बिष्णु पोखरेल

नेपालगन्जका साहसी महिला उद्यमीहरुकाे नेतृत्वमा गत पाैष ११ देखि घरेलु उद्यम र शिल्पकलालाई प्राेत्साहन गर्ने उद्देश्यले व्यापार मेला आयाेजना गरिएकाे छ ।
सधै पुरुषहरुकाे नेतृत्वमा हुने यस्ताे व्यापार मेला यसपटक उत्साहित महिला दिदीबहिनीहरुकाे नेतृत्वमा भएकाे छ, महिला उद्यमीहरुकाे मेहनत सान्दर्भिक छ, सराहनीय छ ।
नेपालगन्जमा चाडबाड या रमाइलो मेला सधै पुरुषहरुद्वारा अायाेजित हुन्थे। यसपटक हिम्मतिला महिलाले हिम्मत गरे, मेला लगाउन तम्से ।
हिउदकाे जाडोयाम, डम्म कुहिराे, एक हप्ता अघि पानी परेर भरिएकाे नेपालगन्जकाे समथर चाैर, मेला बाहेक अरुबेला कसैले नहेर्ने सडक विभागकाे खाली ठाउँ, बजारकाे सम्पर्क भन्दा टाढा, मेलामा देखाउने चहलपहल भारतीय बजारबाट ल्याउनु पर्ने, कम्ता चुनाैति थिएन, कम्ता झण्झट थिएन तर पनि साहस जुटाए, महिला दिदीबहिनीले तयारी पूरा गरीछाडे ।
मेला हेर्ने मेलावाजहरुलाई रमाइलो, स्थानीय उद्योगबाट उत्पादित बस्तु प्रयाेग गर्ने पारखी र प्रत्यक्ष कलाकारकाे कला हेर्न खाेज्ने दर्शकलाई यसपटक फरक अनुभव यस मेलाले पक्कै दिनेछ भन्ने आशा सबैलाई थियाे। मेला शुरु पनि भयाे ।

दिउसाेपख घाम लागेकाे बेला धेरै दर्शक मेला तर्फ लागे, हामी पनि मेला तिर लाग्यौं ।
मेला स्थल बाहिर पार्किङ ठुलै छ, पार्किङमा माेटरसाईकल रु २० दिएर टिकट काउन्टरमा ६० काे टिकट लिई गेटबाट छिर्दै गर्दा घरेलु तथा स्थानीय उत्पादनमा आँखा लाग्याे, काेहलपुरकाे दालमाेट, घरेलु तथा महिला उद्यमीद्वारा उत्पादित अचार, दालमाेट, बर्दियाकाे ढकिया डालोका उत्पादन, राजापुरकाे बेतबाँसका फर्निचर, काठमाडौंकाे छुर्पी र तिताैरा अादि जस्ता पसलकाे राैनक छ ।
यि बाहेक जाडाेका कपडा, जुत्ता, चस्मा, फेन्सी सामान, भाडाकुडा, डिजिटल तराजु देखि वाटरगार्ड सम्म विदेशी सामानकै रजगजले घरेलु उद्यमलाई खिसीट्युरी गरे पनि पानी बतासा, चटपटे, चाउमिन, भेलपुडी, पपकर्न, मम्फली स्टेज वरीपरी रहेकाले चहलपहल राम्रै देखिएको थियाे ।
जाडाेले हाेला राेटेपिंगले भने खासै बिजनेस पाएकाे थिएन । बरु खेल्ने रेल र डुङ्गे पिङ्गले चाहिँ ठिक ठिकै बिजनेस पाएका थिए ।
रमाइलो मेलामा उद्यमीले देखाउन खाेजेकाे र दर्शकले हेर्न चाहेकाे मुख्य चिज नाचगान हुनुपर्छ । नाचगानकाे स्टेजमा भने गज्जबकाे भिड थियाे, नाच्ने गाउने कलाकारमा स्थानीय स्कुलका बालबालिका देखिएका थिए ।
स्थानीय ब्युटी कन्टेस्टियनकाे क्याट वाक र बाहिरका कलाकारकाे प्रस्तुतिमा दर्शककाे तालि गडगडाहट हुन्थ्यो । कलाकारकाे प्रस्तुति, जाेक, लाेकदाेहाेरी दर्शकले रमाइलो मानेका थिए ।
कलाकारले मिनट मिनटमा दर्शकलाई नाचिदिन अाग्रह भने अलि बढि नै गरेका थिए । स्टेज डान्स पनि आकर्शक नै थियाे ! जाडाेले हुनुपर्छ कपडा फालेर नाच्ने दर्शक भने खासै देखिएनन ।
याे पुसकाे जाडाेमा नाचगान गरेपछि रमाईलाे त हुने नै भयाे । रेख पनि लाउनु पर्छ रे कमजाेरीमा, अङ्ग्रेजीमा फिडब्याक हाे कि के जाति हाे दिनु पनि पर्छ रे, अनि पछि हुने कार्यक्रममा सुधार हुन्छ रे ।
यहाँ पनि बजार व्यवस्थापन अलि कमजाेर नै कमजाेर रैछ जस्ताे लाग्याे,५०-६० रुपैयाँ तिरेर छिरेका दर्शकलाई ५०-६० सय खर्च गराउन सक्ने क्षमता भए पाे मेलाकाे राैनक बढछ, आम्दानी पनि बढछ, पिङ खेलेर र पानीपुडी मात्रै खाएर फर्कने दर्शकले मेलामा स्थानीय उद्योग धन्दालाई के पाे प्राेत्साहन गर्लान खै । यतातिर त्यति ध्यान गएन कि ।
मेलामा बिक्रीवितरण गरिने सामान अलि फरक किसिमको हुनुपर्ने, छुटकाे प्रावधानकाे साथै हरेक बिललाई सहभागिता गराई चिट्ठा र उपहारकाे व्यवस्था गर्नु पर्ने, बढी पटक काराेबार गर्ने व्यापारी र बढी पटम ईन्ट्री टिकट लिने दर्शकलाई प्रशंसा गर्ने समेत व्यवस्थापन मिलएको भए मेलाको राैनक बढेर चकाचाैध हुन्थ्यो कि, साेच्नु पर्ने ।

महिला पुरुष एक रथका दुई पाङ्ग्रा हुन, समाजमा महिला पुरुस नङ र मासु जस्तै हुन भनेर त्यसै भनेका पनि थिएनन । त्यसैले महिला कमजाेर पनि हैनन ।
मेलाकाे व्यवस्थापन तर्फ अनुभव नभएर हाेला उतिसाराे परिपक्वता भने देखिएन, धेरै स्टल खाली हुनु, लिएका स्टलले भाडा निकै महगाे भयाे भन्ने गुनासाे गर्नु, शुरुशुरुमा हिलाेकाे कारण अस्तव्यस्तता हुनु एकाध अप्ठ्यारा कारण भएकाेले समस्या थिए रहे हाेलान, कुनै कुनै दर्शक यी समस्या भएर दाेहाेराएर गएनन कि भन्ने बाहेक मेला आयाेजनामा अरु गुनासाे देखिएनन ।
समग्रमा महिला दिदीबहिनीहरुद्वारा यत्राे ठुलाे मेला लगाउन सक्रियता देखाउनु नै ठुलाे उपलब्धि हाे ।
सफलता पुर्वक मेला आयाेजना गरेर नेपालगन्जकाे साख राख्ने महिला समुहकाे उत्साह प्रशंसनीय नै छ ! सफलता पुर्वक जिम्मेवारी निभाउने सबै महिला दिदीबहिनीलाई बधाई छ ।











