खजुरा :रगतको आँसु कि छदाई

किरण ढकाल

खजुराका युवा नेताहरुले रगतको आँसु रुने लेखे । रगत छदाइ लेखे । खत्रा विम्व प्रयोग गरे । हिन्दीमा खुनके आँसु मुहावरा प्रचलित छ । मलाइ यसैको नेपालीकरण हो भन्ने लाग्छ । यसको विम्व किन प्रयोग गरिएको हो ? लेख्नेले जानुन् । यो लेख्न वाध्य बनाउने पहिलो तत्व चाँहि यहि मुहावरा बन्यो ।

आँखाबाट रगतको आँसु बग्नु वा रगत छाद्नु भनेको गम्भिर रोग हो । तत्कालै उपचार गर्नुपर्छ । अस्पताल गइहालौं । कसैलाई यस्तो नहोस् । हामी अहिले कोरोना महामारीमा शरीरको प्रतिरोधात्मक क्षमता बढाउनु पर्छ निरोगी बन्नुपर्छ भन्दैछौं । रगतको छदाइ वा आँसु बगाइ कसैको नहोस् । मेरो कामना ।

रगतवाला साथीहरुसंगै हो मैले अखिलको राजनीति गर्न शुरु गरेको । अहिले पनि याद छ, म, भिम जी र सतिस जी शंकर मावि थपुवा, टिटिहिरीयामा प्रारम्भिक कमिटि गठन गर्न जाँदा पार्टीका १० नं. इन्चार्ज दल बहादुर सुनार गाउँ पार्टी कमिटि गठन गर्दै थिए । यामनारायण जी र रत्न जी सहित हामी ५ जना थियौं, ऐतिहासिक जिल्ला सम्मेलनको आयोजना गर्दाका खजुराका अखिलका हर्ताकर्ता ।
राजनीतिमा इतिहासको भूमिका ठूलो हुन्छ । तर राजनीतिकर्मीहरुको हकमा नयाँ र पुरानो भनेर छेकवार हुदैन । यो तथ्यलाइ बुझ्न म सबैलाई आग्रह गर्छु ।

इतिहासबाट सिक्ने हो । र निरन्तर लागिरहने हो । राजनीतिक कर्म वर्तमानमा गरिन्छ । समाजका समस्याहरुसंग पौठेजोरी खेल्दै निरन्तर परिवर्तनका लागि समाधानका उत्तम विकल्पहरु दिदै गरिने प्रयासहरुले राजनीतिकर्मीलाई टिकाउँछ । जनताका सुखदुखमा एकाकार हुने सक्रियताले सफलताको मापन गर्दछ ।

लोकतन्त्रमा राजनीतिबाट प्राप्त हुने व्यक्तिगत शक्ति चिरस्थायी हुदैन । निरन्तर त्यो जनताबाट अनुमोदित हुनुपर्छ । तलबाट माथि जाने प्रक्रियामा रहेका अगुवाहरुले बुभ्mनु पर्छ, समयको एउटा निश्चित घेरा हुन्छ । वस्तुगत अवस्थाको ठोस विश्लेषण यतिबेला महत्वपुर्ण हुन्छ । यसको कमी वा कुन्ठाले माक्र्सवादमा भनेजस्तो कि उग्रता देखा पर्छ कि शिथिलता । र यी दुवै पार्टी संगठन र आफ्नै लागि समेत दुखद हुन्छ ।
सामूदायिक हितका सफल अभ्यास र कामहरुका बारेमा राजनीतिक नेता कार्यकताहरुको नेतृत्वदायी भूमिकाको विश्लेषण गर्दै आम नागरिकले मतदानमा भाग लिन्छन् । नागरिकको चुन्ने क्षमताको बारेमा बग्रेल्ती अध्ययनहरु भएका छन् । म त्यता चर्चा गर्दिन । यति भन्छु कि हरेक गतिविधिलाई सुक्ष्मतासाथ हेरिरहने जनता ’जनार्दन’ हुन् ।

खजुरा क्यान्सर अस्पताल निर्माण संगसंगै जनताले किस्मत कुमार कक्षपतिलाई निर्वाचित गरेका हुन् । खजुरा कृषि क्याम्पस संचालन हुदै गर्दा जनताले आइपि खरेलको योगदानलाई स्मरण गरिरहेका छन् ।
अहिले नेकपाले गर्ने काम के हो ? उसको कार्यदिशा के हो ? जो कोहि नेकपा नेता कार्यकर्तालाई थाहा छ, जनताको अपेक्षामा खरो उत्रिदै सरकार मार्फत जनपक्षिय कामहरु गर्ने । यो काममा असफल हुने छुट अहिलेको सरकारलाई छैन । किनभने जनताको परिक्षामा फेरी उत्रिनु नै छ ।

खजुराको सन्दर्भमा पार्टी कामको पहिलो प्रस्थान विन्दु के हो ? प्रष्ट छ, चुनावमा जनतासामू प्रतिवद्धता व्यक्त गरेको घोषणापत्रको अक्षरस कार्यान्वयन । त्यो कार्यान्वयन गर्नाका लागि पार्टी मार्फत जनपरिचालन ।

यो विषयमा खजुरामा पार्टी बैठक बसे, बसेनन् ? जिल्ला कमिटी सदस्यहरुले छलफल चलाए चलाएनन् ? खजुरा गाउँपालिकालाई कतिपटक सल्लाह दिए ? सहयोग गरे गरेनन् उनै जानुन् ।

