जुवेदा भन्छिन्– “छोरीहरुलाई शिक्षाबाट बंचित नगरौं”

अमिरुल निशा, खजुरा : ४६ वर्षिय जुवेदा साई खजुरा गाउँपालिका वडा नं ८ रनियापुर वाँकेमा बस्छिन् । उनको परिवारमा ५ महिला ६ पुरुष गरि ११ जना छन् । उनी सुनौलो समूहको अध्यक्ष भएर सामाजिक अभियानहरुमा सक्रिय छिन् । उनको परिवारको मुख्य पेशा कृषि र ज्याला मजदुरी हो ।

उनी भन्छिन्– “पहिले म आफ्नै खेतीपाती र घर परिवारमा सिमित थिएँ । कुनै पनि तालिमहरुमा सहभागि भएकी थिईन । शिक्षा सम्वन्धि ज्ञान थिएन । छोरा छोरीहरुलाई पढाउनु हुदैन भन्ने सोच थियो । छोरीहरु अर्काको घरमा जाने जात हो भन्ने वुझाई थियो । धार्मिक रुपमा र हाम्रो समाजमा पनि छोरीहरुलाई पढाउनु हुदैन भन्ने मन्यता छ । वाहिर पढ्न गए भने बिग्रन्छन्् भन्ने सोचाई छ । मधेशीहरुले जति पढेपनि जागिर पाउँदैनन् भन्ने सोचाई छ । त्यसमध्ये छोरीहरु जती पढेपनि चुलोचौकामा मात्र सिमित हुन्छन् । धेरै पढाए भने दाइजो वढि दिनु पर्छ । सानो उमेरमा विवाह गरेमा धर्म हुन्छ भन्ने मान्यता रहेको छ ।”

जनजागरण समाज खजुरा, बाँकेको आयोजना तथा फेल्म नेपाल र संस्थागत विकास संजालको आर्थिक सहयोगमा संचालित दिगो विकासका लागि सामुदायिक शान्ति कार्यक्रम अन्तरगत रनियापुरको समुहहरुमा महिला अधिकार, शान्ति सद्भाव र द्वन्द्व व्यवस्थापन तथा शिक्षाको महत्व विषयक विभिन्न तालिम र कार्यक्रमहरु संचालन भएका थिए । सो कार्यक्रमहरुमा सहभागि हुने मौका पाइन् । सो तालिम र छलफल पश्चात उनको अन्धविश्वासको पर्दा खुलेको वताउनछिन् । तालिमवाट धेरै कुराको ज्ञान सिप र क्षमता वढेको गर्ब गर्छिन् ।

उनी भन्छिन्– “छोरीहरुको जीवन अन्धकार वनाउन चाहन्नँ । छोरा र छोरी समान हुन् । दुवैलाई पढाउनु पर्छ भन्ने मेरो सोच छ । समुदायका मानिसहरुले जतिसुकै कुरा काटे पनि त्यसको मतलव नगरि पढाउछु । छोरी अरुको घरमा जाने जात भएकोले नै शिक्षित वनाउनुपर्छ । अनि मात्र छोरीले दुःख पाउदैनन् । शिक्षा नै संसार देख्ने आँखा भएको छोरीहरुलाई शिक्षाबाट बंचित नगरौं ।” उनको आर्थिक अवस्था कमजोर थियो । एसईई पछि पढाउन गाहे भईरहेको थियो ।

त्यसमा जनजागरण समाजले शान्ति कार्यक्रम अन्तरगत छोरीहरुलाई पढ्नको लागि छात्रबृत्ति वितरण शुरु गरेदेखि छोरीहरुले छात्रवृत्ति पाउन थाले । जसले परिवारलाई पढाई खर्चमा सहुलियत भयो । अहिले उनकी जेठी छोरी १२ कक्षामा पढ्छिन् भने कान्छी छोरी ११ मा ।

प्रतिक्रिया