बिष्णु पाेखरेल

अपाङ्गताबारे व्यापक अध्ययन, पहिचान र विश्लेषण गरेर समाजमा अपाङ्गतालाई मर्यादा र अवसर जुटाउन धेरै प्रयास भएका छन । अपाङ्गता भएका व्यक्तिलाई समेत समावेश गरी समाजलाई परिवर्तन गर्न, समाजमा न्यायिक समानता ल्याउन र अवसरहरुमा समान पहुँचमा पुर्याउनका लागि ठोस कदम चाल्न जरुरी छ ।
अपाङ्गता के हाे, कसरी हुन्छ:
मान्छेकाे शरीरको कुनै अङ्गमा क्षति भएकाे अवस्था वा कमी-कमजोरी आई दैनिक जीवनका अत्यावश्यक काम गर्न कठिनाइ उत्पन्न हुने अवस्थालाई अपाङ्गता भनिन्छ ।शताब्दी अघि कलकारखाना र ह्रिन्सक जनावरको कारण, आधा शताब्दी अघिसम्म विश्वयुद्धमा भएका घाईतकाे कारण, बिगतका ४-६ दशक अघिसम्म पाेलियाेकाे कारण, नेपालकाे सन्दर्भमा दुई दशक अघि अान्तरिक द्वन्द्वका कारण अपाङ्गता हुने ठुला कारण र समस्या उल्लेखनीय थिए, हाल सडक दुर्घटना, मुटु राेग तथा स्ट्राेकका कारण अपांगताकाे गति बढिरहेकाे छ भने भविष्यमा पनि कुनै न कुनै कारणबाट अपाङ्गता नथपिएलान भन्न सकिन्न।
अपाङ्गताका कारण व्यक्तिहरू अाफ्नाे घर समाज या जीवन निर्वाहका विभिन्न क्रियाकलापहरुमा सहभागी हुन सक्दैनन। अपाङ्गताले व्यक्तिकाे आर्थिक, सामाजिक, शारीरिक, मानसिक, राजनीतिक या पारिवारिक क्रियाकलापमा नकारात्मक प्रभाव पारेको हुन्छ । मुलकको अव्यवस्थित बसाेबास, पहाडी तथा दुर्गम तथा जटिल भौगोलिक संरचना, आर्थिक पहुँचमा असमानता, अन्धविश्वासले भरिएकाे सामाजिक संरचना, रुढीवादी तथा छुवाछूतको छायामा रहेकाे सामाजिक परिवेशले पनि अपाङ्गता भएका व्यक्तिको जीवनमा अनेक किसिमका समस्याहरु थपिएका हुन्छन र यी तमाम कारणले अपाङ्गता भएका व्यक्तिका लागि अप्ठ्यारो परिस्थिति बनाइरहेको हुन्छ ।
अपाङ्गता हुने कारणकाे अध्ययनमा अपाङ्गता नजन्मदै पनि हुन सक्छ भने जन्मने अवस्थामा र जन्मपश्चात जुनसुकै बेला पनि हुन सक्छ । दुर्घटना, रोग, कुपोषण, अस्वस्थ खानपान, विषादीको प्रभाव, करेन्ट लागेर, नजिकका नातेदारसँगको विवाह भई जन्मेका सन्तान, गर्भावस्थामा आमालाई कडा ज्वरो आएकाे अवस्थामा, गर्भवती हुँदा जथाभावी औषधी सेवन गरेमा, कडा काम र बढी ओजन बाेक्दा, उचाल्दा, मादक तथा लागुपदार्थ बढी सेवन गर्दा, बढी मानसिक तनावमा रहदा, बाह्य या घरेलु हिंसामा परेमा, घरमै जबर्जस्ती बच्चा जन्माउदा, अदक्ष सुडेनीकाे कारण या फाेरसेप आदि औजारको प्रयोग गरेर बच्चा तान्दा तथा अन्य धेरै कारणहरुले अपांगता हुन सक्ने अवस्था हुन्छ । अर्थात अपांगताका कारक तत्त्वहरू अनेकाै हुन्छन ।
अपाङ्गता भएका व्यक्तिको लागि अवसर र चुनाैति:
