सायद हामी नेपालगन्जबासीलाई लकडाउन औधी मन पर्छ…!

रामु ओली :

सायद हामी नेपालगन्जबासीलाई लकडाउन मन पर्छ ? पक्कै हामी नेपालगन्जबासीलाई लकडाउन मन पर्दैन , मन पर्ने भए कोरोनाको पहिलो लहरमा लाठी खान तयार भयौ तर पनि हामी बाहिर निस्कन भिडभाड गर्न छोडेनौ ।

सडकमै आएर रोइलो गर्ने तपाइको मात्रै होइन मेरो र मेरा आफ्नाका पनि बानी नै छ । त्यसैले त हामीलाई लकडाउन मन पर्दैन , लकडाउन गरिनै हाले पनि हामिले पक्कै त्यसको पालना पनि गर्ने छैनौं ।

यो मैले होईन, तपाईं र मेरो बिगतले देखाएको कुरा हो । हामी मर्न तयार छौ तर लकडाउन सहदैनौ । लकडाउन मात्रै होईन हामिलाई मास्कले समेत पोल्छ , मुखमै टोक्छ, उकुसमुकुस पार्छ, त्यसैले त हामिले मास्क पनि लाउन छोडिसक्यौ ।

अनि …

अनि भिडभाड त हामिलाई औधी मन पर्छ । भिडभाड बिना हामी बाच्नै सक्दैनौ । भिडभाड बेगरको जिन्दगी पनि के जिन्दगी । यो पनि म भन्दै छैन यो तपाईं र मेरो बिगतको ब्यवहार हो, धेरै बर्ष अगाडीको पनि होईन मात्रै गत बर्षको हो । हामिले भुलेका पक्कै छैनौ, अझ फेसबुकले गत बर्ष हामिले गरेको त्यो हरकत आजभोलि मेमोरी भन्दै देखाइ रहेको होला! होइन र ?

अब मुद्दा मै प्रवेश गरौ होला ।


कोरोना कहरको दोस्रो लहरले भारतमा दैनिक सयौको ज्यान लिएको छ, डेढ लाख बढी दैनिक संक्रमित बनेका छन् अनि हामी सिमावर्ती शहरमा बस्ने नेपालगन्जबासी भने मैफुस छौ ।

प्रशासन त मौन छ, अन्धो छ । उसको न कान छ, न आँखा छ । उसले केही गर्ला भन्ने भ्रम मात्रै छ । त्यो पनि लकडाउनको ।
सबैलाई त्यही डर छ प्रशासनले लकडाउन गर्ने हो कि ?

प्रशासन त मेला लगाउन तयार छ, भिडभाड गराउन पनि तयार छ, दैनिक कुनै न कुनै ठुला जमघट हुँदा प्रशासनलाई कुनै आपत्ति पनि छैन । राजनैतिक दलका कार्यक्रममा कुनै कोरोना आउला भन्ने डर पनि छैन प्रशासनलाई । सिमानाकाबाट दैनिक कोरोना आएकै छ । तर पनि चेकजाँच फितलो छ । र पनि प्रशासनलाई त्यतिले पुगेकै छ । तर पनि हामी नेपालगन्जबासीलाई एउटै कुराको डर छ, कतै प्रशासनले लकडाउन त गर्दैन !

यदि प्रशासनले लकडाउन गर्यो भने कसरी बाच्ने ? कसरी चिया र कफि खान रेस्टुरेन्ट र क्याफे छिर्ने ? साझ साझ त्रिभुवन चोकमा पुगेर चाट र पानीपुरी कसरी खाने ? राती अबेर सम्म जम्बो टोलि लिएर चोकचोकका चिया पसलमा कसरी गफ लडाउदै बस्ने ? हामिलाइ यी र यस्तै कुराको चिन्ता छ । डर छ ।

तर हाम्रै लापरबाहीले कोरोना फैलिदा साझ हातमुख जोर्न बिहानै काममा जानै पर्ने हाम्रै नेपालगन्जबासीलाई कस्तो समस्या पर्ला हामिले कहिल्यै सोचेका छैनौं ।

हाम्रो साधारण आनिबानीले कोरोनाले एक बर्ष अगाडी जस्तै लकडाउन सम्म पुराउन सक्छ, फेरि महिनौ दिन घर भित्रै बस्नु पर्ने हुनसक्छ, व्यापार ब्यवसाय ठप्प पर्न सक्छ, कयौं परिवारको घरमा चुल्हो नबल्न सक्छ, तपाईं हामी मध्य कति सय वा हजार कोरोनाको सिकार हुन सक्छौ र कति जनाले ज्यान समेत गुमाउनु पर्ने हुन सक्छ ।
नेपालगन्जमा लकडाउन हुने वा नहुने त्यो हामिमै निर्भर हुनेछ ।

सरकारले अब स्कुल र धेरै भिड हुने स्थान बन्द गर्न भनी सकेको छ । रातीका ब्यवसाय बन्द गर्न भनिसकेको छ । अब हाम्रै लापरबाहीको कारण नै कोरोना संक्रमण तिब्र बनेमा पुर्ण लकडाउन पनि गर्न सक्छ । लकडाउन सरकारको रहर पक्कै होईन बाध्यता हो ।

लकडाउनको बिकल्प पक्कै छैन किनकि लकडाउनको विकल्प भनेकै हाम्रो आनिबानी र हाम्रै सजगता हो । तर हामी त्यो गर्न कदापी तयार छैनौं । त्यसैले लाग्छ हामी नेपालगन्जबासीलाई सायद लकडाउन मन पर्छ । मन मात्रै होइन सायद हामी नेपालगन्जबासीलाई लकडाउन औधी मन पर्छ ।

प्रतिक्रिया