मानवीय विकासमा ध्यान दिएको खै ?

रामबहादुर पुन : विकास के हो भनेर प्रश्न गर्यो भने अधिकांशले बाटोघाटो, पुल पुलेसा, विद्यालय, अस्पताल, एयरपोर्ट, सामुदायिक भवन, सिचाई, ढल निकास आदि भौतिक संरचना निर्माण भएको अवस्था हो भनेर जवाफ दिएको पाईन्छ । जुन भौतिक संरचना निर्माण भएको अवस्था हो । त्यसलाई भौतिक विकास भनिन्छ । विकास भनेको भौतिक संरचना बन्नु मात्र होईन । चेतना, सोच, व्यवहार र अभ्यासमा आउने सकारात्मक परिवर्तन अपहिार्य छ । जुन मानवीय विकास हो । मानवीय विकासले नै भौतिक विकासको सृजना गर्दछ र दिगो व्यवस्थापन हुन्छ । भौतिक विकासलाई प्रथामिकता दिने समूह ठूलो छ । तर मानवीय विकास नगरि भौतिक विकासलाई जोड दिएमा भौतिक विकासको दिगो व्यवस्थपनमा समस्याहरु आएका प्रशस्त उदाहरणहरु देख्न पाईन्छ । मानवीय विकासले समाजलाई सकारात्मक परिवर्तन गर्न उत्प्रेरित गर्दछ । दिगो व्यवस्थापन गर्न सहयोग पु¥याउछ ।

अविकसित देशका नेतृत्व वर्गले भौतिक विकासलाई जोड दिएको पाईन्छ र जनताको माग पनि भौतिक विकासका लागि मात्रै हुन्छ । मानवीय विकासका लागि प्रभावकारी योजना वनाएर कार्यान्वयन गरेको पाईदैन । सडक, पुल, विद्यालय, अस्पताल, सामुदायिक भवन, कृषि औजार, सिचाई, ढल निकास, शौचालय निर्माण त गर्नुपर्दछ तर मानवीय विकासको पाटोलाई चटक्कै भुलेर विकास गर्ने भन्दै दौडिनु पनि सहि होईन । मानवीय विकासको अभावमा भौतिक विकासको दुरदशालाई हामी गहिरो विश्लेषण गर्न सक्छौं ।

भौतिक संरचना निर्माण भएको अवस्थालाई विकास भनेर आर्थिक तथा सामाजिक रुपमा विपन्न वर्गको जीवन स्तर सुधारका लागि अधिकारमा आधारित कार्यक्रमहरु संचालन गर्न आवश्यक छ । स्थानीय श्रोतको पहिचान र परिचालन गर्न नसक्नु र बाह्य श्रोतप्रतिको मोहका कारण गरिवीको खाडल बढ्दै गएको छ । समुदायले भोग्दै आएको समस्याको विश्लेषण स्वयम समुदायले नगरि विकास गर्छौं भनेर भाषण गर्ने नीति निर्माताहरुले वनाएको योजनाले दिगो विकास सम्भव छैन । विकासका लागि भौतिक संरचना वन्नु प्रमुख कुरा होईन, मानवीय विकास प्रमुख कुरा हो ।

हाम्रो देशमा जातिय विभेद छ । जहाँ लाखौं मानिसहरु दलितको रुपमा रहेर पुस्तौं पुस्तासम्म थिचोमिचो, अपहेलना र शोषणको भुमरीमा फसेका छन् र चेपिएका छन् । आफ्नो जीवनलाई धिक्कार्र्दै दिन धकेलिरहेका छन् । आधा आकाश ढाकेको महिला वर्ग छोरा नपाएको दोषमा सम्वन्ध विच्छेदपछि बेसहारा बन्नु परेको छ । बोक्सीको आरोपमा गाउँ निकाला हुनु परेको छ । दाईजो नल्याएको निहुँमा आत्म हत्या गरि जीवनलाई बलिदानी दिनु परेको छ । छोरी अर्काको घरमा जाने जात भएकोले विद्यालय शिक्षाबाट बंचित हुनु परेको छ । हाम्रा सामु यस प्रकारका साझा समस्याहरु छन् । यी साझा समस्यारु जसले भोगिरहेको छ, त्यसको सहभागिता विना दिगो विकासको परिकल्पना गर्न सकिदैन । जो जातिय छुवाछुतको पिडा भोगिरहेको छ । जो धार्मिक र साम्प्रदायिक रुपमा विभेदकारी व्यवहारको शिकार भएको छ । त्यसको सहभागिता विना निर्माण गरिएको योजनाले सफलता पाउन सक्दैन ।

