‘रुम टु रिड’ बाँकेले मनायो भर्चुअल विधिबाट अन्तर्राष्ट्रिय साक्षरता दिवस

नेपालगन्ज : आज सेप्टेम्बर ८ अर्थात अन्तर्राष्ट्रिय साक्षरता दिवस । हरेक वर्ष झैं नेपाल लगायत धेरै देशहरुमा विभिन्न कार्यक्रम गरि अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइएको छ।

यसैबीच ‘रुम टु रिड’ बाँकेले पनि यस् वर्ष भर्चुअल विधि एवम् रेडियो माध्यमबाट अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाएको छ। करिव एक हप्ता अघिदेखि संचालित उक्त दिवस आज सम्पन्न गरिएको हो।

कोरोना भाइरस अनि त्यसपछि भएको लकडाउनका कारण विद्यालय जान नपाएका बालबालिकाहरुको प्रतिभा प्रस्फुटन एवं शिक्षासँग सम्वन्धित व्यक्तित्वहरुको शुभकामनाहरुलाई जोड्ने उद्देश्यका साथ भर्चुअल विधि अनि रेडियोको माध्यमबाट यस् वर्षको अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइएको रुम टु रिड बाँकेले जनाएको छ।

भर्चुअल विधिबाटै बालबालिकाका अभिभावकसंग अन्तरक्रिया गरिएको थियो। गत वर्ष मनाइएको साक्षरता दिवस भन्दा यस् वर्ष बेग्लै तरिकाको थियो। यसको कारण हो, त्यही कोभिड १९ अर्थात कोरोना भाइरस । प्रत्येक विधालयमा गएर मनाउने वातावरण नभएतापनि अनलाइन माध्यमबाट बालबालिका एवम् अभिभावकसंग अन्तरक्रिया गर्दा बेग्लै अनुभव भएको पनि रुम टु रिड संस्थाले जनाएको छ।

त्यस्तै, अन्तर्राष्ट्रिय साक्षरता दिवसको अन्तिम दिन आज रेडियोबाट पनि साक्षरता दिवस विशेष कार्यक्रम प्रस्तुत गरिएको थियो। रुम टु रिड बाँकेकी ज्योति बुढाले संचालन गरेको उक्त रेडियो कार्यक्रममा बालबालिकाहरुले फोन गरेर आफ्नो प्रतिभा सुनाएका थिए।

यसरी अनलाइन माध्यमबाट मनाइएको साक्षरता दिवसबाट आफ्ना नानीबाबुलाई मात्रै नौलो ज्ञान अनि अनुभव भएको अभिभावकले प्रतिक्रिया दिएका छन् ।

 

प्रतिक्रिया