर । पंखाको हावाले मेरो शरीरको पसिना नओभाउँदै बत्ती गयो, झ्याप्प !

पंखाको हावाले केही शितल महसुस गरिरहेको मेरो शरीरमा पुनः सुरु भयो पसिना आउन । त्यतिकैमा दिमागमा सोच आयो, घरको छतमा गएर प्राकृतिक हावा खाने । ड्रेस बदलेर, एयरफोन र मोबाइल हातमा लिँदै म पनि लागेँ छततिर ।

जब छततिर पुगेँ, त्यहाँको माहोल नै फरक थियो । साँझको समय, अस्ताइसकेको घाम, अनि सिरसिर चलेको सुगन्धित चिसो हावा। हावासँगै केही फुलहरुको बास्ना , त्यतिबेला मेरो मनले सोच्यो, ‘आहा ! क्या दामी चिसो हावा, साँच्चै नेचुरल हावा भनेको नेचरल नै हो । त्यो पंखाको हावा भन्दा त कयौं गुणा चिसो छ यो हावा।’ त्यो चिसो हावाले दिनभरीको मेरो थकान मेटाइदियो।

प्राय वल्लो- पल्लो घरका भाडामा बस्नेहरू छतमै देखिए, साँझको समयमा। मेरो जस्तै कोठामा बत्ती गएको भएर होला सायद उनीहरू पनि हावा खान छतमा निस्केका। प्राय उनीहरू आफ्नै सुरमा थिए। कोही मोबाइलमा एयरफोन हालेर गीत सुन्दै थिए, कोही मोबाइलमा भिडियो हेर्दै थिए , कोही एकआपसमा गफ गर्दै थिए, कोही फेसबुकमा व्यस्त देखिन्थे त कोही मोबाइलमा कसैसँग कुरा गर्दै।

म पनि यता हातमा भएको एयरफोनलाई मोबाइलमा हालेर एउटा लभसङ सुन्न के सुरु गरेको थिएँ, त्यतिकैमा कसैले कसैलाई बोलाएको एउटा आवाज सुनियो। आवाजमा भनिएको थियो, ‘ओइ संगीता सुन न, उ त्यो आकाशलाई हेर्न कति सुन्दर छ है, मोबाइल देन छिटो एउटा टिकटक भिडियो बनाम।’ झट्ट त्यो आवाज सुन्ने बित्तिकै मेरो दिमाग केन्द्रित भयो आवाजमा बोलाइएको नामतिर, त्यही नाम संगीता।

जब ‘संगीता’ नाम सुनेँ, मलाई एक्कासी सम्झना आयो, एकदम याद आयो, वहुत माया लागेर आयो। उसैको तस्वीर आँखामा झलझली देखिन थाल्यो। अरु कोही नभएर, ऊ थिइ मेरो बाल्यकालको दौँतरी । अझ भनौँ बाल्यकालमा मेरो घर नजिकैको छिमेकीको छोरी ‘संगीता’। आजभन्दा १६ वर्ष अगाडी उसको र मेरो घर संगै थियो। मेरो घरको आँगन र उसको घरको आँगन जोडिएको थियो। मेरो परिवारको लागि उसको परिवार असल छिमेकी थियो भने उसको परिवारको लागि पनि मेरो परिवार असल छिमेकी थियो। उसको परिवार र मेरो परिवार खुब मिल्थ्यो, दु:ख सुख पर्दा एकअर्काको परिवारले सहयोग पनि गर्थ्यो।

मिलेको दुई परिवारमा पनि उ र म अर्थात संगीता र म असाध्यै मिल्थ्यौँ । संगीता र मेरो उमेर एउटै एउटै भएर होला, हामी कक्षा १ बाटै संगै पढ्न सुरु गरेका थियौँ। कक्षामा उ म भन्दा अलि जान्ने थिइ, जसले गर्दा नजानेको कुरा उसैबाट सिक्न मलाई एकदम सजिलो हुन्थ्यो। प्राय हामीसँगै हुन्थ्यौँ, घरमा खेल्दा, स्कुल जाँदा , स्कुलमा नास्ता खाँदा होस् या त स्कुल छुट्टी भइसकेपछि घर फर्किँदा होस् । हामी लगभग संगै हुने गर्थ्यौँ । उ परिवारकी कान्छी छोरी, यता म पनि परिवारको कान्छो छोरो। दुबैजना परिवारको कान्छो भएका कारण हामीले घरमा असाध्यै माया पाउँथ्यौँ।

