रामु ओली

जुम्लाका जगत बहादुर शाही बसको झ्याल बाट नेपालगन्जलाई नियाल्दै थिए । शाहिको मुहारमा खुसीको त्यो छाल सजिलैसँग देख्न सकिन्थ्यो । करिब २८ दिन (दशगजाको क्वारेन्टाइन, यात्रा र सिमाना) को बसाइँ पछि उनी घर (जुम्ला) जादै थिए ।
नेपालगन्ज स्थित दशगजाको अस्थाई क्वारेन्टाइनको बसाई, तीन-चार दिन सिमानामा खुल्ला आकाशको बसाई र भारत देखी नेपाली सिमाना सम्मको पैदल यात्रा उनले बसको सिटमा बसे संगै भुलेका थिए ।

भारतको मुम्बईमा काम गर्न दशै सकिय संगै पुगेका शाहि र उनका साथिहरु कोरोना भाइरसको कहर संगै आफ्नो गाउँ फर्कन बाध्य भए । रोजगारी खोसियो । खान र बस्नको समस्या भयो । साथमा पैसको अभाव त छदै थियो अनि उनी संगै धेरै नेपालीले जसरी भएपनि घर सम्म पुग्ने विकल्प रोजे ।
मुम्बई देखि केही यात्रा बसको गरे त केही यात्रा पैदल नै । तर पनि भारतमा भोकै मर्नु भन्दा नेपाल सम्म पुग्यौं , आफ्नै सरकारले केही गर्ला भन्ने सोचेर हिडियो अहिले मुम्बई छोडेको २८ दिन भएछ , उनै शाहिले बताए ।
बाँकेको जमुनाह स्थित दशगजा क्षेत्रको क्वारिन्टिनमा बस्दै आएका शाही संगै एक सय ८१ जनालाई शुक्रबार घर पठाइएकोछ । बाँके प्रशासनले केन्द्र सरकारसंगको समन्वयमा उनीहरुलाई घर पठाएको हो ।
शाही जस्तै उक्त क्वारेन्टाइनमा बस्दै आएका विभिन्न जिल्लाका १८१ जना आफ्नो गन्तव्य पुग्न पाउदा उनिहरुको मुहारमा खुसी झल्किन्थ्यो । तर घर जान तयार उनिहरु केही महँगो भाडादर तिर्नु परेको गुनासो गर्दै थिए ।
जुम्ला कै धनबहादुर रोकाय पनि बसको झ्यालबाट नै कुरा गर्दै भन्दै थिए – भाडा महँगो भयो । सरदर भाडादर भन्दा डबल नै तिर्नुपर्यो । पैसा थिएन ,तर घर जानै पर्यो त्यसैले सरसापट गरेर भए पनि घर जान थालेका छौ , खुसी नै छौ ।
बसको झ्याल बाट नै आफ्नो खुसी र थोरै समस्या पोख्न भ्याएका रोकाय जस्तै १८१ दस गजा क्वारेन्टाइनका विभिन्न जिल्लका नेपाली र नेपालगन्ज स्थित महेन्द्र बहुमुखी क्याम्पको क्वारेन्टाइनमा बस्दै आएका ११ जना समेतलाई घर पठाइए पछि उनिहरुको मुहारमा घरजादाको खुसी छचल्किएको हो ।











