होस्टेलको रकम एकमुष्ट बुझाउन नसकेपछि विशेष छात्रवृत्तिअन्तर्गत एमबिबिएस अध्ययनरत तीन दलित विद्यार्थीलाई कलेजले परीक्षा फारम भर्नबाट वञ्चित गरेको छ ।
वीरगन्जस्थित नेसनल मेडिकल कलेजमा अध्ययनरत सप्तरी छिन्नमस्ता गाउँपालिकाका दिनेशकुमार मरिक (डोम), जानकी मेडिकल कलेज जनकपुरमा अध्ययनरत सर्लाहीका निर्मल राम र पतञ्जली आयुर्वेद मेडिकल कलेजमा दोस्रो वर्षमा अध्ययनरत सञ्जीवकुमार राम परीक्षाको फारम भर्नबाट वञ्चित भएका छन् ।
धुलिखेलमा दोस्रो वर्षमा अध्ययनरत सञ्जीवकुमारको बिल चार लाख ७५ हजार पुगेको छ । ‘चार लाख ७५ हजारको बिल छ, पैसा नतिरेको कारण अहिलेसम्म मेरो रजिस्टेसनसमेत भरिदिएको छैन । कति दिन कलेजले गेटबाट फर्काइदिएको छ,’ उनले भने ।
नेसनल मेडिकल कलेजमा अध्ययनरत दिनेशकुमारका बुबा युक्तिलालले ब्याजमा पैसा खोजेर मंगलबार छोराको परीक्षा फारम भर्न कलेजलाई अनुनयविनय गरे । तर, कलेजले पूर्ण भुक्तानी नगरेसम्म फार्म भर्न नदिने अडान कायमै राख्यो । यस विषयमा बुझ्न कलेजका निर्देशक बसरुद्दिन अन्सारीलाई फोन गर्दा उठाएनन् ।
त्यस्तै, जानकी मेडिकल कलेजमा अध्ययनरत निर्मल रामलाई पनि कलेजले होस्टेलको खर्च नतिरेको भन्दै परीक्षा फारम भर्न दिएको छैन । ‘मैले कलेज प्रशासनसँग होस्टेल खर्चपछि तिर्ने सर्तमा फारम भर्न दिन चार–चार घन्टा आग्रह गर्दासमेत दिइएन,’ उनले भने, ‘मैले प्रदेश २ का मुख्यमन्त्री र सामाजिक विकास मन्त्रालयमा गत फागुनमै निवेदन दिएको र त्यहाँबाट सहयोग पाए तत्काल कलेजको रकम तिर्ने प्रतिबद्धता गर्दासमेत कुनै सुनुवाइ भएन ।’ यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।










