रेडियोको स्टेसन म्यानेजर भईसकेका सिंहको रहरलाग्दो एग्रोफार्म

भिम चौधरी,धनगढी:   कैलाली धनगढी क्याम्पस चोकबाट तीन किलोमिटर पूर्व हुलाकी सडकको यात्रापछि मनहेरा चोक पुगिन्छ। 

चोकबाट एक किलोमिटर दक्षिणपश्चिम गएपछि धनगढी उपमहानगरपालिका–१२ जुगेडा (कम्पनी टोल) चारैतर्फ फलामे जालीले बेरिएको ससाना टहरासहित सुन्दर कटेज देखिन्छ। 

ती कटेज परिसरमा लुइचे, साकिनी, धारी खुइले, उल्टे खाम जातका लोकल कुखुराका साथै लौकाट, बट्टाईको व्यावसायिक पालन गरिएको छ भने अलिक पर पोखरीमा माछाका भुरा हुर्किरहेका छन्। 

एग्रोफार्ममा पुग्ने जोकोही पनि लोभिन्छ। दीपेन्द्र सिंहले अर्जुन कुवँरसँगको सहकार्यमा ८५ लाख रुपैयाँ लागतमा कमलदीप मल्टी एग्रो सञ्चालनमा ल्याएका हुन्। फार्म १५ बिघामा फैलिएको छ। 

हामीले एग्रो फर्मका लागि चाहिने सबै संरचना बनाएका छौं सिंहले भने, ‘मान्छे बस्न २२ लाख लागतमा पक्की घर निर्माण गरेका छौं।’ 

फार्ममा लकडाउनअघि चार जना कर्मचारी कार्यरत थिए।  अहिले घरपरिवार मिलेर हेरिरहेको उनले बताए। उनी अब चाँडै कर्मचारी थप्ने तयारीमा छन्।

यसरी सुरु भयो व्यवसाय

राजधानी काठमाडौंमा केही समयको पढाइपछि दीपेन्द्र सिंह बझाङ फर्किए। २०६३ पछि २०६६ सम्म साइपाल एफएममा स्टेसन म्यानेजर भए। तराईमा हुर्किएका सिंहलाई पहाडमा असहज भयो। अर्कोतर्फ आर्थिक संकट।

सिंहले भने, ‘घरबाट खर्च माग्नुपर्ने अवस्था आयो।’ त्यसपछि उनी एफएम छोडेर थप केही गर्न भन्दै कैलाली सदरमुकाम धनगढी फर्किए। 
सिंहले सुर्मा साइपाल सहकारी संस्थामा काम गर्न थाले। केही वर्ष सहकारीमा काम गरेपछि उनी ऋण प्रमुख भए। अतिरिक्त आम्दानीका लागि व्यवसाय गर्नुपर्ने रहेछ भन्ने लाग्यो।

सिंह भन्छन्, ‘केही लाभ हासिल गर्न जोखिम मोल्नुपर्ने रहेछ भन्ने बोध भयो। अनि अतिरिक्त आम्दानीका लागि थप केही गर्ने निश्चय गरें।’ 

सहकारीको ऋण प्रमुख भएकाले उनले ऋण कसरी परिचालन गरिँदो रहेछ भन्ने राम्ररी थाहा पाइसकेका थिए। यद्यपि सहकारीका सञ्चालक र उपल्लास्तरका कर्मचारीमाथि विना धितो ऋण लिएर सर्वसाधारणको बचत जथाभाबी खर्च गर्ने गरेको आरोप छ।

सिंहले मन मिल्ने साथीसँग छलफल गरे। कृषि वा पशुपालन गर्ने योजना बन्यो। 

सिंहले भने, ‘सुरुमा लोकल कुखुरा पाल्न थाल्यौं। माग धेरै थियो। बजार देखेर यसमा लगानी गर्‍याैं’

पहिलो गाँसमै ढुंगा 

सहकारी र बैंकबाट ४० लाख रुपैयाँ ऋण निकालेर कुखुरा पालन व्यवसाय गरेको चार महिना भएको थियो। २०७६ जेठमा आएको हावाहुरीले कुखुरा पालनका लागि तयार गरेको सबै संरचना तहसनहस गरिदियो।

६ सय लोकल कुखुरा मरे। १५ लाख बराबरको क्षति भयो। सिंहले भने, पहिलो गाँसमै ढुङ्गा लाग्यो। सपना चकनाचुर भएको महसुस भयो। 

