नेपाल र नेपालीको दुर्भाग्य !

कविन्द्र भट्टराई : यस्तो सुन्दर र प्राकृतिक रूपमा सम्पन्न हाम्रो देश गतिलो चालकको अभावमा भूमरीमा पिल्सिइ रहेको छ । यहाँका कुनै पनि शासकहरू कहिल्यै जनता प्रति उत्तरदायी हुन सकेका छैनन् । न त राणाकालमा जन चाहना पुरा हुन सके न त पंचायत कालमा । हुन त जनताका असिमित चाहनाहरू अमेरीकामा पनि पुरा हुन नसकेको परिप्रेक्ष्यमा हामि नेपालीका चाहना पूर्णरूपमा पुरा हुन सक्छन भनेर भन्न सकिन्न तर पनि आधारभूत आवश्यकताको पूर्तिको चाहना राख्नु गलत चाँही कदापि होईन ।

पंचायतकालमा जनताका आवाजलाई थुनियो र जनताले बोल्न पाएनन् भनेर ठूलो आन्दोलन गरियो अनि बहुदलिय व्यवस्था ल्याइयो । त्यतिले भएन गणतन्त्र ल्याइयो । तर खै जनचाहना पुरा भएका ? यहाँ व्यवस्थालाई दोष दिइयो । अनि आफ्ना अवगुणलाई छिपाउन अरूलाई दोषि करार गर्ने निकृष्ट चलनको शुरूआत गरियो ।

हिजोको पंचायतका शाषक नै वहुदलमा पनि देखिए । केही नयाँ अनुहार त आए तर विचार भने उस्तै उस्तै पाइयो । व्यवस्था परिवर्तन त भयो तर शाषक ०४६ देखि उनै छन अनि विचारहरू सबै फर्सी भइसकेका । अनि कसरी हुन्छ जनचाहना को पुर्ति ?

अहिले पनि स्वाथ्य संरचना र मानव स्रोतको व्यवस्थापन पंचायत कालिन नै छ । पंचायतमा जति अस्पताल थिए अहिलेको ३०/३२ वर्ष सम्म पनि २/४ बाहेक सरकारी अस्पताल उत्ति नै छन । अन जनशक्तिको दरवन्दी पंचायतकै छ । थपिएका त मंत्रि र नेताहरूको मात्र दरवन्दि हो ।

त्यतिबेला जति जनशक्तिले देशको स्वास्थ्य व्यवस्थ धानेको थियो अहिले पनि त्यति नै जनशक्तिले धानेको छ तर मंत्रि, मुख्य मंत्रि, पालिकाका प्रमुख, वडा वडाका प्रमुख सबैलाई निजामति जागिरे सरह तलव सहितको व्यवस्था गरियो गणतन्त्रमा । परिवर्तन त आयो फलचाहीँ नेताका बोटमा मात्र फल्यो । जनताका खेतबारी बाँझै रहे । लगाइएका बोटमा पनि फल कहिल्यै लागेन । फलस्वरूप खाडीका खालमा जान विवश भए ।

शिक्षाले याबत चिजको विकाश गर्छ । तर ०४६ पछिको यो ३० / ३२ वर्षमा शिक्षा, शिक्षक र विद्यार्थी राज्यको प्रथमिकतामा कहिल्यै परेनन् । जसको प्रमाण अहिले सम्म पंचायत कालिन शिक्षा एेन विस्थापन गर्न नसक्नु लाई लिन सकिन्छ ।

पंचायतले शिक्षालाई कसरी संचालन गर्ने भनेर १० वर्ष भित्रै वि. सं. २०२८ मा शिक्षा ऐन ल्यायो तर बहुदल हुँदै गणतन्त्रमा पुगेको मेरो देशलाई त्यही पंचायतको ऐनले भरथेग गरेको देख्दा हाम्रा नेता प्रति दया जागेर आउँछ । र प्रविधीको यो यूगमा विज्ञानमा स्नातकोत्तर पास गरेका होनाहार युवालाई वौदिक पलायन गराई विदेशी भूमिमा जान वाध्य पार्ने व्यवस्था परिकल्पना हिजो आन्दोलनमा जाँदा कदापि गरिएको थिएन्।

