सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले अनलाइन परीक्षा लिने, स्थगित परीक्षाहरु असोज १२ बाट

सुदूरपश्चिमाञ्चल विश्वविद्यायलले स्नातक र स्नातकोत्तर तहको परीक्षा अनलाइनबाट लिने तयारी गरेको छ । स्नातक तथा स्नातकोत्तर तहको नियमित तर्फका परीक्षा वैकल्पिक विधिबाट सञ्चालन गर्ने तयारी भइरहेको विश्वविद्यायलयका उपकुलपति प्रा डा अम्मराज जोशीले जानकारी दिए ।

उनका अनुसार यसअघि स्थगित भएका परीक्षाहरू आगामी असोज १२ गतेदेखि सञ्चालन हुने तयारी छ । “कोरोना कहर त्यति छिट्टै सकिने अवस्था देखिँदैन”, उपकुलपति जोशीले भने, “शैक्षिक गतिविधिलाई स्वास्थ्य सर्तकता अपनाएर अघि बढाउने तयारीमा छौं ।” उनले आगामी असोजदेखि सञ्चालन गर्ने परीक्षाका लागि कार्यविधिसमेत पास भइसकेको जानकारी दिए ।

“यहाँका १४ वटै आङ्गिक क्याम्पससित परीक्षा सञ्चालनका लागि छलफल गरेर लिखित पत्राचार भइसकेको छ”, जोशीले भने , “सोही अनुसार विद्यार्थीलाई पनि जानकारी भइरहेको छ ।”

विश्वविद्यालयले अनलाइन परीक्षामा सहभागी हुन इन्टरनेट समस्या भएका विद्यार्थीका लागि ‘आइसिटी सेन्टर’को स्थापना गर्ने जनाएको छ । “परीक्षाका लागि इन्टरनेटको पहुँच बढाउन नेपाल टेलिकमसँग छलफल भएको छ”, उनले भने, “विश्वविद्यालयका हरेक गतिविधि वेवसाइडमा राख्ने काम हुन्छ ।” त्यसैगरी विश्वविद्यालयले वैकल्पिक माध्यमबाट परीक्षा सञ्चालन, व्यवस्थापन तथा मूल्याङ्कन सम्बन्धी निर्देशिका, २०७७ जारी गरेको छ ।

त्यस्तै अनलाइन परीक्षाका लागि विश्वविद्यालयले सिकाइ व्यवस्थापन प्रणाली नामक सफ्टवेयरसमेत निर्माण गरिएको जनाएको छ । सफ्टवेयरमार्फत परीक्षार्थीलाई व्यक्तिगत इमेलमा प्रश्नपत्र पठाइने छ । परीक्षार्थीले तोकिएको समय अवधिभित्र उत्तरपुस्तीका स्क्यान गरी इमेलमार्फत परीक्षा नियन्त्रण कार्यालयलाई पठाउनुपर्नेछ ।  

 

प्रतिक्रिया

रिपोर्टिङ गर्दागर्दै कोरोना संक्रमित बन्न पुगेका पत्रकार यस्तो भन्छन