जनताले अबको २ वर्षपछि हिसाब माग्दैछन् र त्यो हिसाब जनप्रतिनिधिसंग हैन, पार्टीसंग माग्ने हुन् । किनकी चुनावमा पार्टी होमिने हो । पार्टीको घोषणापत्रलाई जनताले अनुमोदन गरेका हुन् । विश्वास गरेका हुन् । जनतासंग मत माग्ने भाषण …. गर्नेछौं हैन, गरेका छौं बाट शुरु हुनुपर्छ । बुझ्ने भाषामा भनौं, खजुराको अहिलेको गाउँसरकार केवल साधन हो । साध्य पार्टी हो ।

हाम्रो शक्तिको श्रोत पार्टीसंगठन हो । पार्टीको कार्यदिशा अनुरुप अगाडि बढ्दा पक्कै सफल होइन्छ । यसको उदाहरण अहिलेको खजुरा गाउँसरकार हो । खजुराका नेकपाका आम कार्यकर्ताहरुले बुझ्ने कुरा के हो भने, जनप्रतिनिधिको सहि र गलत कामको जिम्मेवार सिंगो पार्टी हुन्छ । सहि कामको प्रचार र गलत काम सच्याउन निर्देशन, सुझाव बैठकमा दिने दायित्व पार्टी नेताहरुको हो ।

खजुरा गाउँपालिकाले गरेको काम नेकपा एमाले (अहिलेको नेकपा) ले प्रतिवद्धता जनाएको सय बुँदालाई पुरा गर्न अग्रसर छ र हुनुपर्छ । कोरोना महामारी नभै दिएको भए अहिले नेकपा जनताको घरदैलोमा हुने थियो ।

प्रदेशको अभिलेखन विभागको सदस्यका हैसियतले मैले यो लेख भन्दा त्यतिबेलाको पार्टी कामहरुलाई लिपिवद्ध गरिरहेको हुने थिए । खजुरा गाउँपालिकाको ३० महिनाको कार्य सम्पादन भएका कामहरुको विवरण लिएर सिंगो पार्टी जनताको घरदैलोमा पुगिरहेको हुनेथियो । खजुरा गाउँसरकारले के के गर्यो भन्ने बारेमा फेरी छिटै अर्को लेख लेखौला । यति भनौं, जनताको मुहारमा हाँसो ल्याउने काममा गाउँसरकार सफल हुदै गईरहेको छ ।

इतिहास साक्षी छ सम्वृद्ध खजुराको निर्माणका लागि नेकपाको भूमिका एतिहासिक छ । देव वहादुर बुढा, मान बहादुर वली र रुद्र बहादुर श्रीस जस्ता अगुवा अध्यक्षहरुले जनमुखि काम गरेको क्षेत्र हो खजुरा । यसैको जगमा पार्टी बलियो भएको हो । अहिले खजुरा गाउँपालिकाले गरेका कामहरुले युगान्त परिवर्तनका ढोका खोल्ने यथेष्ट उदाहरणहरु देखिएका छन् । यो तिनै अग्रजहरुको जनमुखि कर्मको निरन्तरता हो ।
अहिले परिस्थिति विषम छ । कोरोनाको विश्वव्यापी महामारी छ । यो नसोचेको महामारी हो ।

विश्वका कैयौं सुविधासम्पन्न देशहरुलाई संक्रमण रोक्न हम्मे हम्मे परिरहेको बेलामा नेपालको एउटा गाउँसरकारले सबै काम गरिदेओस् भन्ने याचनाका बारेमा जनतालाई बुझाउनु पर्छ । पार्टी लाग्ने यसैमा हो । यो संकटबाट पार पाउन विभिन्न स्तरमा द्रुत कामहरु गर्नुपर्ने वाध्यता छ । यो समय हिरो वा जिरो बन्ने र बनाउने समय हैन । राज्यका अंगहरुलाई सहयोग गर्ने समय हो । संसाधनको कुशल प्रयोग गर्ने हो । कोभिड अस्पताल, खजुरेलीकोे जागरुकता र सहयोगी एक्यवद्धताले उदाहरण प्रस्तुत गरिसकेको छ ।

एक भएर सरकारलाई सहयोग गर्ने हो । नेकपाले आफ्ना कार्यकर्तालाई जनपरिचालन गर्ने हो । पार्टीका अन्तरविरोध चर्काउने, ’’वान म्यान सो’ गर्ने बेला हुदै हैन । सबैले सबैसंग हातेमालो गरौं । यसले पार्टीको भूमिका बलियो हुन्छ । पद्दती माथि विश्वास गर्दै सामूहिक भावनाले ओतप्रोत हुदै अगाडि बढ्दा पार्टी हित हुन्छ ।

लेख्न जती जानेका छौं, त्यति नै त्यसको हिसाब राख्न जनता स्मार्ट छन् । सामाजिक संजालमा लेख्दा क्षणिक आनन्द त आउला । तर पार्टी निर्माण र जनताको पक्षमा काम गरेको नठहर्न सक्छ ।
विपक्षीलाइ समेत साथै हिडाएर कोरोनाका विरुद्ध लड्ने बेला आआफैंमा छताछुल्ल हुने गरि सामाजिक संजालमा भिड्न सम्भावना भएका र राजनीतिमा धेरै भोटो फटाइसकेका युवाहरुका लागि शोभा दिदैन ।

खजुराका पार्टी कार्यकर्ताका लागि नरमाइलो विषय हो यो । हेक्का राखौं कमरेडहरु । (किरण ढकालको ब्लगबाट)

प्रतिक्रिया