गत चैत्र ११ गते एकाएक कोरोनाको संक्रमणलाई ठाउँका ठाउँ रोक्ने घोषणा गर्दै देश बन्द गरियो । सडकमा कुनैपनि मोटरहरु चलाउन नपाइने आदेशसँगै मोटर गुडाएर, मोटरको ढोका ठपठपाएर भाडा उठाएर जीवनका हरेक साँझ बिहानहरु टार्ने दखि त्यहि मोटरका पाँङ्ग्रा पुछ्दै टायर र ट्यूबका प्वाल टाल्नेहरु, मोटरका सानातिना बिग्रेभाँचिएको ठोकठाक गरेर लालाबाला पाल्नेहरु सम्म ठाउँका ठाउँ भोकले ठहरै भए ।
जीन्दगी भरिको कमाईमा बाउबाजेले आर्जेको सम्पत्तिलाई बैंकमा बन्धकी राखेर झण्डै एक करोडको मोटर किनेर स्वरोजगार बनेकाहरु ज्सले सधैं मोटर साहु जी को पगरी गुँथी रहे ती पनि आज त्यहि बस केहि टाँठाबाठा ठूला साहुका मजेरीमा अर्को बन्धकीका कागज गरेर छाक टार्ने अवस्थामा पुगेका छन् । तर सरकारका लागि यिनीहरुको व्यथा बुझ्ने न त कुनै चासो थियो न आवश्यकता नै किन कि गाडाीवालाहरुले त सधैं लुटेका छन् भेटाएजति लुट्छन् यी त लुटेरा नै हुन भन्ने हरेक जनमानमको दिमागमा मैलो भर्ने कार्यकर्ताबाट बढुवा भएको दिमागमा यो भन्दा पर सोच्ने ल्यागत पनि र विवेक पनि आउने कुरै भएन । आज बन्दको तीन महिना पुगिसक्दा पनि यिनीहरुको चुलो कसरी जलेको छ ? भनेर सोध्ने यो देशमा न त सरकार छ न कुनै विवेकी समाज ।
राज्यले व्यवस्थापन गर्नुपर्ने सार्वजनिक यातायातको सिँगै काम यो देशमा जनताका छोराहरुले आफ्नो जीन्दगीको सर्वोस्व लगाएर गरिदिएका छन् । यति गरेबापत राज्यले यिनीहरुलाई कुनै पनि सुविधा दिँदैन । राज्यले र यिनका हाँगाबिँगाले उनीहरुसँग भन्सार देखि यातायात कार्यालयसम्म टेबल माथि र मुनि जताबाट मिल्छ पैसो लिन्छ । डिजल दखि मोटरपाट्र्स सम्म कर लिन्छ । बाटोको चुङ्गि देखि प्रहरीका अड्डासम्म असुल गर्छ । भवितव्यका बेलामा समेत त्यहि मोटरको आधा मोलबाट लाशको व्यापार गर्न खोज्ने समाजको व्यवहार रजबरजस्तीसम्मको पीडा पनि यिनै मोटरका मालिकले खोप्नु पर्ने बाध्यता रहेको छ ।
सरकारलाई नै चेपुवामा पार्ने ल्याकत राख्ने केहि माफियाहरुले जनताको करबाट बनेको सार्वजनिक बाटो पनि आफ्नै बिर्तासरह गराउँदा र मोटर गुडाउन अनुमती माग्दा सलामी चढाउन पर्छ । करोडको मोटर किनेर महिनामा चार दिन गुडाएर लगानी असुल गर भन्ने नियम पनि यहि देशमा उनीहरु नै बनाउँछन् । मोटर चढ्ने भनेपछि छूट नभइ नहुने जनता पनि हामी नै छौं । सके बाटोमा स्टाफ खाना नभए सामानको भाडा माफ र लाग्ने भाडामा दुइचार सय दखि दश बीस रुपैयाँ सम्म भए पनि छूट मागिहाल्छौं । यसो गर्न सकेमा आफ्नो ठूलो इ्ज्जत बढेको र अरुभन्दा भिन्नै भएको अनुभूति गछौं । यहाँ जनता दखि सरकारसम्मको यो सार्वजनिक यातायातको क्षेत्रलाई हेर्ने नजरिया नै एउटै बनेको छ ।
