खगेन्द्र दाहाल, खजुरा : बाँकेको खजुरा गाउँपालिका कृषि उत्पादनमा आत्मनिर्भर भइसकेको छ । देशमा भएको लामो लकडाउनले खजुरालाई आत्मनिर्भर बनाउन थप भुमिका खेलेको छ । खजुरामा उत्पादन हुने तरकारी देखि खाद्यान्नहरु खजुरालाई पुगेर बाँकी रहेका नेपालगन्ज बजारमा विक्रि गरिन्छ । खजुरा पहिले पनि कृषि उत्पादनको उर्वर भुमि हो ।
खजुराका किसानहरुले उत्पादन गरेका बस्तुहरु बर्षौ समयदेखि नेपालगन्जको भान्सामा पुग्ने गरेको छ । कोरोना भाइरस (कोभिड १९)को महामारीले गर्दा खजुराका किसानहरुलाई थप व्यवसायिक बनाइदिएको देख्न सकिन्छ । लकडाउन अघि २÷४ कठ्ठामा तरकारी खेती गर्ने गरेका खजुरा गाउँपालिका वडा नम्बर ३ मनकामनाका किसान कृष्ण विक्रम केसीले लकडाउन सुरु भएपछि झण्डै २ विगाह क्षेत्रफलमा तरकारी खेतीको विस्तार गरेका छन ।
कृषक केसिले १० कठ्ठामा भिण्डी, १० कठ्ठामा बोडि, ४ कठ्ठामा लौका, २ कठ्ठामा करेला, १ कठ्ठामा काक्रो र १ कठ्ठामा फर्सि लगाएका छन । लकडाउन पछि लगाएको तरकारी खेतीबाट ५÷७ लाख आम्दानी गर्ने उनको लक्ष्य छ । कृषक केसीले आफ्नो पुरै समय तरकारी खेतीलाई दिदाँ तरकारी खेती पनि हेर्ने लायकको बनेको छ ।

खजुरा गाउँपालिका ४ डि गाउँका दाताराम पौडेलले व्यवसायिक रुपमा तरकारी खेती गर्न थालेको यो पहिलो वर्ष हो । यसै बेला देशमा लकडाउन भयो । उत्पादन भएका तरकारीहरु कृषक दातारामको घरबाटै विक्रि भए । उत्पादन गरेको कृषि बस्तु सहजै विक्रि हुदाँ दातारामलाई थप तरकारी खेती गर्न हौसला मिलेको छ । दातारामको खेतमा उत्पादन भएका ताजा तरकारी लिन ग्राहकहरु नेपालगन्जबाट पनि घरैमा आए ।
सुरुवातमा २ कठ्ठा क्षेत्रफल बाट शुरु गरेका उनले तरकारी बेचेर १ लाख आम्दानि गरे । खजुरा गाउँपालिका २ सितापुर गौघाटमा टिएस ठकुरीको व्यवसायिक तरकारी खेतिको ठुलो फार्म छ । पत्रकार समेत रहेका कृषक टिएस ठकुरीले लकडाउनको समयलाई राम्रो संग खेतबारीमा दिए । त्यसको फलस्वरुप ठकुरीको फार्ममा उत्पादन भएका तरकारीले खजुरा सगै नेपालगन्जको बजारलाई पनि ताजा तरकारी पु¥यायो ।
कृषक ठकुरी कृषि पेसा नै खजुराको मुख्य उत्पादन भएको बताउछन । खजुरा गाउँपालिका ३ विगाउँका पदम राना जिल्लाकै अगुवा किसान हुन । कृषक रानालाई लकडाउनको बेला उत्पादित तरकारी विक्रि गर्न कतै जानै परेन । रानाको घरबाटै ताजा तरकारी विक्रि भए । कृषक राना भन्छन्, ‘खजुरा गाउँपालिका कृषि उत्पादनमा आत्मनिर्भर भैसकेको छ ।’ अब भैरहेका कृषि गतिविधिहरुलाई टिकाइराख्न पाए खजुराले बाहिरको कृषि बस्तु किनेर खान नपर्ने अगुवा कृषक रानाको तर्क छ ।

