खुट्टाले लेखेर कक्षा ११ को परीक्षा दिँदै ‘याम’

सुशीला रेग्मी/मध्यान्ह

रामपुर (पाल्पा) : आफूमा मेहनत र इच्छा शक्ति छ भने आफ्नो लक्ष्यमा पुग्न सकिन्छ । यस्तै उदाहरणीय व्यक्ति हुन्, याम खाम्चा । दुबै हात चल्दैनन्, बोल्न नसक्ने तर सुन्न र देख्न राम्रोसँग सक्ने यामले अहिले खुट्टाले लेखेर कक्षा ११ को परीक्षा दिइरहेका छन् । निस्दी गाउँपालिका वडा नं २ आनन्दीभन्ज्याङ्गस्थित बालहित माविको एक कोठाको कुनामा बसेर अरु विद्यार्थी सरह नै परीक्षामा सहभागी छन् ।

उनी भुईंमा बसेर अगाडि प्रश्नपत्र हेर्दै त्यसको उत्तर खुट्टाले लेख्छन् । बिहान ११ बजेदेखि २ बजेसम्म सञ्चालन हुने परीक्षामा साधारण विद्यार्थी सरह नै तोकिएको समयमा नै परीक्षा दिन विद्यालय पुग्छन्, याम ।

अरु विद्यार्थी सरह नै एउटै कक्षाकोठाको अगाडि एक छेउमा बसेर परीक्षा दिने व्यवस्था मिलाइएको र परीक्षा समय तीन घण्टा तोकिएकोमा फरक क्षमता भएका विद्यार्थीलाई आधा घण्टा समय थप दिने व्यवस्था अनुसार नै यामको लागि तीन घण्टा ३० मिनेटको समय निर्धारण गरिएको शिक्षक विष्णु थापा बताउँछन् । उनका अनुसार यामसँगै यस विद्यालयबाट १८ जना विद्यार्थी परीक्षामा सम्मिलित छन् ।

उनी भन्छन्, ‘प्रश्न अस्पष्ट भएमा मात्रै शिक्षकलाई इशारा गरेर बोलाएर खुट्टाले संकेत गरेर प्रश्न देखाउने गर्नुहुन्छ, खुट्टाको भरमा लेखाई भएकाले अलि ढिलो लेख्नुहुन्छ, त्यही पनि निर्धारित समयमा भने सबै प्रश्नको हल गर्नुहुन्छ, अनुशासित रुपमा परीक्षामा सहभागी हुनुभएको छ ।’

साउन २० गतेबाट शुरु भएको कक्षा ११ को परीक्षामा उनी निर्धक्क तयारीका साथ परीक्षामा सामेल भएका छन् । खुट्टाकै लेखाईले नै माध्यमिक शिक्षा (एसईई) परीक्षा उत्तीर्ण गरी अहिले कक्षा ११ को परीक्षा दिँदै छन्, याम । 

शिक्षाशास्त्र संकायमा नेपाली विषय लिएर ११ कक्षाको परीक्षामा सामेल यामले अनुशासनमा रहेर परीक्षामा सहभागिता जनाएका छन् । शारीरिक रुपमा अशक्त रहेपनि स्मरण शक्ति राम्रो रहेका याम जिज्ञासु स्वभावका छन् । केही नयाँ कुरा सुन्ने र देख्ने बित्तिकै इशारा गरेर जवाफ सोध्छन् । 

उमेरले २४ वर्षमा लागेका यामको दुबै हात चलाउन, बोल्न नमिल्ने यो समस्या जन्मजात नै हो । फरक क्षमता भएका यामको पढ्ने क्षमता अरु विद्यार्थी भन्दा कम छैन । उनले खुट्टाले लेखेर ठुलो मान्छे बन्ने सपना बोकेका छन् । 

कक्षाकोठामा शिक्षकले पढाउँदा एक पटक भनेपछि मज्जाले बुझ्ने गर्छन्, उनी । नबुझेको कुरा भएमा शिक्षकलाई इशारा गरेर बोलाउने, खुट्टाले कापीमा लेखेर देखाउने र बुझिसकेपछि हाँसेर प्रतिक्रिया दिने गरेको यामलाई अक्षर चिनाएका बालज्योती प्राविका प्रधानाध्यापक रोशन सिं सारु बताउँछन् ।