बेलाबेला दुबै परिवारका सदस्यहरुबीच रात्रीकालिन भोजको आयोजना हुन्थ्यो। त्यसबेला सबैभन्दा बढी खुसी संगीता र म हुन्थौँ। हामीलाई दशै तिहार आएको जस्तो महसुस हुन्थ्यो त्यो बेला । एकसाँझ दुबै परिवारका सदस्य संगै बसेको बेला उसको बुबाले हाम्रो पढाइको बारेमा जान्ने इच्छा गर्नुभयो। त्यतिबेला हामी दुबैजना ४ कक्षामा पढ्थ्यौं। उसको बुबाले हामी दुबैजना तिर नजर तेर्स्यौँदै सोध्नुभयो,’कस्तो चल्दै छ तिमीहरूको पढाइ हँ ?’ मैले राम्रै चल्दैछ के भन्न थालेको थिएँ संगीताले प्वाक्क भनिहाली ‘संगमले त आज सरको हातबाट पिटाइ खायो।’ यत्ती सुन्ने बित्तिकै मेरो बुवाले रिसाह नजर म तिर लगाउँदै गालि गर्न थाल्नुभयो। मैले स्कुलमा पिटाइ खानुको कारण सोध्नुभयो बुवाले । नेपाली विषयको होमवर्क गर्न भुलेर मैले त्यसदिन स्कुलमा पिटाइ खाएको कुरा दुबै परिवारमा थाहा भयो। एकचोटिलाई माफी दिनुन त भन्दै आमाले बुवालाई सम्झाउनुभयो। अबदेखि राम्रोसँग पढ्ने बाचा गरेँ मैले बुवासँग।

स्कुलमा सरको हातबाट पिटाइ खाएको र बुवाले गालि गर्नुभएको कारण त्यो रात मलाई एकदम नरमाइलो लाग्यो। आफ्नो बेइज्जत महसुस गरेँ, अनि मनमनै गाली गर्दै साह्रै रिस उठ्यो संगीतादेखि । असाध्यै मिल्ने साथीका कारण आफुले गाली खानु परेकोले मन दुख्यो। मनमनै उसको बिगार्ने नाम लिएर भनेँ, ‘पख मुसी अबदेखि तलाई केही सहयोग गर्दिन, तँ संग अब कहिल्यै बोल्दिन, स्कुलमा पनि कसैले पिट्यो भने केही वास्ता गर्दैन। पढाइको बारेमा सोध्दा मैले राम्रै छ भन्नै लाग्दा त्यसलाई जाने पल्टिएर संगमले सरको हातबाट पिटाइ खायो भनेर किन भन्नू पर्या होला।’ त्यो रात यस्तै यस्तै मनमा कुरा खेल्दै र उसँग रिस उठ्दै बित्यो।

भोलिपल्ट बिहानै उ मेरो घर आइ। त्यसदिन शनिबार परेकोले म बाहेक मेरो परिवारका सबैजना खेतमा काम गर्न जानुभयो। घर हेर्ने र स्कुलको होमवर्क गर्ने भनेर घरमै बसेको थिएँ म। म नजिक आउँदै उसले सुरुमै भन्न थाली सरी संगम, मेरो कारणले तिमीले गाली खानु पर्‍यो । उसको मुखबाट फ्याट्ट निस्किहाल्यो, अबदेखि त्यसो गर्दिन ल। नरिसाउन, बरु आउ मैले खाजा ल्याएको छु खाम भनेर। तर मलाई उ देखि एकदम रिस उठेको थियो। म केही नबोली बसेँ, उ झनै मेरो नजिक आइ कान समातेर निन्याउँरो मुख बनाउँदै सरी भनी। मलाई उसको चेहेरा देखेर एकदम माया लाग्यो। एकाएक उ प्रतिको मेरो रिस हराएर गयो। मैले पनि मुसुक्क हाँस्दै भने ‘ल ल सरी भन्नू पर्दैन।’ त्यसपछि आफुले ल्याएको खाजा निकाल्दै उसले मलाई खुवाइदिइ अनि मैले पनि उसलाई खुवाइदिएँ।

यसरी हाम्रो रमणीय बाल्यकाल बितिरहेको थियो। दुई छिमेकीको सम्बन्ध संगै संगीता र मेरो सम्बन्ध पनि प्रगाढ बन्दै गयो। नाम जस्तै संगीता सुशील थिइ, सुन्दरी थिइ अनि पढाइमा तिक्ष्ण पनि । नाम नै संगीता भएकोले संगीतजस्तै सधै गुनगुनाइ रहँ जस्तै लाग्थ्यो मलाई ऊ। स्कुलमा त म उसको बडिगार्ड जस्तै भएको थिएँ। उसलाई कसैले नराम्रो भनेको म सुन्न सक्दिन थेँ। उसलाई कसैले केही भन्यो कि म प्रतिकार गरिहाल्थेँ। उसले पनि ज्ञानी बनेर सबैसँग मिल्नु पर्छ भनेर बेला बेला सम्झाउँथी मलाई।

