अहिलेका धेरैजसो नयाँ पुस्ताले बिश्वास गर्दैनन् , तर बास्तविकता चाहिँ के हो भने कुनै बेला खजुरामा बिमानस्थल (एयरपोर्ट) थियो । राजा, प्रधानमन्त्री, मन्त्री जस्ता भिभिआईपी तथा बिआईपी नेपालगञ्ज पुग्न खजुरा एयरपोर्टमा ओर्लिन्थे । अनि खजुराको बाटो हुँदै जिल्लाका अन्य गन्तव्यमा पुग्नुपथ्र्यो । बुढापाकाका लागी ताजा नै रहि रहेको यस्ता सम्झना नयाँ पुस्ताका लागि भने दन्त्य कथा जस्तै लाग्छन् । लामै इतिहास जस्तै लाग्छन् ।
खजुरामा बिमानस्थल मात्रै होईन , खजुरा जिल्लाकै महत्त्वपूर्ण कृषि ब्यापारको केन्द्र समेत थियो । बाके तथा बर्दियाका कृषक कृषि उत्पादन खरिद बिक्रीकालागी खजुराकै भर पर्थे । खजुरामा एयरपोर्ट मात्रै होईन खजुरामा अन्य महत्वपुर्ण सरकारी निकायहरु रहेकाले खजुरा जिल्लाकै शक्तिशाली ठाउँ थियो । देशाकै कपास उत्पादनका हिसाबले पहिलो नम्बरमा थियो खजुरा त्यसैले पनि खजुरामा नै कपास बिकास समितीको प्रधान कार्यालय थियो । ब्यापारिक तथा कृषि उत्पादनका हिसाबले होस या बिमानस्थलको हिसाबले नै किन नहोस खजुरा जिल्लाकै महत्त्वपूर्ण स्थानको रुपमा परिचित थियो ।
तर कालान्तरमा यहीँ खजुराले आफ्नो अस्तित्व खोजी रहेको वास्तविकता हाम्रो अगाडी नै छ । खजुराको बिमानस्थल राझामा सरे संगै खजुराले आफ्नो अस्तित्वको लागी लड्नु पर्यो । खजुराले बिमानस्थल मात्रै गुमाएन , व्यापार समेत गुमाउदै गएको खजुरा गाउँपालिका वडा नम्बर तिनका चन्द्र बहादुर महतरा बताउछन् ।
महतरालाई ती दृश्य अहिले पनि ताजै छ , जतिबेला आफ्नै आगन अगाडी जहाज आउथे अनि जान्थे , झिसमिसे बिहानी देखि सुरु हुने चहलपहल अबेर राति सम्म कायम रहन्थ्यो ।
पुनः कालान्तरमा खजुरा क्यान्सर हस्पिटल निर्माणले मुर्तरुप लिदै गर्दा खजुराबासीमा छुट्टै उमंग थियो, खजुराले आफ्नो गुमेको पहिचान र ब्यापार फर्काउने सपना देख्दै थियो, खजुराले बिमानस्थल गुमाए पछि खस्केको ब्यापार र खजुराको नामलाई फर्काउने आधार जनक शिक्षाको छापाखाना संगै क्यान्सर हस्पिटल बन्नेमा खजुराबासी निश्चित थिए । क्यान्सर हस्पिटलको सुरुवात संगै खजुराको सान र ब्यापार फर्किने सपना स्थानिय तहको चुनाव पछि जनप्रतिनिधिले गरेका प्रयास र प्रदेश सरकारले खजुरालाई दिएको प्राथमिकता संगै पुन फकृयका छन् ।
केही समय अगाडी खजुराको आशाको केन्द्रको रुपमा क्यान्सर अस्पताल मात्रै थियो , तर स्थानिय तहले गरेका प्रयासका कारण स्थानियमा आशा पलाएको छ ।
जिल्लाको बैकल्पिक रंगशाला
जिल्लाकै ठूलो प्रतियोगिताका रूपमा चिनिएको नेपालगन्ज गोल्डकप प्रतियोगिता (२०७५) खजुरा गाउँपालिका वडा नम्बर चार स्थित आदर्श आधारभूत विद्यालयको खेलमैदानमा भएको थियो ।
त्यसै बेलादेखि उठेको खजुरा रंगशाला निर्माणको योजनाले अहिले आशिक पूर्णता पाएको छ । खजुरा गाउँपालिका वडा नम्बर चारको आदर्श आधारभूत स्कुलको खेल मैदानमा प्रदेश सरकार र स्थानीय गाउँ पालिकाको आर्थिक सहयोगमा प्याराफिट सहितको खेल मैदान बन्यो । जसमा खजुरा गाउँपालिकाका विभिन्न ब्याक्तित्व, गाउँपालिकाका अध्यक्ष, वडा नम्बर चारका अध्यक्षले महत्त्वपूर्ण भुमिका निर्वाह गरे ।