अनुभव थिएन। तालिम बिना सुरु गरिएको व्यवसायले एकातर्फ फाइदा भएको थिएन अर्कोतर्फ हावाहुरीले नोक्सान गरेपछि उनलाई व्यवसाय नै छोडिदिऊँ जस्तो लागेको थियो।

सिंहले भने, ‘फेरि सोचें हरेस खानु हुन्न, ऋण थपेर फेरि सुरु गर्नुपर्छ भन्न लाग्यो।’ 

उनीहरुले लोन थपेर व्यवसाय बढाउँदै लगे। एग्रोमा अहिले लोकल कुखुरा प्रजातिका १४ सय कुखुरा, लौकट चार सय र बट्टाई दुई सय ५० वटा छन्।

एक जोडी लुइचे 

सिंहले एग्रोमा एक जोडी लुईचे समेत पालन गरेका छन्। उनले फिडका लागि तनहुँबाट १५ हजार रुपैयाँमा लुइचे लगेका हुन्। लुइचेबाट एउटा चल्ला जन्मिएको छ। सिंहले भने, यसअघि पनि ६ वटा चल्ला निस्किएको थियो तर बचाउन सकिएन।

ह्याचरी सुरु गरेपछि सहज

सुरुमा चितवनबाट चल्ला ल्याएर कुखुरा पालन सुरु गरेका सिंहले पछिल्लो समय आफैंले चल्ला उत्पादन थालेका छन्।  

सिंहले भने, ‘जति नजिकबाट चल्ला ल्याउन सक्यो त्यति नै बढी फाइदा हुने हुँदा हामी आफैंले ह्याचरी सञ्चालनमा ल्यायौं।’ उनीसँग १५ सय क्षमताको ह्याचिङ मेसिन छ। 

सिंहले भने, ‘आफूलाई पनि चाहिने र प्रदेशका अन्य जिल्लामा बिक्रीवितरण गर्ने उद्देश्यले ह्याचरी सञ्चालनमा ल्याएका छौं।’ 

फार्मबाट अहिले लौकाटको चल्ला प्रति गोटा ५००, लोकल कुखुराको चल्ला प्रति गोटा ११० रुपैयाँमा बिक्री भइरहेको छ। उनले कैलाली, कञ्चनपुर लगायत प्रदेशको पहाडी जिल्लामा समेत चल्ला पुर्‍यउने गरेको बताए ।

बिचौलियाबाट फसेपछि

सिंह सुरुवाती चरणमा बिचौलियाको फन्दामा परे। उनले उत्पादन गरेको कुखुरा बिचौलियाले लगेर बढी रकममा बजारमा बिक्री गर्न थाले।

सिंहले भने, ‘यहाँबाट सस्तोमा लगेर बजारमा महँगोमा कुखुरा बिक्री गरेको पाएपछि एग्रोमै कटेज सञ्चालनमा ल्याएँ।’

ग्राहकलाई पनि महँगो पर्न थालेपछि आफैंले कटेजमा सञ्चालनमा ल्याएको उनको भनाइ छ। 

उनले कटेज सञ्चालन गरेको एक महिनामै लकडाउन भएपछि भने पूर्ण रुपमा सञ्चालन हुन सकेन। उनले अर्डरअनुसार लोकल कुखुराका विभिन्न प्रजातिका साथै लौकाट, बट्टाई ग्राहकलाई आपूर्ति गर्दै आएका छन्।

एग्रोभित्रै माछा पालन

सिंहले एग्रोमा माछापालन पनि गरिरहेका छन्। मरेका कुखुरा, चल्ला व्यवस्थापनमा समस्या भएपछि उनले एग्रोभित्रै पोखरी खनेर ४२ सय मंगुर जातका माछा पालन सुरु गरेका हुन्।

उनले भने, ‘माछा पालनबाट आम्दानी बढेको छ भने अर्कोतर्फ मरेका कुखुरा व्यवस्थापनमा सहयोग पुगेको छ।’

सिंहलाई अहिले जागिरबाट भन्दा व्यवसायबाट सन्तुष्टि मिलेको छ। उनी भन्छन्, ‘व्यवसायबाट मिल्ने सन्तुष्टि जागिरबाट कहाँ मिल्दो रहेछ र?’

 

प्रतिक्रिया