विपन्न वर्गको हिजो जुन अवस्था थियो, अहिले पनि त्यहि छ । जो आर्थिक हिसावले सम्पन्न छ । त्यसैले राजनैतिक जिम्मेवारी पाएको छ । त्यसैले शिक्षा, स्वास्थ्य र रोजगारको अवसर पाएको छ । राज्यले दिने सेवा सुविधामा उनीहरुकै हालीमुहाली हुन्छ । समुदाय स्तरमा वन्ने उपभोक्ता समिति, विद्यालय व्यवस्थापन समिति, मन्दिर मस्जिद, सरसफाई समिति समेतमा हुनेखाने कै सहभागिता हुन्छ । आर्थिक, सामाजिक र राजनैतिक हैसियत भएका व्यक्तिहरुले कहिले पनि दलितलाई जान्ने भएको देख्न चाहदैनन् । दिदिवहिनीहरुले अधिकारका लागि भाषण गरेको मन पर्र्दैन । मुस्लिम, मधेशी र जनजातिले उठाएको मागलाई, निकालेको आवाजलाई अनर्थ लगाएर भ्रम सृजना गरिन्छ । देशको दिगो विकासका लागि सवभन्दा तल रहेको वर्ग समुदायलाई चिन्न सक्नुप¥यो । उनीहरुको सवाल के हो ? उनीहरुले आफ्नो सवाललाई अपनत्व ग्रहण गर्न सक्नु प¥यो । त्यो भोग्दै आएको सवालले उनीहरुको जीवनमा के प्रभाव पारेको छ ? त्यसको समाधानको उत्तम उपाया के हो ? समाधानका लागि योजना वनाउन उनीहरुलाई नै जिम्मा दिन सक्नु प¥यो । जवसम्म समस्या भोगिरहेको समुदाय तथा वर्गको योजना निर्माणमा सहभागिता हुदैन तवसम्म योजना कार्यान्वयन प्रभावकारी हुदैन । योजना निर्माण, कार्यान्वयन र त्यसको उपभोग र रेखदेखको जिम्मेवारी दिन र लिन सक्ने वातावरण तयार गर्न आवश्यक छ ।

हाम्रो देशका धेरैजसो गाउँपालिका र नगरपालिकाहरु खुल्ला दिशामुक्त घोषणा भैसकेका छन् । तर त्यो कागजमा भएको छ, व्यवहारमा होईन । खुला दिशामुक्त घोषणा गरेको होर्डिंग बोर्ड टिलिक्क टल्कदैछ तर त्यसको वरिपरि खुल्ला रुपमा दिशाको थुप्रो देखिन्छ । जबरजस्ती शौचालय वनाएर हुदैन भन्ने सिकाइ आएको छ । शौचालय वनाउनु विकास मान्ने विकासे कार्यकर्ताहरुलाई यो पनि ज्ञान हुन जरुरी छ कि विकास भौतिक संरचना मात्र विकास होईन ।

कतिपय गाउँपालिका र नगरपालिकाकामा खुला दिशामुक्त घोषणा गर्नका लागि रातभरि गाउँको वरिपरि ड्युटि गर्ने अभियान संचालन गरियो । सिट्टी बजाएर लखेट्ने काम गरियो । केहि स्थानमा त दिशा गर्न थालेका महिला र अपांगको फोटो समेत खिचियो । त्यो गर्न मिल्ने हो या होईन कसैलाई याद भएन । याद भयो मात्र खुला दिशामुक्त घोषण गर्ने । प्रश्न के हो भने कहिलेसम्म फोटो खिच्ने ? कहिलेसम्म सिट्टी बजाउने ? कहिलेसम्म पुलिस लगाएर कारवाही गर्ने ? खुला दिशामुक्त कुनै दुई चार वर्षको कार्यक्रमले सम्पन्न हुने सवाल होईन । यो चेतना, शिक्षा र व्यवहारसंग जोडिएको सवाल भएको हुनाले समय लाग्ने पक्का छ । शौचालय के हो ? किन यसको प्रयोग गर्ने ? कसरि प्रयोग गर्दा फाईदा हुन्छ ? कसका लागि हो ? कसको सवाल हो ? कसले जिम्मा लिने हो ? यसमा सम्पूर्ण प्रश्नको जवाफ प्रत्येक व्यक्तिको मन मस्तिष्कले नदिदासम्म खुला दिशामुक्त घोषणाले सार्थकता पाउन सक्दैन ।

