कोरोना संक्रमणको दर र आकडा हेर्ने हो नेपालगन्ज लगायत देश भर नै लकडाउनको सुरुवाती दिन भन्दा उच्च छ ।
तर , लकडाउनको सुरुवातका दिनमा सन्नटा रहने नेपालगन्ज बजार मात्रै होईन पूरा बाँके जिल्ला नै बेफिक्री रहेको छ । मानिसहरूलाई नत कोरोना को डर छ नत आफ्नो मृत्युुको नै ।
कतिका बाध्यता छन् , कतिका रहर , जे नै होस् आफ्नो ज्यान भन्दा ठूलो सायद केही होला ? तर पनि नेपालगन्ज बेफिक्री छ ! चङ्गा छ ! माथिको प्रश्नको उत्तर म संग छ , आफ्नो ज्यान भन्दा ठूलो सायद केही छ भने तपाईं र म भित्र रहेको अर्को ‘म’ छ । जसले तपाईं र म लाई ‘म’ बनाइ रहेको छ । अनि त्यही ‘म’ बजारको गल्लीहरुमा चाउमिन र मोमोमा रमाइ रहेको छ ।
क्याफेका भित्ता भित्र कालो अम्रीकानो कफिको चुस्की लिइ रहेको छ । अनि त्यही बसेर सरकार र नेपालगन्जको लकडाउनको बारेमा टिप्पणी गर्दै छ। त्यो म भित्रको ‘म’ अनि तपाईं भित्रको ‘म’ आफैमा मैफुस छ कोरोना होइन लकडाउनलाई जितेर ।
कति दुखको कुरा छ , देश भर कोरोना संक्रमितको आकडाले १५ हजार पार गरि सकेको छ भने मृत्युु हुनेको संख्या समेत ३३ नाघी सकेको छ । यो साधारण दृश्य होईन । मलाई लाग्छ यो नेपालको लागी साधारण आकडा होईन ।
उता जानकारहरुका अनुसार पिक समय आएकै छैन नेपालमा , त्यसको अर्थ कोरोना संक्रमणले पिक लियो भने नेपालले थेग्न सक्दैन । तर पनि हामी अझै मनदेखी मैफुस छौ तातो पानी र बेसार पानीमा ।
तर एउटा गोप्य कुरा भन्दै छु , दिनभर बेसार पानीको मजाक उडाएर साझ घर पुगेर सबैभन्दा पहिला बेसार पानी पिउने तपाईं हामि नै हौं । त्यसैले त हामी (नेपालगन्ज) बेफिक्री छ/ छौ ।
उता छिमेकि देश भारत कोरोना संक्रमणको आकडाको हिसाबले बिश्वको तेस्रो नम्बरमा उक्लिएको छ , भने नेपाल पनि कोरोना संक्रमणको उच्च दरमा टप पचासको देशमा सामेल भैसकेको छ , तर बजार र बजारको चहलपहल अनि मानिसहरूको बेफिक्री दैनिकी देख्दा लाग्छ, नेपालगन्जमा कोरोना नामको चिज नै छैन ! भए पनि हामी नेपालगन्जिया हौं , हामिलाई कोरोना भन्ने जन्तुले छुनै सक्दैन त्यस्तोमा भाइरसले छुने त कुरै भएन । जाबो भाइरस ।
अनि बाँकेको सम्बद्ध निकाय समेत मैफुस लाग्छन्/ देखिन्छन् । लाग्छ उनिहरुको अथक मेहनतले नेपालगन्जबाट कोरोना पलायन भैसकेको छ। डराएको छ , नेपालगन्जको भिड देखेर , नेपालगन्जको अटेरिपन देखेर अनि सबैभन्दा महत्त्वपूर्ण कुरा नेपालगन्जबासीले खाएको बेसारपानीको बारेमा कोरोनाले चाल पाइसकेको छ र त कसैलाई कोरोनाले भनिदिएको छ , बेसार पानीको डरले म नेपालगन्ज आउने छैन , अनि त नेपालगन्ज बेफिक्री छ ! सरकारले देखाएको अलि अलि कोरोना संक्रमितको आकडा त कोरोना लागेकै होइन सरकारले पैसा पचाउन मात्रै संक्रमीत घोषणा गरेको हो , नत्र त कहाँ त्यसै निको हुन्थ्यो ? ल भन्नुस् त । धेरैले एक अर्कामा गरेका भलाकुसारी हुन् । यो कुरा कोरोनाले नसुनेको होर ? सुनी सकेको छ । बुझी सकेको छ । त्यसैले त कोरोना नेपालगन्जबाट भागेको छ । अनि पो नेपालगन्ज बेफिक्री छ ।
बेफिक्री छ नेपालगन्ज ! साच्चिकै बेफिक्री छ ! म बेफिक्री छु ! तपाई बेफिक्री हुनुहुन्छ ! अनि सबैभन्दा बेफिक्री त ती क्याफेहरुमा लडिरहेका रित्तिएका कफिका कपहरु छन्, चिया पसलमा ढलेका सिसाका ग्लासहरु छन् , मोमो पसल र नास्ता पसल अगाडी झुम्मिएका अनगिन्ती मानिसका छायाहरु बेफिक्री छन् ।
किनकी नेपालगन्जका मान्छेहरु बेफिक्री हुनै सक्दैनन कारण उनिहरुले त त्यही बेफिक्रीपनाको रोष सामाजिक संजालमा पोखेका छन् , चार जना भेला भएर त्यसैको गफ गर्दैछन् । बास्तबमा मात्र तपाईं र म बेफिक्री हो । किनकी तपाईं र म बाहेको को बेफिक्री त ? यो प्रश्न म लेख्ने र तपाईं पाठक बिचको मात्रै हो । अन्यथा लाग्ने छैन भने म भनी दिउ कि यो दुई शब्द मैले पनि भिडकै बिचमा लेख्दै छु – बेफिक्री नेपालगन्ज । अनि सोध्दै छु – तपाईं र म ।