आज त कोरोनाको कारण यातायात बन्द छ यो एउटा समस्या भएको छ । तर कोरोना भन्दा पहिला सामान्य अवस्थामा पनि नेपालको यातायात क्षेत्र सधैं धरापको पेशा नै बनी रह्यो । पहिला इण्डियाबाट इन्जीन मात्रै आयात गरेर त्यसको बडी नेपालमा नै बनाइन्थ्यो । वैदेशिक रोजगारी र नेपालीहरुको बढ्दो सुविधा मोहले गर्दा नेपालमा बनेका बसका बडीहरु भद्दा लाग्न थाले । सुविधाभोगी बनिरहेका नेपालीका लागि हवाइजहाजका जस्ता सीट, वाइफाइ (नभएपनि लेखिएको ), एल इ डी टिभी लाएको, सकेसम्म पानी र कुरकुरे पनि दिने, वातानुकुलित या पंखा आदी भएका बसहरुको प्रतिष्पर्धा नै चल्न थाल्यो ।
यसका कारण बसका बडीहरु इण्डियाबाटै बनाएर ल्याउन थालियो । नेपालमा बडी बनेका बसमा यात्रा गर्दा सानो हुने मानसिकताको बिकास गराइयो । नेपालमा भएको वर्कशपहरुको रोजगारी त गुम्यो गुम्यो बसका मोल पनि बिस देखि तीस लाख सम्म बढे । सरकारको भन्सार बढ्यो उसलाई अरु कुराको सरोकार नै भएन । अकोतिर कुन रुटमा यात्रुको चाप कति हो र कति यातायातका साधनको आवश्यकता हो भन्ने नै अनुसन्धान नगरी केहि यातायात क्षेत्रका ठूला र टाँठाबाठाहरुको हालीमुहालीमा रुटहरु बाँडेर एकाधिकार गर्ने काम पनि नभएको होइन ।
अहिले कोरोनाको चपेटामा परेको सार्वजनिक यातायातको क्षेत्रलाई बचाइ राख्ने कुनै उपाय र समृद्धिको कुरा गर्ने सरकारले यी स्वदेशी लगानीकर्ताहरुलाई संरक्षण गर्ने कसरी योजना खोई ? देशमा बीमा क्षेत्रको कुल बीमा रकमको ५५ प्रतिशत यातायात क्षेत्रबाट नै आउने गर्छ भने यो क्षेत्रमा झण्डै १० लाख बढिले प्रत्यक्ष रोजगारी पाएका छन् भने यसैका कारण चल्ने होटल, मोटरपाट्र्स, बीमा, मर्मतका ग्यारेज आदीमा रोजगारी पाउनेको सँख्या पनि कम छैन । यो क्षेत्रमा कुनै पनि विदेशी लगानी छैन । शुद्ध स्वदेशी पौरखले राज्यलाई कर मात्रै तिरेको छैन राज्यको दायित्व पनि निर्वाह गरिदिएको छ । बीमा समितीले दिने भनेको लकडाउन अवधिको बीमाको छूट बाहेक अन्य खास कुनै छूटको व्यवस्था भएको छैन । तीन तीन महिना सम्म पनि यातायातका साधन थन्काएर राख्दा यातायातका क्षेत्रमा कामगर्ने देखि साधनका मालिकहरुको जीन्दगीमा पनि (केहि ठूलाबडा बाहेक) ब्रेक नै लागेको छ ।
मैलै भेटेका यातायात चालकहरु र यसमा निर्भर सहयोगीहरुका साँझ बिहानका छाकहरु समेत हम्मे हम्मे भएका छन् । केहि मनकारीहरु या उनीहरुलाई विश्वास गरेर सापटी दिएको बाहेक अन्य कुनै उपायबाट चल्ने अवस्था छैन । राहतका फोटोहरुमा उनीहरु जागिरे भएको भन्दै समेटिन सकेनन् । गाडीका साहुजी भनेर चिनिएका तर भएको एकाध साधन नै थन्किएपछि न मागेर कसैले दिने न आफुसँग केहि बाँकी छ कसरी घर चलाउने भन्ने नै टुँगो छैन । केहि मात्रामा लकडाउन खुलेपछि बैंकको असारे दबाब थेग्न सक्ने ल्याकत पनि अब छैन । अब जिन्दगीको पाङ्ग्रो नै लिलाममा चढेर गाडीको ठाउँमा आफै सडकमा आउने अवस्था आएमा कुनै कसैले आश्चर्य नमाने हुन्छ ।