भौतिक विकासको रुपमा बाटो बनेको छ । पुल बनेको छ । सिचाई लागि नहर बनेको छ । विद्यालय बनेको छ । सार्वजनिक शौचालय र सामुदायिक भवन निर्माण भएका छन् । खानेपानीका धारा जडान भएका छन् । मननवीय विकासको अभावमा धारा जडान गरेको एक महिना नहुदै धाराको टुटी भाँचिन्छ । बाटोको छेउमा राखिएका ढुंगा गिट्टी चोरी हुन्छ । सामुदायिक भवनको जस्तापाता, झ्यालमा जोडिएका सरिया, ग्रिल चोरी हुन्छन् । सिचाईको पाईप ठाउँठाउँका काटेर बेहाल हुन्छ । विद्यालयका फर्निचरहरु एक वर्षपछि हुदैनन् । किन यस्तो हुन्छ ? सोच्ने कसैलाई फुर्सद छैन । सरकारले योजना निर्माण गरिरहेको छ । ठेक्केदारहरुले निर्माणको काम गरिरहेका छन् । दुई पक्षको आर्थिक लेनदेन मजाले चलिरहेको छ । जनता दर्शक बनेर हेरिरहनु परेको छ ।
जनतालाई विकास हाम्रो भन्ने सोचको विकास गर्न जरुरी छ । सरकारले योजना वनाउछ । ठेकेदारले भौतिक पूर्वाधार निर्माण गर्छ भन्ने मात्र जनतालाई थाहा छ । योजना वनाउने, योजनाको कार्यान्वयन गर्ने, त्यसको अनुगमन गर्ने र फाईदा वेफाईको हिसाव किताव गर्ने जिम्मेवारी जनतालाई दिने हो भने न एक महिनामा धाराको टुटी भाँचिन्छ न विद्यालयको जस्तापाता चोरी हुन्छ । त्यसैले योजना ठिक वनोस् या बेठिक वनोस् । ठेकेदारले सक्कली काम गरोस् या नक्कली काम गरोस्

जनतालाई वास्ता छैन । जनतालाई कस्तो नागरिक वनाउने भन्ने दायित्व राज्यको हो र राज्यलाई योगदान गर्ने कस्तो नागरिक बन्ने भन्ने हरेक नागरिकको कर्तव्य हो । तर हामी जनता असल नागरिक वन्न सकेका छैनौं । असल नागरिकले विकास आफै गर्छ । असल नागरिक भएको देशमा जातिय छुवाछुत हुदैन । धार्मिक र साम्प्रदायिक सद्भाव हुन्छ । भाईचाराको सम्वन्ध हुन्छ । छाउपडी, दाईजो र तलाक जस्ता कुप्रथा हुदैनन् । मानव अधिकारको प्रत्याभूति हुन्छ । शान्ति र सुशासन हुन्छ । सबै वर्ग, लिंग, सम्प्रदायको सवालमा साझा योजना वन्छ र कार्यान्वयन हुन्छ । मानवीय र भौतिक विकास संगसंगै संचालन हुन्छन् ।

भौतिक विकास गरेर के गर्नु ? भौतिक विकासको संरक्षण हुदैन । मानवीय विकासले भौतिक विकासको निर्माण र संरक्षणमा योगदान गर्छ । भौतिक विकास गर्दा मानवीय विकासमा सहयोग पुग्ने गरि सोच्न पनि जरुरी छ । संघिय संरचनामा गएसंगै स्थानीय सरकारले मानवीय विकासका क्रियालापहरुलाई बहिस्कार गरेको पाईन्छ । विकास गर्छु भनेर सबै बजेट बाटो निर्माण र भौतिक संरचना निर्माणमा प्रयोग गरिएको छ । जुन सामाजिक न्यायमा आधारित छैन ।

सिमान्तकृत वर्गका लागि अधिकारमा आधारित पनि छैन । सकारात्मक परिणाम आउने खालका योजना छैनन् । सदियौंदेखि भोग्दै आएको उत्पीडनको अन्त्यका लागि सोच्न पनि जरुरी छ । मानवले मानव भएर बाँच्न पाएको छैन । उसका लागि पनि कार्यक्रम र बजेट वन्न आवश्यक छ । कुप्रथाका र राज्यको फितलो कानूनी प्रावधान र साँघुरो सोचाईका कारण लाखौं जनता आधारभूत आवश्यकताबाट बंचित छन् ।

लाखौं दिदीवहिनीहरु बोक्सीको आरोपमा, छोरा नपाएको बहानामा र दाईजो नल्याएको निहुँमा शारिरीक र मानसिक तनाव खेपिरहेका छन् । स्थानीय, प्रादेशिक र संघिय सरकारले भौतिक पूर्वाधार निर्माण संगसंगै मानवीय विकासका लागि समस्यामा भौतारिका वर्गलाई परिचालन गर्दै कार्यक्रमहरु कार्यान्वयनम जोड दिनु आजको टट्कारो आवश्यकता हो । समृद्धि र दिगो विकासका लागि सबैको सहभागिता र सबैको जिम्मेवारी जरुरी छ । सबै सरोकारवालाहरुको ध्यान पुगोस् ।

लेखक : रामबहादुर पुन जनजागरण समाज खजुराका कार्यकारी व्यवस्थापक हुन् ।

प्रतिक्रिया