पढाइमा टपर भएपनि सानैदेखि भविष्यमा गएर कलाकार बन्ने लक्ष्य थियो उसको। जसका कारण खेलहरु मध्ये नाटक गरेर खेलिने खेल मन पर्थ्यो उसलाई। कक्षाको होमवर्क गरिसकेपछि घरमा हामी दिनहुँजसो संगै खेल्ने गर्थ्यौँ। घरमा प्राय अभिनयवाला खेल खेल्थ्यौँ। धेरैजसो हामी श्रीमान श्रीमती भएर खेल्ने वाला खेल खेल्थ्यौँ। यसरी दिनहुँजसो संगै भइरहँदा, संगै खेलिरहँदा छिमेकीको छोरी भन्दापनि मलाई ऊ प्रेमीका जस्तै लाग्न थाल्यो। किन हो किन उसको असाध्यै माया लाग्थ्यो, सधैभरी उसको हेरचाह गरिराखुँ जस्तो लाग्थ्यो।

एकदिन स्कुल छुट्टीपछि घरमा आएर खाजा खाइ, खेल्ने क्रममा उसलाई आफ्नो मनको कुरा भन्ने निर्णय गरेँ। जतिबेला हामी ६ कक्षामा पढ्थ्यौँ। अलिअलि बुझ्ने बझ्ने भइसकेका थियौँ हामी। खेल्ने क्रममै मैले उसलाई भनेँ,’आइ लभ यू संगीता’ भनेर ! उसले आफ्नो नजर भुइँतिर लगाउँदै नाजवाफ भएर दौडिदै आफ्नो घर गई। मेरो भनाइको कुनै जवाफ नदिएर उ जाँदा यता मेरो मनमा भने अनेक कुराहरू खेल्न थाले, के उसलाई मेरो कुराले चित्त दुख्यो होला त? के मैले जस्तै उसले पनि मलाई मन पराउँदिन त? यस्तै यस्तै। त्यो रात त्यतिकै बित्यो।

अर्कोदिन उ अरु दिन जस्तो बिहान संगै होमवर्क गर्न आइन, संगै खाजा खाना आइन। म नजाँदा सम्म स्कुल नजाने उ त्यो दिन म भन्दा अगाडी गईसकी छ। मैले सोचेँ उसलाई मेरो कुराले चित्त दुख्यो। त्यसदिन कक्षामा पनि उ मसंग बोलिन। मलाई पनि डर लागेर बोलाउन सकिन उसलाई । इन्टरभल भयो, म बाहिर गएँ तर उ गइन। उ र म नबोलेको देख्दा कक्षाका अरु साथीले झगडा पर्‍यो कि भन्ने आँकलन गर्न थाले।

जब म इन्टरभलपछि कक्षामा गएँ, मेरो कापीकोबीचमा एउटा पाना देखेँ। पानामा लेखिएको थियो, ‘म पनि तिमीलाई धेरै माया गर्छु है’ भनेर। यो पढ्नासाथ मैले आफ्नो नजर संगीतातिर लगाएँ, उसले पनि मै तिर हेरिरहेकि रहिछ, मैले हेर्ने बित्तिकै लजाएर उ अर्कोतिर फर्किइ। म एकदम खुसीले गदगद भएँ, किनकी मैले जस्तै संगीताले पनि मलाई माया गर्दि रहिछ भनेर प्रष्ट भयो। त्यसदिन संगीता र म अन्यदिन भन्दा खुसीले हात समाउँदै, गफ गर्दै घर फर्कियौँ। यसरी बिस्तारै छिमेकीको छोरी संगीताप्रतिको माया आकाशिँदै गएको थियो मेरो मनमा।

यता घरमा भने कहिलेकाहीँ बुवाले दाजु बहिनी मिलेर पढ्नु पर्छ है भन्दा मेरो मन खिन्न हुन्थ्यो। किनकी उ मेरो बहिनी भन्दापनि प्रेमिका भइसकेकी थिइ। यसरी दुई छिमेकीको सम्बन्ध राम्रै चलिरहेको थियो। तर एकदिन उसको बुवा र मेरो बुवाबीच जग्गा सिमानाको बारेमा एकदम ठूलो भनाभन भयो। उसको र हाम्रो खेत संगै भएकाले खेतको सिमानाको बारेमा ठूलो झगडा भयो। पछि संगीताको घर जाने बाटोमा उसको बुवाले पर्खाल लगाउनुभयो। दुई परिवारको प्रगाढ सम्बन्ध भताभुङ्ग भयो। दुई परिवारबीच आवातजावत बन्द भयो, मलाई उसको घर जान रोक लगाइयो, उसलाई पनि मेरो घर जान।