खजुरा गाउँपालिका २ का अगुवा किसान गेहेन्द्र धिताल एक कृषि अभियान्ता पनि हुन । उनि आफै पनि ३ विगाह जग्गामा व्यवसायिक तरकारी खेती गर्ने गरेका छन । अगुवा किसान धिताल खजुराको बजार सानो छ, अहिले धेरैले खजुरामा तरकारी खेती गर्ने भएकाले यहाँको उत्पादन नेपालगन्ज, कोहलपुर बजार सम्म लैजानै पर्ने बताउछन । यसले खजुरालाई कृषिमा आत्मनिर्भर भएको देखाइसकेको अगुवा किसान धितालले बताए ।
धितालले स्थानिय सरकारले खजुराका किसानले उत्पादन गरेका कृषि बस्तुको बजारीकरणका लागी योजना बनाउन पर्नेमा सुझाव दिएका छन । कृषि शाखा प्रमुख पुनम पोखरेलले खजुरा गाउँपालिकामा तरकारी खेतीमा बढि फोकस गरिएको बताएकी छन । कृषि शाखा मार्फत किसानहरुलाई दिने सेवा सुविधा पनि तरकारी खेती गर्ने किसानलाई धेरै दिइएको छ । शाखाले पकेट विकास कार्यक्रम मार्फत वडा नम्बर २ र ३ लाई विषेश तरकारी पकेट क्षेत्रका रुपमा विकास गरिरहेको छ ।
किसानले गरेको कृषि कर्मको अनुगमन गरी आवश्यक पर्ने सामाग्रीहरुपनि शाखा मार्फत प्रदान गरिएको र आवश्यक सल्लाह सुझाव पनि दिइएको शाखा प्रमुख पोखरेलले बताइन । खजुरामा उत्पादन भएका तरकारीले खजुरालाई पुगेर पनि बाहिर विक्रि गरिरहेका कारण आत्मनिर्भर भैसकेको कृषि शाखाका प्रमुख पोखरेलले बताइन ।

कृषि उत्पादनलाई बढाउन बालि विकास सिविरको आयोजना गरि किसानलाई आउने समस्या समाधान गर्न निरन्तर प्रयास गरिरहेको शाखा प्रमुख पोखरेलले जानकारी दिइन । आर्थिक वर्ष २०७६÷०७७ मा ६० लाख बजेट गाउँपालिकाले कृषि विकासमा विनियोजन गरेकोमा आगामि आर्थिक वर्षमा बजेट थप हुनेमा खजुराका किसानहरु आशाबादि रहेको खजुरा गाउँपालिका २ का अगुवा किसान लाल बहादुर खत्रिले बताए ।
खजुरामा पुराना सगै कृषिमा व्यवसायिक बनेर अघि बढ्न नयाँ किसानहरुले पनि चासो दिएका छन । खजुरा गाउँपालिकाले केहि दिनभित्र बजेट प्रस्तुत गर्दैछ । नयाँ बजेट कृषिमा कति छुट्टाउने भनेर अहिले योजनाको काम भैरहेको कृषि शाखाका प्रमुख पोखरेलले बताइन ।
खजुरा गाउँ पालिकाका अध्यक्ष किस्मत कुमार कक्षतिले कृषिमा १ करोड बढि आगामी आर्थिक बर्षमा बजेट विनियोजन गर्न लागिएको बताए । देशमा लकडाउन भएपछि आर्थिक आम्दानीको मुख्य श्रोत नै कृषि देखिएकाले पनि कृषिमा लगानि बढाउनुपर्नेमा गाउँपालिकाले विषेश ध्यान दिन जरुरी छ । (यो सामाग्री खजुरा गाउँपालिकाको सहकार्यमा न्यु मिडिया हाउस (नागरिक समाज) ले तयार पारेको हो )