‘विद्यालय विदाको समयमा घरमा बसेर पढ्ने क्रममा केही कुरा नबुझेमा मेरो कोठामै आएर सोधपुछ गर्ने, नयाँ कुरा सिक्न खोज्ने अचम्मको स्वभाव छ,’ उनले भने । 

विद्यालयका वार्षिकोत्सव लगायतका विभिन्न कार्यक्रममा आफुले तयार पारेको कविता, गजल, कथा शिक्षकलाई वाचन गर्न लगाउने र फुर्सदको समयमा घरमा बसेर ल्यापटपमा विभिन्न रचना लेख्ने, गाउँका समाचार बनाउने कार्यमा उनी व्यस्त देखिन्छन् । 

गर्भावस्थामा जण्डिस रोगले ग्रसित खाम्चा औषधि उपचारको अभावमा सधैंभरी अर्काको साहारामा बाँच्नु परेको छ । पैदल हिँडेर नियमितरुपमा समयमा नै विद्यालय जाने र घर फर्कने गर्छन् । 

दुबै हात चलाउन नमिले पनि फुर्सदको समय छ भने सकभर खुट्टाले चम्चाको सहायताले आफैं पनि खाना खाने गरेको आमा योगमाया खाम्चा बताउँछिन् । उनी भन्छिन्, ‘विद्यालयबाट घर फर्केपछि घरमै बसेर लेखपढ गर्ने, बाहिर साथीभाइसँग पनि खेल्न नजाने, परिवारसँगै साथमा बस्न पाउँदा धेरै रमाउने गर्छन् ।’ आफुले गर्न सक्ने र मिल्ने जति काम उनी अरुलाई गर्न दिँदैनन्, यो उनको सानैदेखिको बानी रहेको आमा खाम्चाले बताइन् ।

मानबहादुर खाम्चाका तीन छोरा र एक छोरीमध्ये माइलो सन्तानका रुपमा रहेका यामको शारीरिक अवस्थाले सुरुमा उनी चिन्तित थिए । अहिले छोराको पढाईप्रतिको मेहनत, लगनशीलता र सिर्जना देखेर खुशी छन् ।

जन्मदै शारीरिक रुपमा कमजोर रहेका याम आठ वर्षको उमेरपछि बिस्तारै हिँडडुल गर्न सक्ने भए । नयाँ व्यक्तिसँग चिनजान गर्ने, आफुले लेखेका तस्वीर, अक्षर देखाउने, नयाँ कुरा सिक्न खोज्ने, विभिन्न रचना लेख्ने लगायतका कार्यमा उनको रुची बढी छ । 

गृहकार्य सकिएपछि उनी घरमा ल्यापटपमा विभिन्न कथा, कविता लेख्ने, इन्टरनेट चलाउने, सामाजिक संजालमा आफ्ना लेख रचना, तस्वीर, स्टाटस पोष्ट गर्ने, सन्देश पठाएर कुराकानी लगायतका विभिन्न क्रियाकलाप गरेर बस्छन् । 

उनी ल्यापटपमा कथा, कविता लेख्ने, युट्युब हेर्ने, मोबाइलमा फेसबुक चलाउने, म्यासेन्जरमा सन्चो बिसन्चो लेखेर कुरा गर्ने, आफुले लेखेका रचना पठाउने, बढी इमेल इन्टरनेटमा शौख राख्ने, रेडियो सुन्ने, नयाँ व्यक्तिसँग परिचित हुन बढी मन पराउने यामका दाजु पुनाराम खाम्चाले बताए ।

फरक क्षमताका यामको कार्य देख्ने जो कोहीलाई पनि साहित्यकार झमक घिमिरेको झ–झल्को आउँछ । यामले खुट्टाले लेखपढ गरेर भविष्यमा झमक घिमिरे झैं ठुलो मान्छे बन्ने सपना बोकेका छन् । 

न हातले लेख्न सक्ने, न त बोल्न सक्ने तर पनि उनको खुट्टाको सहायताले गर्ने कार्य र लगनशीलता, मेहनत देख्ने जो कोहीलाई अचम्मित पार्ने खालको छ । सानैदेखि नै घर परिवारका सदस्य, साथीभाइसँग मित्रवत व्यवहार गर्ने, उनको शान्त स्वभाव छ ।

प्रतिक्रिया