हुँदाहुँदा मेरो बुवाले स्कुल पनि बदलिदिनु भयो। यस्तो हुँदा सबैभन्दा बढी दुखी संगीता र म भयौँ। म घरमा भेट, न स्कुलमा भेटघाट । यसरी अमिलो मन पारेर एक महिना बित्यो। एक महिनापछि उसको र मेरो घरमा कोही नभएको मौका छोपी पर्खाल नाँघेर म उसको घर गएँ। उसंग १० मिनेट जति कुरा गर्यौँ।
उनीहरू छिट्टै बसाई सरी अन्यत्र जान लागेको कुरा सुनाई उसले। मेरो मन अमिलो भयो, उसले आँखाबाट आँसु झार्दै कहिल्यै नभुल्ने बाचा गरि। मैले पनि सधै माया गर्ने र सम्झिरहने बाचा गरेँ। त्यसपछि पुनः हतार हतार म आफ्नो घर फर्किएँ।

अन्ततः दुई छिमीकीको झगडा भएको एक महिनापछि उनीहरु बसाई सरी अन्यत्र ठाउँ गएँ। म एकदम रोएँ। आंगनको बीचमा ठूलो पर्खाल लगाएको भएर उनीहरू जाँन लागेको मैले देख्न पाइँन। म एकदम दुखी भएँ, मनले सोच्यो एउटा असल छिमेकी टाढिई, एउटा असक साथी टाढिइ, अझ मेरो त भरखर भरखर मौलाउन लागेको माया टाढिइ। हरेक दिन उसको याद आउन थाल्यो, म टोलाएको देखेर आमाले अर्को साथी पाइहाल्छस नी भनेर सम्झाउनु हुन्थ्यो। यसरी छिमेकीको छोरी अर्थात मेरो प्रेमीका साथी टाढिएको त्यो पल सम्झिँदा अझैँ पनि मन पिरोलिन्छ, मन भक्कानिन्छ। किनकी उमेर सानै भएपनि हामी दुबैजना मायाको आभास बुझ्न सक्ने भईसकेका थियौँ त्योबेला।

त्यो बेला न हामीसँग मोबाईल थियो न, फेसबुक नै। यदि मोबाइल हुन्थ्यो भने यतिका दिनसम्म टाढिएर बस्नु पर्ने थिएन। थाहा छैन अहिले पृथ्वीको कुन कुनामा छे तर पनि अझैँ माया लाग्छ उसको। झलझली याद आउँछ उसको।

साँच्चै त्यो बेला क्या क्यूट, क्या सुन्दरी अनि अप्सरा जस्तै लाग्थ्यो मलाई ऊ । उसंग बिताएका बाल्यकालका हरेक क्षण यादगार छन् मेरो जीवनमा। बाल्यकालमा जति माया थियो, अहिले पनि सम्झिँदा उत्तिकै माया लाग्छ उसको। पारिवारिक विवादले टाढिनु पर्दाको त्यो पिडाले बेलाबेला मन बिझाउने गर्छ। मैले फेसबुक चलाउन थालेदेखि आजसम्म दिनहुँजसो फेसबुकमा उसैको नाम लेखेर सर्च गर्छु, अहँ भेटाउन सकेको छैन !

यसो कहिलेकाहीँ सोच्ने गर्छु, ‘बाल्यकालमै त्यति क्यूट संगीता अहिले कस्ति भएकी होला, के गर्छे होला, आफ्नो पढाई कहाँसम्म पुर्‍याई होला, आजभोलि कसैको माया परेकी छ कि छैन होला ‘ यस्तै यस्तै भनेर। भन्छन् पृथ्वी गोलो छ एक न एकदिन भेट हुन्छ भनेर। म यहीँ आशाले बाँचिरहेको छु, आशा छ तिमी जहाँ भएपनि संगीता एकदिन हाम्रो भेट हुनेछ, फेरि बाल्यकालमा रोकिएको हाम्रो बाल्यप्रेमलाई निरन्तरता दिँदै युवा अनि बृद्धअबश्था सम्म पुर्याउने छौँ। जहाँ छौ “लभ यू एण्ड मिस यू संगीता”

प्रतिक्रिया