हजुरले छाडेर गएको पनि २८ वर्ष भयो

केपी घिमिरे :     आज बुबाको मुख हेर्ने दिन अर्थात कुशेँ औंशी बुबाले छाडेर गएको पनि २८ वर्ष भइसक्यो । सानो उमेरमै जीवनको आधार, प्रेरणा र अभिभावकत्व दिन सक्ने बुबालाई गुमाउनु परेको पीडाले आज पनि आँखा रसाइरहेका छन् ।

आफ्ना सन्तानलाई माया गर्ने बुबाको छत्रछायाँ बाल्यकालमै हराउनु भनेको जीवनको सबैभन्दा ठूलो अभाव हो । सानै हुँदा बुबासँग बसेर खेलेको सम्झना, उहाँको हात समातेर हिँडेको पल, सानोतिनो गल्ती गर्दा दिएको सम्झाउने शिक्षा , उहाँले पिड्दा थरथर कामेर रुदै भागेको दिनहरु यी सबै आज पनि सम्झनामा ताजा छन् । तर, सेवा गर्ने उमेर नपाईकन बुबा गुमाउनु परेको पीडाले आज बुबाको मुख हेर्ने दिन विशेष रूपमा झनै गहिरो घाउ  बनेर आउछ ।

“२८ वर्ष भयो बुबा बित्नुभएको, तर आज पनि मनमा एउटै चाहना छ – अर्को जुनि भए पनि हजुरको  छोरा भएर जन्मन पाउँ र यो जीवनमा गर्न नसकेको सेवा अर्को जीवनमा पूरा गर्न पाउँ,” भन्ने भावनाले आँसु थाम्न गाह्रो बनाइरहेको छ बुबा ।

बुबा हुनु भनेको घर परिवारका लागि आधारस्तम्भ हुनु हो । उहाँको अनुशासन, मेहनतप्रतिको समर्पण, परिवारप्रतिको माया–यी सबै गुण आज पनि सन्तानलाई मार्गदर्शन गर्ने आधार बनेका छन् । बुबाले नजिकै नहुँदा पनि उहाँको सम्झनाले सधैं जीवनलाई अघि बढ्ने प्रेरणा दिएको छ हजुरले देखाएको बाटो मैले कदापि भुल्ने छैन ।

कुशे औंशी अर्थात बुबाको मुख हेर्ने दिनलाई स्मरण गर्दै आज उहाँप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । “जीवनमा बुबालाई प्रत्यक्ष सेवा गर्ने अवसर पाएनौं, तर उहाँका आदर्शलाई जीवनमा उतार्न सक्नु नै सन्तानको साँचो श्रद्धाञ्जली हो,” भन्ने सन्देश  छोरा/सन्तानले दिएका छन् ।

बुबाको सम्झनामा बितेको २८ वर्षपछि पनि भावनात्मक सम्बन्ध यति गहिरो छ कि, समयले बुबाको अनुहार त टाढा पारे पनि मनको तस्वीर अझै स्पष्ट छ । आज बुबाको मुख हेर्ने दिनमा समेत बुबाको राम्रो तस्बिर समेत मसंग छैन तर उहाँको अनुहार झलझली यो मनमा आइरहेको छ । उहाँलाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै, अर्को जीवनमा पनि त्यही नाता दोहोरियोस् भन्ने प्रार्थना गर्दछु ।

प्रतिक्रिया