अपाङ्गता भएका व्यक्ति देखेर दया नअाउने मान्छे बिरलै हुन्छन, अपाङ्गता भएका व्यक्तिको सामाजिक सुरक्षा हुनुपर्छ भन्ने पनि बाक्लै छन । मासिकरुपमा भत्ता दिने देखि शैक्षिक सामाजिक स्तर उकास्न राजनीति दलहरु लागेका छन भने विकासे याेजना बुन्ने संस्थाहरुमा उनीहरुलाई थप्न सकिने अवसरबारे चर्चा गरिएकाे छ, समानता हुन नसके पनि केहीले अवसर पाएका छन ।
यति हुदाहुदै पनि अपाङ्गता भएका व्यक्तिका समस्याका चाङ्गमाथि चाङ्ग छन, समस्याहरु कम छैनन । मुलुकमा अपाङ्गता भएका व्यक्ति तथा बालबालिका र महिलाकाे अवस्था जटिल छ, शैक्षिक तथा शीपमुलक कार्यक्रममा अपाङ्गता भएका व्यक्तिको लागि शैक्षिक सामाग्री का साथसाथै उनिहरलाई जरुरी पर्ने सहायक सामाग्री, फिजियाेथेरापी सेवा र अावश्यक स्वास्थ्य उपचारकाे व्यवस्था छैन, बिमाकाे सुबिधामा सहायक सामाग्री दिने स्पस्ट नीति छैन । तिनका लागि अाधारभुत अवसर, अपांग मैत्री संरचना छैन ।
सहायक सामाग्री उपलब्धि गराउनेबारे स्थानीय तहसम्म बुझाउन र बहस पैरवी गर्न सकिएकाे छैन । मुलुकमा शान्तिपूर्ण रुपमा राजनैतिक परिपाटीको पुनस्थापना र सामाजिक गतिविधि सुचारु भएता पनि अपाङ्गता भएका व्यक्तिहरुका लागि सहज हिडडुलकाे अवसर, शैक्षिक अवसर, अार्थिक अार्जनका अवसर, तालिम तथा ऋण लगानी, सामाजिक सुरक्षा, सहज जीवन यापनका लागि सहायक सामाग्री, सहजरूपमा अाैषधि उपचार, बीमा र अर्थाेपार्जनका ठाेस नीति याेजना तर्जुमा बन्न सकेकाे छैन । यी यावत समस्या कसरी पहिचान र सहजीकरण गर्न सकिन्छ याे जटिल पाटाे छ ।
अबकाे बिकल्प :
राजनीतिक पहलका कारण मासिकरुपमा दिईने भत्ता, आरक्षण र शैक्षिक स्तर उकास्न सहयाेग गरेझै स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारका हरेक तहमा सहायक सामाग्रीकाे उपलब्धता, करेक्टिभ सर्जरी, औषधि उपचार र आयआर्जनका लागि बहस हुनुपर्छ, सहजीकरण हुनुपर्छ र समग्रमा अपाङ्गता भएका व्यक्तिकाे दैनिक जिवनका क्रियाकलापमा सहजता ल्याउन निजि सरकारी साझेदारी अवधारणालाई मुर्तरुप दिनुपर्छ ।
सामाजिक विकास गर्ने गैरसरकारी निकाय तथा स्थानीय गाउँपालिका र नगरपालिकाकाे बजेटबाट स्तरीय फिजियाेथेरापी सेवा, सहायक सामाग्री वितरण र औषधि उपचारसमेत हुने गरि अपाङ्गता भएका व्यक्तिको लागि एकीकृत सेवाकाे ईन्क्लुजन या समावेशीकरण गर्नुपर्छ । हरेक सामाजिक संस्थाहरुमा अपाङ्गता भएका व्यक्तिहरुलाई थप्न सकिने अवसरबारे निरन्तर चर्चा कार्यक्रम तर्जुमा गरिनु पर्छ, अनि मात्र समाजमा अपाङ्ग भएका व्यक्ति पनि समान अवसरका सराेकारवाला हुन सक्नेछन ।