उक्त रंगशालाले बाँके जिल्लाको बैकल्पिक रंगशालाको रूपमा स्थापित हुनेमा स्थानियबासी बिश्वस्त छन् । साथै रंगशालाले वडा नम्बर चारका बासिन्दामा बिकास र समृद्धिको एउटा आशा दिएको छ ।
सुरुवात देखि नै वडा नम्बर चार खेलकुदको हबको रुपमा जिल्लामा चिनिदै आएको छ । जिल्ला , क्षेत्र तथा राष्ट्रिय खेलाडीहरु उत्पादन गरिसकेको खजुरा र खजुरा वडा नम्बर चारले आफुलाई जिल्लाको बैकल्पिक रंगशाला मात्रै नभएर जिल्ला र क्षेत्रकै खेलकुदको हबको रुपमा चिनाउन लागि परेको बताउछन् वडा नम्बर चारका अध्यक्ष तिलक वीर सुनार ।
खजुरा क्यान्सर अस्पतालः
अध्यात्मिक गुरु सन्त दिनदयालजीको संकल्प सहित स्थानीय जनताले मानो र मुठी गरेर ठड्याएको अस्पताल जस्लाई खजुराबासीले ‘मेगा प्रोजेक्ट’ का रूपमा हेरेका छन् । आज यो अस्पतालले आशातित गति सहित लक्ष्य प्राप्तिको बाटोमा अगाडि बढी रहेको छ ।
प्रदेश पाँच, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको एकमात्र क्यान्सर अस्पतालको रुपमा रहेको खजुरा क्यान्सर अस्पतालले खजुराको मात्रै नभएर जिल्ला र प्रदेशकै शाख राख्ने स्थानिय बताउछन् । मेडिकल हबको रुपमा बिकास भैरहेको बाँके जिल्लालाई खजुराको क्यान्सर अस्पतालले देशभर नै चिनाउन मद्दत मिलेको छ जसबाट खजुराले आफ्नो अस्तित्व संगै ब्यापारमा छलाङ मार्ने अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष समेत रहिसक्नु भएका गाउँपालिका अध्यक्ष किस्मत कुमार कक्षपति बताउछन् ।
ग्रीन सिटीको अवधारणाः
खजुराले आफुलाइ ग्रीनसिटीका रूपमा अघि बढाउन प्रारम्भिक प्रक्रिया शुरु गरिसकेको छ । यो परियोजनाबाट यहाँ थुप्रै नयाँ र ठुला पुर्वाधार तयार हुनुका साथै खजुराको कायापलट हुनसक्छ र यसको साथै अन्तर्राष्ट्रिय रूपमा समेत यसको माध्यम बाट नयाँ सम्बन्ध स्थापित हुन सक्छ ।
हरित खजुरा गुरुयोजना सञ्चालनका लागि सन् २०२० देखि खजुरा गाउँपालिका र संयुक्त राष्ट्र संघ साउथ—साउथ कर्पोरेशनबीच नौ महिनाअघि सम्झौता भएको थियो ।
सो कर्पोरेशनका प्रतिनिधिले गरेको उच्चस्तरीय स्थलगत सर्वे, समुदायसँंगको छलफलपछि नेपालको एकमात्र बाँकेको नगरउन्मुख खजुरा गाउँपालिकालाई कार्यक्रमभित्र समेटिएको हो ।
“करिब एक बर्ष अघि उज्वेकस्तानमा भएको ‘ग्रीन एकोनोमी’ कार्यक्रममा खजुरामा ‘हरित कृषि र हरित शहरीकरण’ का लागि सो कर्पोरेशन र गाउँपालिकाबीच सम्झौता भएको हो”गाउपालिका अध्यक्ष किस्मत कुमार कक्षपतीले भने ।
सोही मोडललाई अन्तिमरुप दिन गत मार्च (चैत) महिनामा चीनको बेइजिङ्गमा तय गरिएको कार्यशाला कोभिड—१९ को विश्वव्यापी महामारीका कारण स्थगित भएपछि गुरुयोजनाको कार्यक्रम अघि बढन सकेको छैन ।