विज्ञान तथा प्रविधी प्रज्ञा प्रतिष्ठानको संरचनामा नयाँपन अझै दिन सकिएको छैन् । अहिलेको प्रतिस्प्रधी यूगमा विज्ञानमा खोज अनुसन्धान बढाउनु पर्नेमा यसलाई सानो घेरामै सिमित राख्नु सम्मृध्द नेपालको सपनामा वज्रवाण प्रहार गर्नु सरह हो ।

प्रत्येक विकाश क्षेत्रमा कृषि अनुसन्धान परिषद् गठन गरेको पंचायतले जे छोडेको थियो त्यसैमा गणतन्त्रात्मक मेरो देश रमाउनु देशवासीको विडम्बना हो । यिनी परिषद्हरूको यथोचित विकाश गर्न नसक्नु तथा कृषिमा आधुनिकिकरणको शुरूआत र वृध्दि हुन नसक्नु नै देशमा उत्पादनमा कमि आउनुको कारण हो । कृषिमा अनुदान दिने रकम सत्ता हिसाब किताबमा खर्च गर्नु पर्ने व्यवस्थाको सपना नेपालीको हुँदै होईन् । त्यसकारण यो कालमा गरिएका उपलब्धि के के हुन त लेखाजोखा गरिनु पर्दछ ।

अहिलेको यस अवस्थमा बाटोघाटो बनेको छ । गाँउघर भरी बाटा पुगेको छ चाहे धुले बाटो नै किन नहोस् । जनताले बोल्न पाएको छ । भोक लाग्यो भनेर रुन पाएको छ । दुख पर्यो भनेर चित्कार गर्न ऊ स्वतन्त्र छ । रोग लाग्यो भनेर विलौना गर्न पाएको छ । के रुन पाउनु विकाश हो ? यहाँ रोदन , क्रन्दन र चित्कार सुन्ने कोही छैन् ।

एउटा निमुखा भोकले रोएको कस्ले सुन्छ यहाँ ? अक्सिजनको अभावमा तड्पि रहेको छोरालाई सुम्सुम्याउन समेत नसकिने यो विषम परिस्थितिमा सत्ताका निम्ति जोडघटाउमा रमाउने नेताबाट के आश दर्न सकिन्छ ?

आज एउटा मज्दुर खान नपाएर तड्पिरहेको छ तर सत्ताका लागि हाम्रो अभिमतले नेता बनेकाहरू सत्ता खसाउन र बचाउन कुखुराका साप्रा चपाई रहेको अवस्था छ । के यसैका लागि हाम्रा आफन्तले ज्यान दिएका थिए ? कथित अग्रगमन र पश्चगमनका मिठा शब्दवाणले जनता लठ्याउन पल्केकाहरू भाषणले सारा गरिसकेका छन तर कोभिडले छट्पटिएको ज्यान दवाई नपाएर रन्थनिएका उसका परिवारको कारूणिक अवस्था केही गरि छिपेको छैन् ।

यो निराशायुक्त परिस्थितिको जन्मदाता को ? यिनै शाषक हुन कि होईनन् । भलै कसैको भागमा बढी होला त कसैको भागमा कम होला । यो परिस्थितिको जिम्मा लिनु पर्छ कि पर्दैन् ? ३०/३२ वर्षसम्म पनि नयाँ पन दिन नसक्नुमा उही नेता दोहोर्याइ , तेहेर्याइ सत्ताको मियो समात्न पुग्नु नै हो । अनि सत्ता टिकाउन नै सारा शक्ति लगाउनु पर्ने वाध्यता आउनु नै हो । त्यसैगरी सत्तामा छउन्जेल जनता बिर्सने र सत्ताच्यूत हुने बित्तिकै जनता सम्झिने नेताको यही अवगुण नै गणतन्त्रको दोष रहेको छ ।

प्रतिक्रिया