नेपालगन्ज :राँझास्थित आदर्श माविको जग्गामा बसोवास गरिरहेका सुकुम्वासीहरुलाई स्थानान्तरण गरिएपछि जग्गाको किचलो सदाका लागि साम्य भएको छ । सम्वाद समूह, बाँकेको निरन्तर सम्वाद प्रक्रिया र वडा न २० वडा समिति कार्यालयको अग्रसरतापछि डेढ दशक अघिदेखिको बसोबासको किचलो अन्त्य भएको हो ।
विद्यालयको नेपालगञ्ज–२० गायत्रीनगरस्थित ३ बिघा ७ कठ्ठा १४ धुर जग्गामा वर्षौदेखि सुकुम्बासी÷भूमीहिनका नाममा ८४ घरपरिवारले कब्जा गरी घर टहरा बनाएर बसेका थिए । २५ घर परिवार गत वर्ष नै उत्तर (नाली किनार)तर्फ सरेपनि बाँकी घरपरिवारलाई वडा कार्यालयले क्रमीक रुपमा व्यवस्थापन गरेको हो । विद्यालयको अतिक्रमित जग्गा अहिले खाली गरिसकिएको छ भने अधिकांस परिवारले अन्यत्र घर बनाएर बसीसकेका छन् ।
वडाकै सहमतीमा यसपाली विद्यालयको पश्चिमतर्फ १५, दक्षिणतर्फ १६ घरपरिवारलाई ऐलानी र नाली किनारको जग्गामा घर बनाउन दिइएको हो । सम्वाद समूह, बाँकेको सहजीकरणमा गत वर्ष जेठ २ गते सुकुम्वासी÷भूमिहिन, विद्यालय र वडा कार्यालयबीच बास्तविक सुकुम्वासीलाई विद्यालय र नाला वरिपरिको ऐलानी जमीनमा स्थानान्तरण गर्ने सहमती गरिएपछि व्यवस्थापन प्रक्रिया शुरु भएको थियो ।
अतिक्रमित जग्गा खाली गर्न गरिएको वडा र विद्यालयको हर प्रयास असफल भएपछि सम्वाद समूह, बाँकेले दुई वर्षदेखि सरोकार पक्षसँग सम्वाद सहजीकरण गर्दै आइरहेको थियो । गृह मन्त्रालयले गत मंसीरमा विद्यालयको जग्गा खाली गर्न प्रशासनलाई परिपत्र गरेपछि थप दबाब बढेको थियो । वडा कार्यालयले ३१ घरपरिवारलाई ५०÷५० हजारका दरले घर स्थानान्तरणका लागि सहयोग गरेको थियो भने सरकारका तर्फबाट सुरक्षित आवास कार्यक्रम अन्तर्गत २३ जनालाई ५०÷५० हजार उपलव्ध गराइएको थियो ।

यस अघि नेपालगञ्ज उपहानगरपालिकाद्धारा कार्यपालिका सदस्य देउमल सुनारको संयोजकत्वमा गठीत अध्यन समितीले ४४ घरपरिवार वास्तविक सुकुम्वासी रहेको ठहर गरेको थियो तथापी अपांग, नागरिकता समेत नभएका गरि थप घरपरिवारलाई पनि व्यवस्थापन गर्नु पर्ने सुझाएको थियो । गायत्री नगरमा कक्षा ९ देखि १२ सम्म पढाई संचालन भइरहेपनि बस्तीकै कारण हो हल्ला हुने, पढाईमा बाधा पुग्ने लगायतका समस्याहरु झेल्नु परिरहेको थियो ।
राँझा चौकमा रहेको आदर्श माध्यमिक विद्यालयको भवन नेपालगञ्ज नागरिक उड्डयन प्राधिकरण नेपालगञ्ज विमानस्थल कार्यालयले अधिग्रहण गर्ने भएपछि गायत्रीनगरमा सर्नु पर्ने बाध्यात्मक स्थिती रहेको थियो । वडा न २० का वडा अध्यक्ष कृष्णबहादुर कार्कीले निरन्तरको सम्वादबाट विद्यालयले आफनो जग्गा र सुकुम्वासीले बास पाएकोमा खुसी भएको बताए ।
विद्यालय र वस्ती व्यवस्थापनका लागि वडाबाट अहिले सम्म करिव ५० लाख खर्च गरिसकिएको उनी बताउँछन्। बस्ती व्यवस्थापनको काम सकीएपनि बाटो, नाली निर्माण, खानेपानी लगायतका काम अझैं जारी रहेको कार्कीको भनाई थियो ।
विद्यालयका प्राचार्य प्रकाश आचार्यले वस्ती व्यवस्थापनको अथक प्रयास सफल भएकोमा खुसी प्रकट गर्दै विद्यालयको समग्र विकासमा थप योजनासहित अघि बढ्ने जिम्मेवारी बढेको बताए । २००९ सालदेखि स्थानीय अगुवा राम मिलन बर्मा लगायतले घरगोठमै सञ्चालन गर्दै आएको विद्यालय २०१६ सालदेखि आदर्श जनता प्राइमरी स्कुलका नाममा छ ।