झण्डै रु दुई अर्बको उक्त गुरुयोजनाले मुख्यतया खजुराको कृषि विकासलाई पहिलो प्राथमिकतामा राखेको छ । त्यससंगै वृक्षारोपण, कृषिको बजारीकरण, उन्ननत जातको बीउबीजनको उपलव्धता, विद्युतिकरण, सञ्चारको उच्च प्रविधि, घरेलु तथा लघु उद्योग लगायतका विषय पनि प्राथमिकतामा परेका छन् ।
नेपालगन्ज बिश्वबिद्धालय
प्रदेश ५ सरकारले बाँकेको खजुरामा प्रादेशिक विश्वविद्यालय निर्माण गर्ने भएको छ । अर्थमन्त्री समेत रहेका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश सभामा बजेट पेश गर्दै खजुरामा प्रादेशिक विश्वविद्यालय स्थापना गर्ने बताएका हुन् ।
खजुराले आफ्नो पालिकाभित्र प्रादेशिक विश्वविद्यालयका स्थापनाका लागि एकसय विगाह जग्गा घोषणासँगै आवश्यक प्रक्रिया अगाडी बढाएपछि प्रदेश सरकारले प्रादेशिक विश्वविद्यालय निर्माणको घोषणा गरेको हो ।
कृषि क्याम्पस :
बाँकेको खजुरा गाउँपालिका वडा नम्बर तीनमा संचालनमा आएको कृषि तथा वन विज्ञान विश्वविद्यालय बाके खजुरा गाउँपल्लिकाको लागि मात्रै नभएर जिल्ला तथा प्रदेशकै लागी गौरवको विषय हो ।
प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोख्रेलद्वारा उद्घाटन भएको कृषि तथा वन विज्ञान विश्वविद्यालय कृषि संकाय चितवनको सम्बन्धन प्राप्त खजुरा गाउँपालिका वडा नं. ३ जनता नमूना माविमा रहेको प्राकृतिक स्रोत व्यवस्थापन कलेजको कृषि क्याम्पसले कृषिको आधार क्षेत्रको रुपमा रहेको बाके बर्दिया संगै छिमेकी जिल्लाको लागि महत्त्वपूर्ण साबित भएको छ । जसले खजुराको कृषि, शिक्षा र ब्यापारलाई टेवा पुर्याउनेमा स्थानियले आशा गरेका छन् ।
कृषिमा आत्मनिर्भर खजुरा
बाँकेको खजुरा गाउँपालिका कृषि उत्पादनमा आत्मनिर्भर भइसकेको छ । देशमा भएको लामो लकडाउनले खजुरालाई आत्मनिर्भर बनाउन थप भुमिका खेलेको छ । खजुरामा उत्पादन हुने तरकारी देखि खाद्यान्नहरु खजुरालाई पुगेर बाँकी रहेका नेपालगन्ज बजारमा विक्रि गरिन्छ । खजुरा पहिले पनि कृषि उत्पादनको उर्वर भुमि हो ।
खेलकुद ग्राम र औधोगिक ग्राम
खजुरा गाउँपालिकामा स्थानीय तहमा जनप्रतिनिधि आए संगै धेरै सपानाहरुले मुर्तरुप लिदै छन्, खाजुरामा खेलकुदको बिकास गर्न केहि हद सम्म आठौं राष्ट्रिय खेलकुदले मलजल गर्न सफल रह्यो त्यसपछि आठौंले दिएको पूर्वाधार संगै खजुरामा खेलकुद ग्रामको योजनाले खजुराको खेलकुदलाई एउटा उचाई सम्म लैजाने बिश्वास लिइएको छ | सोहि अनुरुप खजुरा – २ मा खेलकुद ग्रामको लागि निर्माण कार्य अगाडी बढेको छ |
त्यस्तै खजुराको पहिचान र खजुराको बिकासको लागि अर्को महत्वपुर्ण कडीको रुपमा औधोगिक ग्रामको योजना समेत पर्छ | खजुरा वडा नम्बर ६ स्थित पुरैनिमा हालसम्म १६ बिगाहा जमिनलाई तारबार लगाउने कार्य सम्पन्न भैसकेको खजुराको औधोगिक ग्रामले खजुराको गुमेको साखा फर्काउने र रोजगारीको समेत सृजना गर्नेमा स्थानीय बिस्वस्त छन् जसले खजुराको बिकासमा प्रत्यक्ष वा परोक्ष सहयोग पक्कै गर्ने छ |











